रामेछापका रविनको काठमाडौंमा ‘लुटपाट राज’, चोरीको ड्युक चढेर झिसमिसे नहुँदै यसरी लुट्थे सिक्री (भिडिओ) – Nepal Press

रामेछापका रविनको काठमाडौंमा ‘लुटपाट राज’, चोरीको ड्युक चढेर झिसमिसे नहुँदै यसरी लुट्थे सिक्री (भिडिओ)

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका-१ दुरागाउँका ३२ वर्षीय रविन दमाई दुई महिनाअघि मात्र जिल्ला अदालत काठमाडौंमा २० हजार धरौटी तिरेर निस्किएका थिए । बानेश्वर क्षेत्रमा सिक्री लुटपाटमा संलग्न रहेको पाइएपछि प्रहरीले रविनलाई नियन्त्रणमा लिएको थियो ।

तर अदालतले उनलाई धरौटीमा छाड्ने थुनछेक आदेश गरेपछि रविन पुरानै कर्ममा फर्किए । बरु हिरासतमा रहँदा उनले नयाँ सहयोगी भेट्टाएका थिए ।

काभ्रेको पाँचखालका २६ वर्षीय उमेश क्षेत्री मोटरसाइकल चोरीमा बानेश्वर प्रहरीले पक्राउ गरेको थियो । उनलाई पनि अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गर्यो ।

बाहिर निस्किएपछि उमेश र रविन नजिक भए । असार सुरु भएयता काठमाडौं उपत्यकामा सिक्री चोरीका घटनाहरु बढिरहेका थिए । बाटोमा हिँडिरहेको अवस्थामा सिक्री थुतिएको भन्दै प्रहरीमा उजुरी बढिरहेको थियो ।

अधिकांश उजुरीमा दुईवटा समानता थियो । पहिलो, मर्निङ वाक गरिरहेका बेला झिसमिसे बिहानमा सिक्री थुतिएको । दोस्रो, पिडितहरु अधिकांश अधवैँशे महिलाहरु ।

प्रहरीले घटना भएको क्षेत्रका सिसिटिभी फुटेजहरुको अध्ययन थाल्यो । अधिकांशमा मोटरसाइकलमा दुई जना सवार भएको, पछाडि बसेकाले हुडि लगाएको पाइयो । अनुसन्धानका क्रममा मोटरसाइकल पनि डुक भएको देखियो ।

‘अरु अरु घटनामा मोटरसाइकल कुदाइरहेको अवस्थामा सिक्री थुतेको भेटिन्थ्यो भने यसमा मोटरसाइकलमा सुरुमा रेकी गरेर पछि थुत्ने मान्छेले पैदलै हिँड्दै थुतेर अनि मोटरसाइकल चढेर भाग्ने गरेको भेटियो’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले भने ।

एउटै हुलिया र बाइक भएकाले दुई जनाको समूह बिहान पख भइरहेको सिक्री लुटपाटमा सक्रिय रहेको प्रहरीको अनुमान थियो ।

‘उनीहरुले नम्बर प्लेट पनि हरेक घटनामा फेर्ने रहेछन्’, एसएसपी केसीले भने। प्रहरीका अनुसार उक्त समूहले असार १ गते बिहान एक घण्टा १५ मिनेटको अन्तरमा काठमाडौं महानगरपालिका-२६ कपुरधारामा ४६ वर्षीया महिला र टोखा-६ ग्रान्डी अस्पताल नजिकै ४५ वर्षीया महिलाको सिक्री लुटेका थिए। दुवै पिडित मर्निङ वाक गरिरहेका थिए ।

असार ३ गते नागार्जुन-५ बुद्धचोकमा ५५ वर्षीया महिला, असार १३ गते टोखा-३ विष्णुमती पुल नजिकै ६५/७० वर्षीया महिला र असार १९ गते टोखा-४ कृष्ण मन्दिर नजिकै ३३ वर्षीया महिला र काठमाडौं महानगरपालिका-३ चक्रपथमा ६० वर्षीया महिलाको सिक्री लुटिएको थियो ।

उनीहरु पनि मर्निङ वाक गरिरहेका थिए। असार २० गते बिहान एक घन्टाको फरकमा टोखा-३ मा ४३ वर्षीया महिला र काठमाडौं महानगरपालिका-१५ मा ६५ वर्षीया महिलाको सिक्री लुटिएको थियो ।

‘एउटै समूह संलग्न रहेको देखिएपछि हामीले खोजी तिव्री बनाएका थियौँ’, एसएसपी केसीले भने । प्रहरीका अनुसार लुटपाटमा सिक्री थु्त्ने रविन थिए भने मोटरसाइकल चलाउने उमेश भएको पाइएको छ ।

उनीहरुले अन्य स्थानमा पनि लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा न्युरोडका ४२ वर्षीय श्रीकान्ता माइतीलाई पनि पक्राउ गरेको छ ।

सुनसरीको धरानका १८ वर्षीय रवि विश्वकर्मा र धनकुटाको लेगुवा-७ का ३० वर्षीय राहुल माझी पनि पक्राउ परेका छन् । उनीहरु सहयोगी भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर