एक लाखको दैनिक १ हजार रुपैयाँ ब्याज दिने गरी ऋण लिएका रिकन्डिसन सञ्चालकले गरे आत्महत्या – Nepal Press

एक लाखको दैनिक १ हजार रुपैयाँ ब्याज दिने गरी ऋण लिएका रिकन्डिसन सञ्चालकले गरे आत्महत्या

काठमाडौं। कालीमाटी सोल्टिमोडस्थित एक मोटरसाइकल रिकन्डिसन सञ्चालकले आत्महत्या गरेपछि उनलाई मिटरब्याजमा पैसा लगाएर मानसिक यातना दिएको आरोपमा १ जना जना पक्राउ परेका छन्। अन्य ३ जना फरार छन्।

प्रहरीले काभ्रेका ४४ वर्षीय यशु आले मगरलाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक स्थायी घर भई सोल्टिमोडमा एचएन्डबी रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका ४४ वर्षीय होमनाथ गिरी गत चैत १४ गते आफू बस्ने घरको भुईँ तलामा रहेको वर्कसपमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको थियो। त्यसमा मगरसँग एक वर्षअघि दैनिक एक लाखको एक हजार रुपैयाँ ब्याज लिने तरिकाले ऋण लिएको, सावाँभन्दा बढी ब्याज तिरिसकेको तर लगातार मानसिक टर्चर पाइरहेको उल्लेख थियो।

यस्तै अन्य दुई व्यक्तिको नाम उल्लेख गरेर उनीहरूसँग पनि सावाँभन्दा बढी ब्याज तिरिसक्दा पनि मानसिक यातना पाइरहेको सुसाइड नोटमा उल्लेख छ।

‘मेरो भाइ भरत मैले सबैको तिरी सकेको हाम्रो न त घर न केही छ, तिमी केही पनि दिनु पर्दैन, अनिल भाइलाई जग्गा ९ आना दिएर पनि चेक फिर्ता दिएको छैन। उनकै मिटरवाला पैसाको हिसाबले आज मेरो यो गती भयो, मेरो बच्चा बुबा आमा सबैको बिचली बनाए साथीहरूले, भाइ बच्चा भाउजू आमा बुबाको ख्याल राख्नु दाइ’, सुसाइड नोटमा लेखिएको छ।

अर्का व्यक्ती महेश चापागाईँले आफ्नो नामको खाली चेक लगेर १५ लाख रुपैयाँ लेखी कम्पनीलाई कालो सुचीमा राखेको पनि सुसाइड नोटमा उल्लेख छ।

पक्राउ परेका मगरले गिरी दाजुभाइ रिकन्डिसन सञ्चालन गर्दा चरम आर्थिक संकटमा परेका कारण आफूसँग विभिन्न मितिमा ३२ लाख रुपैयाँ ऋण लिएको बताएका छन्।

मोटरसाइकल बिक्री गर्दा आएको नाफाबाट एक लाखको एक हजार रुपैयाँ ब्याज दिने गरी उनीहरूले ऋण लिएपनि हालसम्म सावाँ र ब्याज गरेर ४ लाख रुपैयाँ मात्र फर्काएको उनले बयानका क्रममा बताएका छन्।

आफूले धरौटीबापत मृतक गिरीको नाममा रहेको बैङ्क खाताको तीन वटा चेक र रिकन्डिसन कम्पनीको नामको एउटा चेक लिएको तर बाउन्स गरेर कतै उजुरी नगरेको पनि उनले उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर