भागबन्डा पुर्‍याउन मन्त्रालय कटौतीको आफ्नै निर्णयबाट पछि हटे मुख्यमन्त्री – Nepal Press
बागमती प्रदेश

भागबन्डा पुर्‍याउन मन्त्रालय कटौतीको आफ्नै निर्णयबाट पछि हटे मुख्यमन्त्री

हेटौँडा । गत पुस २६ गते मुख्यमन्त्रीको शपथग्रहणपछि सीधै मुख्यमन्त्री कार्यालय पुगेर १४ मन्त्रालयबाट घटाएर कम्तीमा ९ देखि ११ मन्त्रालयभन्दा नबढाउने प्रतिबद्धता ब्यक्त गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल गठबन्धनमा भाग पुर्‍याउन करिब साढे ४ महिनामै आफ्नो निर्णयबाट ‘ब्याक’ भएका छन् ।

तत्कालीन नेकपा एमाले, राप्रपासँगको गठबन्धनमा मन्त्रालय घटाएका उनी नयाँ गठबन्धन बनेसँगै भागबन्डाका लागि मन्त्रालय फुटाउन तयार भएका हुन् । बागमती प्रदेशको संसदीय शक्तिमा तेस्रो नम्बरमा रहेको माओवादी केन्द्रलाई सत्ता जोगाउन नेपाली कांग्रेस र नेकपा एसले मागेजति मन्त्रालय दिनुपर्‍यो । ११ वटाभन्दा बढी मन्त्रालय कुनैपनि हालतमा नबनाउने मुख्यमन्त्रीको अडान टिकेन । दोस्रो पटक विश्वासको मत लिएको ५८ दिनपछि उनले १२ सदस्यीय मन्त्रिपरिषद् बनाए । ११ मन्त्रालयमा १२ मन्त्री बनाएपछि उनलाई अब एक मन्त्रालय थप्नैपर्ने बाध्यता छ ।

नयाँ मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ६ र नेकपा एसले २ मन्त्रालयको दाबी नछाडेपछि चुलिएको विवाद गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको बैठकमा सुल्झियो ।

सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्ने कार्यक्रममा समेत जम्कट्टेलले १४ बाट ११ मन्त्रालय बनाएको बुँदा उपलब्धि मानेका थिए ।

यसअघि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले ७ मन्त्रालयबाट ४३ महिना सत्ता सञ्चालन गरेका थिए । दोश्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ८ मन्त्रालय बनाएकी थिइन् । राजेन्द्र पाण्डेले गठबन्धनमा भाग पुर्‍याउन ८ बाट एकैपटक १४ वटा मन्त्रालय बनाएका थिए भने राज्यमन्त्रीसहित १८ जना मन्त्री बनाएपछि उनको चर्को आलोचना भएको थियो ।

पाण्डेको जनस्तरबाटै चर्को आलोचना भएपछि मुख्यमन्त्री जम्कट्टेले ११ वटा मन्त्रालयमात्र बनाएर जनतालाई शुसासनको प्रत्याभूति दिलाउने घोषणा गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर