लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता, अधिकांश पुरानो निरन्तरता (पूर्णपाठ) – Nepal Press

लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता, अधिकांश पुरानो निरन्तरता (पूर्णपाठ)

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । अधिकांश यसअघिका कार्यक्रमलाई निरन्तरता दिँदै प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ । रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।

कृषिको प्रवर्द्धनका लागि सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम संचालन गर्नेछ । त्यसका लागि विभिन्न जिल्लालाई जिल्लागत खेती प्रवर्द्धन गर्ने उल्लेख छ । विभिन्न जिल्लामा सफल देखिएका उत्पादन र बजार प्रणाली पहिचान गरी कृषकबाट कृषकसम्म प्रविधि तथा कार्यक्रम विस्तार गर्ने सरकारको लक्ष्य छ ।

घरदैलोमा प्राविधिक सेवाः उत्पादनमा टेवा भन्ने नारासहित कृषि प्रचार सेवाको पहुँच गाउँसम्म पुर्याउने पनि सरकारको लक्ष्य छ । तीनै तहको समन्वयमा खाद्य सुरक्षाको जोखिममा रहेका घरपरिवारको पहिचान गरी जोखिम व्यवस्थापन सञ्चालन गर्ने नीति पनि सरकारले अघि सारेको छ ।

प्रदेश सरकारले प्रदेश गौरवको आयोजना पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङ्ग लगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण एवं स्तरोन्नति कार्यलाई पनि प्राथमिकतामा राखेको छ । सरकारले उज्यालो प्रदेशः लुम्बिनी प्रदेश अवधारणा अनुसार विद्युत् नपुगेका स्थानमा बैकल्पिक उर्जाको प्रयोग, लघु तथा साना जलविद्युत् हरित उर्जा, वायु उर्जालाई प्रवर्द्धन गर्ने नीति सरकारले लिएको छ ।

विद्युतीय सवारी साधानको प्रयोग र चार्जिङ स्टेशन १२ वटै जिल्ला सदरमुकाम, राजमार्ग र व्यापारिक केन्द्रमै निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि सरकारको छ । पहाडी जिल्लाको बढ्दो बसाईसराई रोक्न ‘एक जिल्ला स् एक नमुना बस्ती’ नारा पनि सरकारले अघि सारेको छ ।

त्यसैगरी, सरकारले स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । प्रदेशसभाबाट राजधानी तोकिएसँगै आधुनिक शहरसहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्यान्ड पुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्ररुपमा अघि बढाइने कार्यक्रममा समेटिइएको छ ।

‘राजधानीमा आधुनिक सहर संरचना विकासका लागि स्रोत व्यवस्थापन गर्न संघ र स्थानीय तहसँग निरन्तर समन्वय तथा लगानी आर्कषण गर्न विकास साझेदारको सहभागिता जुटाउने प्रयास भइरहेको छ र त्यसले प्रदेशको समग्र विकास र नयाँ शहर स्थापनामा सहयोग पुग्ने जनाइएको छ ।

सरकारले प्रदेशबासीको आवश्यकता बमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि गर्दै जिवनस्तरमा दिगो सुधार एवं उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकता केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रम बनाएको छ ।

सरकारले रोजगारी प्रवर्धनका लागिग ‘श्रमको सम्मान र लुम्बिनी प्रदेशको अभियान’ नारा अघि सार्दै प्रदेशलाई श्रममैत्री बनाउन श्रम तथा रोजगार रणनीतिक योजना तर्जुमा गर्ने सरकारको लक्ष्य छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम पनि अघि सारेको छ । यसअघिको सरकारले मुख्यमन्त्री शैक्षिक विकास कार्यक्रम सञ्चालन गरिरहेको थियो ।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत बेरोजगार युवाशक्तिलाई बजार माग र स्वरुचि अनुरुपको सिपमूलक तालिम प्रदान गर्दै उद्यमशिलताको विकास मार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

संघ, स्थानीय तह, निजी क्षेत्र, सहकारी र विकास साझेदारसँगको साझेदारीमा आगामी २ वर्षमा २ लाख उत्पादनशील रोजगारीका अवसर सिर्जना हुने गरी प्रदेशका ९ सय ८३ वटै वडामा सामाजिक परिचालन गर्ने नीति कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।

त्यसैगरी बुटवललाई आर्थिक हव बनाउने नारा कार्यक्रममा समेटिएको छ भने औद्योगिक विकासका लागि बाँकेको नौवस्तासहित औद्योगिक क्षेत्रको विकासमा प्राथमिकतामा राख्ने जनाइएको छ ।

त्यसैगरी विद्युतीय गाडी संचालनका लागि सबै जिल्ला सदरमुकाम र राजमार्गमा चार्जिङ स्टेशन बनाउन पहल गर्ने, प्रदेशका सबै नागरिकलाई पुग्नेगरी एक घर एक धारालाई कार्यान्वयनमा लैजान पहल गरिने कार्यक्रम विशेष प्राथमिकतामा रहेको प्रदेश प्रमुख शेरचनले बताएका छन् ।

पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी योजना बनाउने, घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ ।

यस्तै रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभप्राप्त हुने योजनालाई अघि सारिएको छ ।

पर्यटनको लागि ग्रेटर लुम्बिनी, स्वर्गद्वारी, रुरुधाम र दाङको रतनमार्ग आदि स्थानमा पर्यटन केन्द्रित कार्यक्रम बनाइने उल्लेख छ ।

पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर