लुम्बिनीकी एकमात्रै महिला मेयरको पहल, गृहिणी महिलाको लागि समता विद्यालय – Nepal Press

लुम्बिनीकी एकमात्रै महिला मेयरको पहल, गृहिणी महिलाको लागि समता विद्यालय

रुपन्देही । लुम्बिनी प्रदेशकी एकमात्र महिला नगरपालिका प्रमुख विमला अर्यालले आफ्नो पालिकामा गृहिणी महिला अध्यापनको लागि विद्यालय सञ्चालनमा ल्याएकी छन् ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी मेयर अर्यालले गृहिणी महिलाहरुलाई लक्षित गरी लुम्बिनी समता महिला विद्यालय सुरुवात गरेकी हुन् । बिहान घरको काम सकेपछि पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा आएको उनले बताइन् ।

‘धेरै महिलाहरु पढ्न चाहेर पनि पाएका छैनन्, पढ्न नपाउँदा धेरै अप्ठेरो छ, उनीहरुको चाहनालाई ध्यान दिएर यो विद्यालय सञ्चालनमा ल्याएका हौं’, उनले भनिन् ।

महिला दिदीबहिनीहरुलाई सचेत र दक्ष बनाउने लक्ष्यका साथ सुनवल नगरपालिकालाई समृद्ध बनाउने योजनासहित महिला विद्यालयको सुभारम्भ गरिएको मेयर अर्यालले बताइन् ।

उनका अनुसार पहिलो चरणमा १५८ जना भर्ना भएका छन् । विद्यालय लुम्बिनी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ । जसमा कक्षा ४ देखि १० सम्म महिलाहरुलाई भर्ना गरिएको लुम्बिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुमनाथ सुवेदीले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले धेरै दिदीबहिनीहरुले गाडीको व्यवस्था गर्न भनेपनि बजेटमा अभावले व्यवस्थापन हुन नसकेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले विद्यालयको उद्घाटन गर्दै जिल्लामै पहिलो पटक महिला विद्यालय सञ्चालनमा आउनु महत्वपूर्ण भएको बताए । महिला विद्यालयको दिगोपनाको लागि सबैको उत्तरदायित्व रहेको उनको भनाइ छ ।

नगरपालिकाका उपमेयर सूर्य दुबेले सुनवलको विकासमा महिलाहरुको भूमिका रहने भन्दै महिला विद्यालयले अहं भूमिका खेल्ने बताए । हरेक व्यक्तिको जीवनमा शिक्षाले प्रभाव पार्ने भन्दै लुम्बिनी समता महिला विद्यालय सुनवललाई शैक्षिक हब बनाउन कोशेढुंगा सावित हुने बताए ।

नपाका संस्थापक मेयर भीमबहादुर थापाले विद्यालयमा किताबमात्रै नभई सीप सिकाइ पनि हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर