आँखाको नानीमा नेपाल आत्मनिर्भर छ: आँखा बैंक – Nepal Press

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ: आँखा बैंक

काठमाडौं । आँखादान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ ।

आँखादानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्खनारायण न्वायनाले बताए । बिहीबार भएको ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभासम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, ‘बैंकमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने अहिले आँखाको नानी देशभित्रबाटै सङ्कलन हुन्छ ।’

उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ । नेपाल आँखा बैंकमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र १२ हजारभन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेको उनले जानकारी दिए ।

बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार ३०० दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार १७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आँखाको नानी सङ्कलन गरेर प्रत्यारोपण गरिएको छ ।

बैंकका निर्देशक डा. लिना बज्राचार्यले आँखादानप्रतिको बढ्दो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढेको बताइन् । उनले भनिन्, ‘सुरुमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखादानसम्बन्धी मानिसमा जनचेतना जगायौं । अहिले मन्दिरदेखि अस्पतालसम्म दाताका आफन्तलाई ‘काउन्सिलिङ’ गरिरेहका छौं । आँखा दानप्रतिको सोचमा सकारात्मक  परिवर्तन पाएका छौं ।’

आँखादानसम्बन्धी सचेतना बढे पनि अन्धविश्वास चुनौती बनेको उनी बताउँछिन् । ‘मृत्युपछि आँखाको नानी दान गर्नेको सङ्ख्या दोब्बरले बढेको छ । तर, कतिपय अझै पनि अन्धविश्वासका कारण दान गर्न हिचकिचाउनुहुन्छ । उहाँहरूलाई हामी सक्दो काउन्सिलिङ गर्दै आएका छौं’, उनले भनिन् ।

नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौंडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।

‘अहिले यीसँगै आर्यघाट, विद्युतीय शवदाह गृहलगायत काठमाडौंमा रहेका चार वटा ठूला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताबाट परामर्श तथा जानकारी दिने काम भइरहेको छ’, बैंकका व्यवस्थापक त्वायनाले भने ।

चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानीकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।

आँखाको नानीरोग विशेषज्ञ चिकित्सक डा. बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताइन् । उनले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखादानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिइन् । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर