सर्पले डसेकी बालिकालाई धर्मगुरुको प्रार्थनामा आलटाल, उपचारमा ढिलाइ हुँदा मृत्यु – Nepal Press

सर्पले डसेकी बालिकालाई धर्मगुरुको प्रार्थनामा आलटाल, उपचारमा ढिलाइ हुँदा मृत्यु

रुपन्देही । बर्दियाको बासगढी नगरपालिकामा सर्पले डसेको एक बालिकालाई उपचारको साटो सच्चाई धर्मको प्रार्थना गराउन थाल्दा उपचार नपाई मृत्यु भएको छ । बासगढी नगरपालिका- ३ महादेवा गाउँका श्यामबहादुर डाँगीकी १६ वर्षीय छोरी ओमकुमारी डाँगीको प्रार्थना गराउन थालेपछि उपचारमा ढिलाइले मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले समेत सर्पले डसेपछि उपचारको साटो प्रार्थनातिर लागेर उपचारमा ढिलाइ भएको र लापरबाहीबाट ती बालिकाको ज्यान गएको जनाएको छ ।

घटना विवरणअनुसार महादेवाकी ती बालिकालाई जेठ २ गते राति १ बजे आफ्नै घरमा सुतिरहेको बेला हातमा सर्पले टोकेको थियो । तर सच्चाई धर्मगुरु स्थानीय ६० वर्षीया यमुना नामले चिनिने योगेन्द्रकुमारी पर्तिले अस्पताल लैजानु नपर्ने र प्रार्थना गरे ठीक हुने सल्लाह दिएपछि अभिभावकले त्यसै गरेका थिए ।

अर्को दिन बिहान ७ बजेसम्म ती धर्मगुरुले प्रार्थना गराइरहेको अन्य छिमेकीले खबर पाएपछि प्रार्थना गरेर ठीक नहुने र अस्पताल लैजान दबाब दिए । तर, अस्पताल लैजाँदै गर्दा ती बालिकाको बाटोमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

स्थानीयले अस्पताल लैजान दबाब दिएपछि भेरी अस्पताल बाँके लैजाँदै गर्दा अस्पतालले बालिकाको बाटोमा नै मृत्यु भएको जनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले नेपाल प्रेसलाई बताए ।

उनले ती बालिकाको लापरबाहीले नै मृत्यु भएको प्रारम्भिक अवस्थामा देखिएको र छानबिनका लागि धर्मगुरु पर्तिलाई पक्राउ गरी मुद्दा चलाइएको र आवश्यक अनुसन्धान थालिएको जनाएका छन् । स्थानीयले धर्मको नाममा उपचार गर्न नदिई यस्तो गलत बाटो अपनाउन सल्लाह दिने धर्मगुरुलाई कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *