बेलहिया नाका १०० रुपैयाँभन्दा धेरैको सामानमा अनिवार्य भन्सार – Nepal Press

बेलहिया नाका १०० रुपैयाँभन्दा धेरैको सामानमा अनिवार्य भन्सार

उद्योगीव्यवसायी खुसी हुँदा उपभोक्ता भने छैनन् खुसी

रुपन्देही । नेपाली उद्योगी व्यवसायीको बढ्दो दवावपछि रुपन्देहीको बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको छ । भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कर्डाइ थालिएको हो ।

सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको छ । यो प्रकृयाले यताको उद्योगी व्यवसायी खुसी भएपनि केही उपभोक्ताले भने गलत भएको दावी गरेका छन् ।

भारतको सुनौली बजारमा गएर दैनिक २ करोड रूपैयांसम्म सामान नेपालीले किनमेल गर्ने गरेको निजी क्षेत्रको दाबी छ । रूपन्देहीको बेलहिया नाका नेपालकै दोस्रो ठूलो भन्सार नाका हो । दैनिक उपभोग्य सामानदेखि विवाह, ब्रतबन्ध, पूजाआजाका लागि समेत गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट नेपालीहरू दैनिक जाने गर्छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमा नाका चेकजाँचमा कडाइ सकारात्मक कार्य भएको बताए । उनले यो कार्यले स्थानीय बजार चलायमान हुनुका साथै देशको समग्र अर्थतन्त्रमा समेत प्रभाव पर्ने दाबी गरे । उनले भने, ‘चेकजाँच कडाइलाई निरन्तरता दिनुपर्छ, यसले चोरी तस्करीलाई पनि निरुत्साहित गर्छ । बेलहिया नाकाजस्तै अन्य नाकाहरु पनि चेकजाँचलाई कडाइ गर्नुपर्छ ।’

भन्सारमा अहिले नियमन अनुसार भन्सार दर तिर्नुपर्ने बताउँदै आएका छन् । नेपालमा एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानूनी प्रावधान छ । तर, व्यावहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन ।

भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय, बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको छ । भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन् ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भारतीय बजारबाट किनमेल गरी फर्किनेलाई भन्सार तिरेर मात्र छाडिएको बताए । पौडेलले तस्करीको सामान व्यवसायीले खरिद गर्न नहुने बताउँदै अवैध कारोबारबारे व्यवसायीले सूचना दिएर सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेको भन्दै निरन्तर आन्दोलन गरेपछि पछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो । नेपालबाट घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली बजार पुग्ने गर्छन् ।

उपभोक्ताले भने भन्सार कडा गरिएपछि खासै चित्त बुझाएका छैनन् । ‘ठूलो परिणाममा समान लैजानेले कसरी लैजान्छन् लुकाएर, सेटिङ गरेर, गाडीका गाडी मिलेमतोमा भन्सार कटाएका खबर आउँछन्, हामीले घरयासी प्रयोजनका लागि ल्याएको सामानमा अहिले भन्सार तिराउनु मलाई उचित लागेन’ बुटवल बेलवासकी निर्मला कुँवरले बताइन् ।

लुम्बिनी क्षेत्रका अन्य साना नाकाबाट दैनिक लाखौको सामान विना भन्सार आउने गरेपनि जनतालाई दुःख र हैरानी दिन दैनिक उपभोग्य सामानमा भन्सार तिर्न बाध्य पारिएको र यसबाट सर्वसाधारणले नै बढी दुःख पाउने उनको भनाइ छ । भन्सारका कर्मचारीले अहिले सानो रकमका सामान खरिद गर्दा पनि दुःख दिने गरेको सुनौलीबाट फर्केका उपभोक्ता दिपक क्षेत्रीले बताए ।

यसअघि खुल्ला सीमा नाकालाई व्यवस्थित गर्दै चेकजाँचमा कडाइ गर्नुपर्ने उद्योगी–व्यवसायीले निरन्तर माग गरिरहेका थिए । भैरहवा भन्सार कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न अन्तरक्रिया, छलफल कार्यक्रममार्फत सम्बन्धित निकायलाई उनीहरुले ध्यानाकर्षण गराउँदै आएका थिए ।

सीमापारी किनमेल गरेर सहजै सामान बोकेर नेपाल ल्याइएको र चेकजाँचमा कडाइ नभएपछि नेपाली व्यवसायी मर्कामा परेको समयमा अहिले गरिएको यो नियमले यताका व्यवसायीलाई राहत हुने र उपभोक्ता पनि नठगिने बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताए ।

केही समयअघि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा खुल्ला सीमा नाका चुनौती र समाधान विषयक कार्यक्रम नै राखेर उद्योगी–व्यवसायीले सीमा नाका खुकुलो हुँदा सहजै रुपमा सामान भित्रिएको बताएका थिए । उनीहरुले खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण राज्यको अर्थतन्त्र खस्केको र नेपालका उद्योगी–व्यवसायी मर्कामा परेको बताएका थिए ।

यही दवावका कारण केही दिनदेखि सीमा नाका बेलहियामा चेकजाँचमा कडाइ गरिएको हो । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका प्रशान्त थापा क्षेत्रीले पछिल्लो समय सीमा नाकामा चेकजाँचमा कडाइ भएको पाइएको बताए । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधुप्रसाद पन्थीले सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको बताए । उनले सुरक्षा निकाय तथा भन्सार कार्यालयबाट चेकजाँचमा कडाइ गरिएको बताए ।

सीमा नाकामा कडाइ गरिएपछि राजस्व संकलनमा समेत वृद्धि हुने उनको भनाइ छ । उनले भने, ‘सीमापारी भारतबाट सामान खरिद गरेर नेपाल आएपछि अनिवार्य भन्सार प्रक्रियामा गए अवश्य नै राजस्व संकलनमा वृद्धि हुन्छ ।’ मुख्य नाका बेलहियासँगै अन्य नाकाहरुमा पनि कडाइ गर्नुपर्ने उनको भनाइ छ ।

लक्ष्यको आधा पनि संकलन भएन भन्सारको राजश्व

चालु आर्थिक वर्ष २०७९/८० मा बेलहिया भन्सार कार्यालयले लक्ष्यको आधा पनि राजश्व संकलन गर्ने सम्भावना छैन । चालु आर्थिक वर्षमा १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार रुपैयाँ भन्सार विभागले बेलहियालाई राजस्व संकलनको लक्ष्य तोकेको थियो ।

गत साउनदेखि वैशाखसम्म १० महिनामा ६२ अर्ब, ३४ करोड ४ लाख ६५ हजार रुपैयाँ कुल लक्ष्यको ४० प्रतिशत मात्रै संकलन भएको अवस्था छ । विभागले वैशाखसम्मका लागि १ खर्ब २७ अर्ब ५७ करोड ६३ लाख ५३ हजार रुपैयाँको लक्ष्य तोकेपनि संकलित रकम यो लक्ष्यको करिब ४९ प्रतिशत मात्रै भएकाले अब बाँकी महिनामा भेटाउन कठिन भएको भन्सारकै कर्मचारीको आंकलन छ । कुल लक्ष्य भेट्न दुई महिनामा ६० प्रतिशत राजस्व उठाउनुपर्ने हुन्छ ।

बेलहिया भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्मका लागि १ खर्ब ७ अर्ब १९ करोड ४४ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ संकलन भएको थियो । यो रकम लक्ष्यको ९६ प्रतिशत थियो । गत असोजदेखि राजस्व संकलन घटेको हो ।

गत आर्थिक वर्ष १ खर्ब २७ अर्ब ४२ करोड रुपैयाँ संकलनको लक्ष्य लिएकोमा १ खर्ब १५ अर्ब ८७ करोड रुपैयाँ संकलन भएको थियो जो लक्ष्यको लक्ष्यको करिब ९१ प्रतिशत थियो । बेलहिया भन्सार कार्यालय प्रमुख मणिराम पौडेलका अनुसार मंसिरदेखि केही वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने र केही वस्तु आयातमा रोक लगाइएका कारण राजस्व घटेको हो ।

सरकारले जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेकोमा गत पुस १ गतेदेखि उक्त प्रावधान हटाएको थियो । बेलहिया भन्सार कार्यालयमा सबैभन्दा धेरै राजस्व जिप, कार र भ्यान लगायतका वस्तु आयातबाट उठ्ने गरेको छ ।

गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको वैशाखसम्म मूल्यका आधारमा आयात भएका मुख्य दस वस्तुहरूको तथ्यांक हेर्दा सबैभन्दा बढी राजस्व जिप, कार र भ्यानबाटै उठेको देखिन्छ । त्यस्तै आर्थिक गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोल, ग्लेज टाइल, हाइस्पिड डिजेल, एलपी ग्यास, मार्बल स्ल्याब र मोबाइल टेलिफोन लगायत केही वस्तुको आयात घटेको छ । कार्यालय प्रमुख पौडेलका अनुसार बाँकी अवधिमा लक्ष्यको नजिक पनि पुग्नसक्ने अवस्था छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर