बजेट संशोधन भए सरकार ढल्छ: सुवास नेम्वाङ – Nepal Press

बजेट संशोधन भए सरकार ढल्छ: सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गरेका छन् ।

बेलायती मोडलको संसदीय मान्यता र परिपार्टी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न नमिल्ने भएकाले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति ठिक नभएको उनको भनाई थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपनेता नेम्वाङले बजेट संशोधन गर्ने मान्यता नभएकै कारण संसदमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव राख्ने प्रावधान राखिएको र सो प्रस्ताव पारित भए सरकार ढल्ने मान्यता रहेको स्पष्ट पारे । तर सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट संसदमा संशोधन हुन नसक्ने उपनेता नेम्वाङले बताए ।

उनले भने,‘प्रधानमन्त्रीज्यूले बालुवाटारमा बैठक नै राखेर संशोधन गरेर बजेटमा म सबैको चित्त बुझाउँछु भनेर गठबन्धनमा साथीहरुले यो बजेट जस्ताको तस्तै पास हुँदैन भनेर भन्नु भएको छ । यो परिप्रेक्ष्यमा यसबारेमा गम्भिर छलफल चल्नु राम्रै हो । तर जहाँसम्म मान्यता, परिपार्टीको कुरा छ । हामी कुन मान्यतामा छौं त भन्दा खर्च कटौतीको प्रस्ताव पास भयो भने सरकारको बजेट फेल भयो । र, सरकार ढल्छ भन्ने मान्यतामा हामी चलिराखेका छौं । त्यसैले बजेटमा परिवर्तन हुँदैन भनेर भनिन्छ । र, हामी छलफल गरिरहेका छौं । र, प्रधानमन्त्रीजीले त बालुवाटारमा बैठक गरेरै सांसदहरुलाई, देशलाई आश्वस्त तुल्याउनु भएको छ । अव प्रधानमन्त्रीजीले नै म संशोधन गर्छु भन्नु हुन्छ भने त हामी प्रतिपक्षले त नाई भन्ने कुरै भएन । हिजो आफैंले राखेका जुन नीति, कार्यक्रम छन । त्यो नीति, कार्यक्रम बोक्ने बजेट भएन भनेर भनिराखेकाहरु यो बजेटमा आमूल परिवर्तन गर्नु पर्छ त हामी भनिराखेकै छौं । तर नीति, कार्यक्रम र बजेट सरकारले जे ल्यायो नि । त्यसमा संशोधन गरिदैन ।’

उपनेता नेम्वाङले बजेट परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा आफ्नो पार्टी रहेपनि त्यसलाई संशोधन गर्न भने मिल्ने परिपार्टी नभएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर