सपनामा पनि अझै एमालेकै देख्छु, पेल्न छाडे समर्थनमात्र होइन पार्टी नै मिल्छौं : राजेन्द्र राई (भिडिओ) – Nepal Press

सपनामा पनि अझै एमालेकै देख्छु, पेल्न छाडे समर्थनमात्र होइन पार्टी नै मिल्छौं : राजेन्द्र राई (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव तथा कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले एमालेले पेल्न छाडे आफूहरू पार्टी एकता गर्न तयार रहेको बताएका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासका मत मागेपछि छलफलको क्रममा बोल्दै उनले सपनामा पनि एमालेकै भाषण गरेको देख्ने बताए । उनले एमाले छाड्दा बेहुलीले घर छाड्दाभन्दा बढी दु:ख लागेको सुनाए ।

उनको भनाइ जस्ताको तस्तैः

हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ । त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन । सपनामा पनि एमालेकै नाममा भाषण गरेको देखिन्छ । त्यही पार्टीकै झण्डा उठाएर ढुंगामुढा गरेको देखिन्छ । त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन । बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन् । तर, त्यो पार्टी हामीलाई छाड्न मनै थिएन ।

हामीलाई त निकालेर, खेदेर, पिना बनाएर, पिना पनि पेलेर तेल निकाल्न खोजको हो । अहिले पनि यो सरकार आइसकेपछि कानूनबमोजिम भएका हाम्रा नियुक्ति धमाधम हटाइए । अदालतले फिर्ता बोलायो । यहाँ त चारजना छौं, यसो लुसुलुसु लागेर हिँड्दा पनि छाटो छेकेर गमक्क परेर बाटो छेकुँलाजस्तो व्यवहार छ ।

यो त सांकेतिक कुरामात्रै गरेको है । वास्तवमा अब हाम्रो समर्थन त एमालेले खोज्ने होइन । तर, कहिलेकाहीँ भोट चाहिएका बेला भोटे माया हरर्र जागेर आउँछ । त्यतिबेला चाहिँ हामी त एउटै पार्टीबाट छुटेको र भोलि पनि मिल्ने हो । यस्तो खालको कुरा आउँछ ।

अहिले पनि पेल्न छाड्ने हो भने, हिजोका गल्ती सच्याउने हो भने समर्थन होइन । हामी त पार्टी एकता नै गर्न चाहन्छौं नि । तर, पेल्न छाड्नुपर्‍यो । हिजो भएका गल्ती कमजोर सच्याउन तयार हुनुपर्‍यो । यस्तो हुन्छ भने त एउटा हात उठाएर हुन्थ्यो भने पनि दुईवटै हात उठाएर समर्थन गर्ने हो । होइन अहिले पनि चाहिएको बेलामा खोज्ने अरु बेलामा चाहिँ पेल्न खोज्ने हो भने त्यो खालको समर्थन त कसरी गर्न सकिन्छ त ? नामकरणका बेला खोजिएन ।

सभामुख उपसभामुख छनोटका बेला खोजिएन । कानूनविपरीत हाम्रा पालाको राजनीतिक नियुक्तिका खारेज गर्दा सम्झना आएन । योजना बजेटको बेलामा खोजी भएन । यति बेलामा चाहिँ मात्रै खोज्दा विश्वासको मत दिन मिल्दैन कि मुख्यमन्त्रीज्यू ।


प्रतिक्रिया

One thought on “सपनामा पनि अझै एमालेकै देख्छु, पेल्न छाडे समर्थनमात्र होइन पार्टी नै मिल्छौं : राजेन्द्र राई (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर