७ लाख हारेपछि सट्टेबाजले भने- बैंक खाता देउ, १० लाखको एक हजार रुपैयाँ कमिसन पाउँछौ – Nepal Press

७ लाख हारेपछि सट्टेबाजले भने- बैंक खाता देउ, १० लाखको एक हजार रुपैयाँ कमिसन पाउँछौ

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी-४ दुधपोखरीका २७ वर्षीय दीपेश श्रेष्ठलाई बेटिङको लत बसेपछि करिब ७ लाख रुपैयाँ गुमाएको पत्तै पाएनन् । दीपेशका अनुसार उनले ७/८ महिनाअघि वान एक्स बेट एप्लिकेसन डाउनलोड गरेर बेटिङ गर्न थालेका थिए ।

एक दिन एजेन्टले टेलिग्राम एपमा सम्पर्क गरी एउटा प्रस्ताव गरे- तिम्रो बैंक खाता हामीलाई देउ, १० लाख रुपैयाँजम्मा भयो भने एक हजार रुपैयाँ कमिसन पाउँछौँ ।’

गुमेको पैसा कसरी फर्काउने भने सोचिरहेका दीपेशलाई उक्त प्रस्ताव उत्तम लाग्यो । त्यसपछि उनले एनआईसी एसिया बैंक, प्रभु बैंक र माच्छापुच्छ्रे बैंकमा रहेको आफ्नो खाता नम्बर ती एजेन्टलाई उपलब्ध गराए ।

दीपेशका अनुसार बेटिङ गर्नेले रकम उनको खातामा जम्मा गर्ने गर्थे । तर त्यसरी जम्मा गर्नेले बेटिङ हार्थे की जित्थे भनेर आफूलाई थाहा नहुने हाल प्रहरी हिरासतमा रहेका दीपेशले बताएका छन् । तर जित्ने खेलाडीहरुलाई आफूले सिस्टमबाट पैसा पठाई दिने गरेको उनको भनाई छ ।

आफ्नो खातामा जम्मा भएको रकम एजेन्टले उपलब्ध गराएका खाताहरुमा पठाई दिने गरेको उनले बयान दिएका छन् । उनले हालसम्म ३० देखि ५० हजार रुपैयाँसम्म कमिसन लिएको पनि अनुसन्धानका क्रममा खुलाएका छन् ।

प्रहरीका अनुसार २०७९ असोजदेखि हालसम्म दीपेशको तीनवटा बैंक खातामा २ करोड ५६ लाख ६१ हजार ३० रुपैयाँ ६१ पैसा जम्मा भएको पाइएको छ । हाल ती खातामा ६० हजार ३५ रुपैयाँ ब्यालेन्स रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीविरुद्ध जुवा वा सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत भक्तपुर जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर