के धर्म र अध्यात्म फरक कुरा हुन् ? – Nepal Press

के धर्म र अध्यात्म फरक कुरा हुन् ?

मेरो एकजना साथी हुनुहुन्छ, जो हरेक भेटमा कोसेलीका रूपमा प्रश्न लिएर आउनुहुन्छ । प्रायजसो उहाँका प्रश्नमै उत्तर रहेका हुन्छन् । एकदिन चिया खान भन्दै मट्कामा चिया पाउने पसलमा छिर्दै थियौं ।

पछाडि भिरेको झोला र हेलमेट पनि फुकाल्न नभ्याउँदै उहाँले भन्नुभयो- बिनुजी हिंसात्मक द्वन्द्वबाट आएकी एकजना कम्युनिष्ट नेत्री मेरो साथी हुनुहुन्छ । अचेल उहाँ ध्यानमा जानुहुन्छ र सामाजिक सञ्जालमा त्यसको फोटो, भिडिओ हाल्नुहुन्छ । एकदिन मैले तपाईंहरू त धर्मविरोधी अभियानमा पूरै १० वर्ष मन्दिर भत्काउँदै, ध्यान, दान, पूजा बन्द गराउँदै हिँड्नुभो, अहिले फेरि ध्यानमै आइपुग्नु भएछ त भन्दा, उहाँले धर्मको पो विरोध गरेको, अध्यात्म त सबैलाई चाहिने कुरा हो नि भन्नु भयो । के धर्म र अध्यात्म फरक फरक कुरा हुन् र ?

त्यसबेला हामी चिया पसलमा थियौं । त्यसैले मैले उहाँको प्रश्नको जवाफमा मुस्कान मात्र फर्काएँ । आज अचानक ट्वीटरको एक ग्रूपमा कम्युनिष्ट विचार बोक्ने नेताहरूले ध्यान केन्द्रमा पुगेर नाचेको भिडिओ र त्यसमा अनेक खालका टिप्पणी आएको देखेपछि केही लेखौं भन्ने लाग्यो ।

उहाँले भनेजस्तै आजकल अध्यात्म शब्दको प्रयोग यसरी गरिन्छ कि मानौं रगतले लत्पतिएको मान्छे पनि रगत पुछेर ध्यान केन्द्रले दिएको पोशाक लाएर पलेंटीमा बसेपछि ऊ आध्यात्मिक हुन्छ ।

के अध्यात्म बाहिर लगाएको वस्त्रसँग मात्र सम्बन्धित छ ? धर्म के हो, अनि अध्यात्मसँग यसको के सम्बन्ध छ ? ध्यान के हो ? जप, तपस्या र संन्यास के हुन् ? धर्म र अध्यात्मलाई किन छुट्याएर हेरिन्छ ? यस आलेखमा यिनै प्रश्नको जवाफ खोज्न धीरज, ढोङ्, ध्यान र धर्म वरपर रहेर मानिसको मनोविज्ञान केलाउने प्रयास गरिने छ ।

आलेखको सुरूमा धर्म र अध्यात्मको अर्थ हेरौं । धर्म संस्कृत शब्द हो । यो ‘धृ’ धातुबाट बनेको छ । जसको अर्थ हुन्छ धारण गर्नु । शब्दकोश अनुसार व्यक्ति या वस्तुमा सधैं रहिरहने मूल गुण, वृत्ति र प्राकृतिक स्वभाव नै धर्म हो (नेपाली बृहत् शब्दकोश, प्रज्ञा प्रतिष्ठान)

आजकल अध्यात्म शब्दको प्रयोग यसरी गरिन्छ कि मानौं रगतले लत्पतिएको मान्छे पनि रगत पुछेर ध्यान केन्द्रले दिएको पोशाक लाएर पलेंटीमा बसेपछि ऊ आध्यात्मिक हुन्छ ।

महाभारत भन्छ- अहिंसा परमो धर्मः अर्थात् अहिंसा नै धर्म हो । (महाभारत अनुशासन पर्व ) । महाभारतका अनुसार भौतिक (लौकिक) र पारमार्थिक (गहिरो र भित्री अनुभूति) गरी धर्मका दुईवटा फैलावट क्षेत्र हुन्छन् ।

बुद्धले अहिंसा, अचोरी, झूट नबोल्नु, व्यभिचार नगर्नु र मद्यपान नगर्नु समेत पञ्चशील (पाँच स्वभाव) लाई धर्मको लौकिक गुण भनेका छन् । मानिसको शील बाहिर देखिन्छ, त्यसैले यो लौकिक धर्म भयो । योग दर्शन अनुसार मानिसको मनलाई रागबाट छुटाएर वैराग्य या शून्यमा पुर्‍याएको अवस्था धर्मको पारमार्थिक किनार हो । समाजले लौकिक गुणहरू देखेको हुन्छ । तर, चित्तमा त्यस्ता गुणहरू विकास हुने प्रक्रिया देख्न सक्दैन । त्यसैले बुद्धको धम्मपद, कृष्णको गीता आदि हामी पढ्छौं र त्यसलाई धर्म भन्छौं । तर परमार्थमा धर्म भनेको चित्त भित्रको आन्तरिक घटना हो । यसबारे पाण्डुरङ्ग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास’ मा व्याख्या हेर्न सकिन्छ (धर्मशास्त्र का इतिहास, डा. पाण्डुरङ्ग वामन काणे, उत्तर प्रदेश हिन्दी संस्थान प्रथम खण्ड, प्रथम अध्याय)

पारमार्थिक धर्मलाई अझ प्रष्ट पारौं- जुन कुराले आफूलाई धारण गरेको छ, त्यो पारमार्थिक धर्म हो । जस्तै– जगतको नियमले मलाई धारण गरेको छ । किनकि उसैले दिएको प्राणमा म छु, प्राणी छ, जगत छ । मेरो इच्छाको सीमा भन्दा बाहिरबाट हरेकको ‘म’ प्रभावित भइरहेको छ । हरेकको प्राण कतिबेला निकाल्ने, राख्ने सब उसैको(चेतनाको) हातमा छ । मैले परिवर्तन गर्न सक्दिनँ । किनकि मैले जगतको नियमलाई धारण गरेको होइन । जगत्‌को नियम (चेतना) ले मलाई धारण गरेको छ । जसरी थोपाले समुद्रलाई होइन, समुद्रले थोपालाई धारण गरेको हुन्छ । यिनीहरूले थोरै मात्र चेतना (नियम) गुमाउने हो भने धर्म स्खलित हुन्छ ।

यो भयो धर्मको कुरा, अब अध्यात्मको कुरा गरौं । अध्यात्म अधि र आत्मा मिलेर बनेको शब्द हो । यसको अर्थ हो आत्माको अधीनमा रहनु । प्राणीको चेतन तत्व अध्यात्म हो, जसले भौतिक शरीरलाई चलाइरहेको हुन्छ । गीतामा ‘स्वभावोकध्यात्ममुच्यते’ भनिएको छ । अर्थात् आफ्नो भित्री स्वरूप या जीवात्मालाई अध्यात्म मानिएको छ । (भगवद्‌ गीता, आठौं अध्याय )

मानिसको शील बाहिर देखिन्छ, त्यसैले यो लौकिक धर्म भयो । योग दर्शन अनुसार मानिसको मनलाई रागबाट छुटाएर वैराग्य या शून्यमा पुर्‍याएको अवस्था धर्मको पारमार्थिक किनार हो । समाजले लौकिक गुणहरू देखेको हुन्छ । तर, चित्तमा त्यस्ता गुणहरू विकास हुने प्रक्रिया देख्न सक्दैन ।

भौतिक पदार्थभित्र यस्तो चालक तत्व हुन्छ जो कहिल्यै नष्ट हुँदैन, यो कुरालाई बोधीहरूले आत्मा भने । जुन ज्ञानको शास्त्र हजारौं सालदेखि यहाँ पढिदै आएको छ । आधुनिक विज्ञान आज आएर घुमाउरो हिसाबले यसलाई स्वीकार गरेको छ । भर्खरै मात्र प्रतिपादन भएको क्वान्टम सिद्धान्त भन्छ- ‘हरेक पदार्थ ऊर्जाले बनेको छ । ऊर्जा नष्ट हुँदैन, त्यसको रूप मात्र बदलिने हो’ । ऋषिहरूले भन्ने आत्मातत्व (ऊर्जा) ले शरीर छोडेपछि हामी त्यसलाई मृत्यु भन्छौं । अर्थात् मत्युबाट रूपान्तरित हुने ऊर्जा आत्मा हो ।

अनि त्यस आत्मालाई बुझ्ने र हेर्ने अभ्यास ध्यान वा योग हो । यसलाई हाम्रा उपनिषद्हरूले व्याख्या गरेका छन् । भनिएको छ – ‘ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनः’ । अर्थात् योगीजनहरूले ध्यानमा रहेका बेला त्यस्तो भित्री चालक तत्वलाई देख्न सक्छन् । ध्यान मार्फत जाग्रत अवस्थाको सिर्जना र ऊर्जा शरीरको साक्षात्कार अध्यात्म हो । यो भयो पारमार्थिक धर्म वा अध्यात्म ।

अब धर्मका दुई फैलावटलाई यसरी बुझौं- आगोले डढाउँछ, त्यो उसको धर्म हो । आगोले पोल्न छोडे उसले धर्म छोड्यो । पोल्ने गुण जुन छ, त्यो पारमार्थिक भयो । अब आगोले पोल्छ भन्ने जान्ने मानिसले त्यसको प्रयोग खाना पकाउनमा गरेर धेरैलाई बचाउने काम गर्‍यो भने त्यो लौकिक धर्म (विवेक) भयो । समाजमा हामीले धर्मशास्त्र भनेर जे अध्ययन गरिरहेका छौं, त्यो प्रवचन सुनेर वा पढेर थाहा पाएको विवेक हो । धर्मको पारमार्थिक अनुभूति चाहिँ सम्बन्धितले मात्र गरेको हुन्छ । जस्तै तापको अनुभूति आगो स्वयंको हो र त्यसबाट निस्केको शास्त्र कोइला हो । भगवद्गीताको अनुभूति स्वयं कृष्ण हो र त्यसबाट निस्केको शास्त्र गीता हो ।

आगो या प्रकाशमा यो, यो तत्व हुन्छ र बल्छ भन्ने कुरा विज्ञानले भन्छ । त्यो ताप वा प्रकाश कहाँबाट आएको हुन्छ, बत्ती झ्याप्प निभाउँदा त्यसको प्रकाश कहाँ विलय हुन्छ भन्ने कुरा पराविज्ञान हो, त्यसबारे अध्यात्मले अनुभूति गर्छ । यसरी अध्यात्म साक्षात्कार गर्न कृष्ण, बुद्ध, महावीर, लाओत्से, अष्टावक्र जस्ता एकदमै थोरै मान्छेले मात्र सकेका छन् । राजनीतिमा लागेका, त्यसमाथि भौतिकवादी दर्शनलाई अँगाल्ने, अझ हिंसाबाट शक्ति आर्जन गर्ने दर्शन बोकेर हिडिरहेका कम्युनिष्टले अध्यात्मलाई अँगालेको छु भन्छन् भने त्यो सफेद झूट हो ।

यहाँनेर जीवनकै सबैभन्दा उँचो बोधमा तयार हुन सक्ने अध्यात्म शब्दको प्रयोग हरेकले गर्ने अवस्था कसरी आयो त भन्ने प्रश्न पनि उठ्न सक्छ । हो, आजको समाजमा आफूलाई सज्जन, परोपकारी, तपस्वी र सही देखाउन अध्यात्म शब्द अनैतिक, भ्रष्ट र अपराधीहरूले पनि प्रयोग गरेको पाइन्छ । किन भने अध्यात्म यस्तो पवित्र कुरा हो, जसको आडमा लुक्न सजिलो छ । र संन्यासी, भिक्षु वा अन्य तपस्वीका वस्त्रप्रति बनेको सकारात्मक सामाजिक भावभित्र सबै अपराध लुकाउन पनि सजिलो छ ।

कसैले वैयक्तिक रूपमा साधना गरेमा त्यो अध्यात्म हो, तर त्यसलाई अभियान बनाउन थालियो भने त्यसभित्र राजनीति छ, व्यापार छ, पाप र अपराध लुकाउने नियत छ भनेर बुझ्नु पर्छ । किनकि अध्यात्म वा धर्म व्यक्तिको आन्तरिक यात्रा हो, सामूहिक अभियान होइन । मान्छे धार्मिक भएपछि उसको व्यवहारमा आफै अध्यात्म छल्किन्छ, त्यो बेग्लै कुरा हो । एक व्यक्ति नै पुग्छ ध्यानमा तर उसले त्यो सार्वजनिक गर्छ भने ऊ पनि कुनै अभियानमा छ र त्यहाँ पनि धर्म या अध्यात्म छैन भन्ने प्रष्ट हुन्छ ।

आगोले डढाउँछ, त्यो उसको धर्म हो । आगोले पोल्न छोडे उसले धर्म छोड्यो । पोल्ने गुण जुन छ, त्यो पारमार्थिक भयो । अब आगोले पोल्छ भन्ने जान्ने मानिसले त्यसको प्रयोग खाना पकाउनमा गरेर धेरैलाई बचाउने काम गर्‍यो भने त्यो लौकिक धर्म (विवेक) भयो । समाजमा हामीले धर्मशास्त्र भनेर जे अध्ययन गरिरहेका छौं, त्यो प्रवचन सुनेर वा पढेर थाहा पाएको विवेक हो ।

अझ तिनीहरूले राजनीतिमा पनि अध्यात्म जोड्न सकिन्छ भनेर ओशोको नाम लिने गरेका छन् । तर, ओशोले राजनीति र धर्म (अध्यात्म) लाई जोडेर एउटै बनाउन खोजेको कहीँ पाइँदैन । त्यस्तो बाटो नभएकैले उनी त्यता लागेनन् । उनी अध्यात्ममा थिए, राजनीतिमा थिएनन् ।

खासमा अध्यात्म (धर्म) र राजनीति जाने बाटो नै विपरीत र पुग्ने ठाउँ नै अलग छ । राजनीति, र धर्म (अध्यात्म) ठीक विपरीत बाटा हुन् । राजनीति बाहिरको यात्रा हो । धर्म (अध्यात्म) आफैँभित्रको । धर्म (विवेक) ले आफैँभित्र हेर्ने हुनाले धार्मिक चित्तमा भएको व्यक्ति विश्राममा जान्छ । मतलब धर्म विवेक हो, सबैभन्दा पछि हौं भन्ने बोध हो । जसको परिणाम शान्ति हुन्छ ।

अनि राजनीति महत्वाकांक्षाले डोर्‍याउने वस्तु हुनाले प्रतिशोध र प्रतिस्पर्धा यसका आधार हुन् । त्यसको अन्तिम परिणाम युद्ध र विनाश हुन्छ । यसमा पनि राजनीतिले निश्चित सामूहिक अभियानमा समेट्छ । र भनाउँछ मेरो देश, मेरो धर्म, मेरो पार्टी, मेरो जात । तर धर्म वा अध्यात्मले समूहबाट अलग गरेर व्यक्तिलाई आफ्नो आन्तरिक जागृतिको दर्शन गराउँछ । राजनीति समूह तयार गर्छ जहाँ एकअर्काको गुलाम हुने बनाउने खेल हुन्छ । धर्ममा व्यक्ति स्वंयबाट पनि मुक्त हुने तयारी हुन्छ । त्यसैले धर्म र राजनीति दुई विपरीत तथा उल्टा बाटा हुन् । अझ अध्यात्म त त्यो भन्दा उँचो कुरा हो ।

पछिल्लो समयमा धर्म र अध्यात्मको आड लिएर निश्चित विचारधाराको विस्तार र निश्चित देशको साम्राज्य विस्तार गर्ने प्रवृत्ति देखिन्छ । अलौकिक शक्तिको महसुसबाहेक आफैंले निर्माण गरेका ढुंगाका मूर्तिहरूलाई भैरवी, माधवी जे जे नाम दिएर लम्पसार परे पनि त्यो राजनीति हो ।

मतलव धर्म भनेको सदाचार हो । र सदाचारी व्यक्तिमात्र धार्मिक तथा अध्यात्मिक हुन सक्दछ । विविध प्रकारका दुराचारमा फसेका र विलासी जीवनशैली भएका व्यक्ति धार्मिक हुँदैनन् । अनि धार्मिक(सदाचार)नै नभएका व्यक्ति आध्यात्मिक हुन सक्दैनन् ।

अँ यो चाहिँ हुन सक्छ कि व्याभिचारी (भ्रष्ट, अपराधी, दुराचारी) पनि एक ठाउँमा पुगेपछि अरुलाई किचेर प्राप्त पद, प्रतिष्ठा, सम्पत्तिबाट आउने अहंकारले आनन्द दिने रहेनछ भन्ने बोध गर्छ या धार्मिक बन्न सक्छ । किनकि जे कुरा पनि शुरु हुनभन्दा अघि र अतिबाट पार भएपछि पहिलेकै शुन्यमा ठाउँमा फर्कन्छ । जसरी घडिको पेण्डुलम जति रफ्तारमा दायाँ जान्छ त्यतिनै रफ्तारमा बायाँ आउने तयारी गर्छ ।

तर यहाँ त आफू जहाँको त्यहीँ रहेर राजनीति पनि आफै धार्मिक पनि आफै अनि अध्यात्मिक शुद्ध आफै भएको घोषणा गरिरहेका देखिन्छन् । त्यसैले राजनीति दुराचार, भ्रष्टाचार तथा व्याभिचार गर्ने अनि चोखो देखिन ध्यान केन्द्र पुग्ने र सामाजिक संजालमा फोटो पोष्टाउनेहरू धार्मिक या आध्यात्मिक भएको देखाएर राजनैतिक फाइदा लिन खोज्ने ठग हुन् । किनकि यिनीहरूलाई त ढोंगी भन्न पनि अनुचित हुन्छ । ढोंगी को हो भनेर गीतामा स्पष्ट भनिएकै छ-

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
इन्द्रियार्थन्विमूढात्मा मिथ्याचारः स उच्चते ।।

अर्थात् कर्मेन्द्रियहरू नियन्त्रण गरेका तर मनले इन्द्रियका विषयमा मात्र चिन्तन गरिरहने र स्वयंलाई धोका दिने पाखण्डी नै ढोंगी हुन् । भन्नुको अर्थ, ढोंगीले त आफूलाई मात्र धोका दिन्छ । तर राजनीतिमा सारा पद हत्याउन आतुरहरू अध्यात्मको शब्द प्रयोग गरेर आफूलाई र समाजलाई पनि एकसाथ धोका दिइरहेका छन् । ढोंगीले कमसेकम कर्मेन्द्रियहरूलाई त नियन्त्रण गरेको हुन्छ । तर यिनीहरू एकातिर ठूलो मन्त्रालय पारेर राज गर्ने मानसिकता, अनैतिक यौनसम्बन्धदेखि, अवैध सम्पत्ति आर्जनसम्मका सारा कुकृत्यहरू भित्रभित्रै गुपचुप रूपमा गरिरहेका हुन्छन् । अनि अर्कातिर साधु पल्टेर अध्यात्मको बर्को ओढ्न र समाजलाई फेरि धोका दिन उद्यत हुन्छन् । ढोंगी हुनु व्यक्तिगत कमजोरी हो भने, अध्यात्मका नाममा समाजलाई धोका दिनु अपराध । त्यसैले यी ढोंगी मात्र होइनन्, अपराधी हुन् ।

अहिले अध्यात्म शब्द सबैभन्दा अनैतिक, भ्रष्ट र अपराध गरेर भागिरहेका मान्छेहरू लुक्ने ठाउँ भएको छ । यिनीहरू आफ्नो कुटिल तामसी मानसिकता यथावत् राखेर, एक पोशाक भित्र छिरेर, फोटो सामाजिक सञ्जालमा आइसक्दा इमान्दार भएको भ्रम दिने माध्यम बनिदिए बापत कथित ध्यानकेन्द्रलाई गणना नै हुन नसक्ने रकम बुझाउँछन् ।

तर, के सबै ध्यान केन्द्र उस्तै छन् ? छैनन् । कति ध्यानस्थल यस्ता पनि छन् जसमा संयोगले मान्छे पुग्छन् । नाम पनि राखेका छैनन् । जहाँ रहेका तपस्वीहरू ध्यान गर्ने ठाउँ पनि बताउन चाहँदैनन् । संयोगबश जो पुग्छन् उनीहरूले ती ध्यानी, योगीको साथमा बस्न पाउँछन् र आध्यत्मिकताले पूर्ण भएर फर्कन्छन् । अनि जानेहरू पनि यो कुरा कतै प्रचार गर्दैनन् । न प्रचार गर्नुपर्ने ठान्छन् । किनकि उनीहरूले जे लिनुदिनु थियो त्यो पूरा भैसकेको हुन्छ । जोभित्र घटित हुने कुरा न देख्न जरुरी छ न देखाउन । त्यो हो संन्यास । त्यो हो ध्यान । ती हुन् ध्यानकेन्द्र । ती हुन् तपस्वी ।

यसको मतलव ध्यान केन्द्र, मन्दिर, गुम्बा, मस्जिद, चर्च गएर तस्बिर खिचाउने मात्र होइन, आफूले दान गरेको, परोपकार गरेको, उद्धार गरेको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्ने हरेक व्यक्तिहरू धार्मिक र आध्यात्मिक नभएर तिनीहरू राजनीतिकर्मी हुन् । व्यापारी हुन् । उनीहरूको उद्देश्य त्यसबाट फाइदा लिनु हो । धार्मिक वा आध्यात्मिकका निम्ति चाहिँ दान, परोपकार फगत एउटा लीला हो, त्यसबाट केही लिनु हुँदैन ।

कसैले वैयक्तिक रूपमा साधना गरेमा त्यो अध्यात्म हो, तर त्यसलाई अभियान बनाउन थालियो भने त्यसभित्र राजनीति छ, व्यापार छ, पाप र अपराध लुकाउने नियत छ भनेर बुझ्नु पर्छ । किनकि अध्यात्म वा धर्म व्यक्तिको आन्तरिक यात्रा हो, सामूहिक अभियान होइन । मान्छे धार्मिक भएपछि उसको व्यवहारमा आफै अध्यात्म छल्किन्छ, त्यो बेग्लै कुरा हो ।

अहिलेको समाजमा राजनीतिक पनि र धार्मिक पनि हुने आधार कहीँ छैन । तर सही अर्थमा धर्मको अनुसरण गर्ने व्यक्ति परमानन्दमा पुग्छ र उ जहाँ रहेपनि प्रकृति विपरित हुँदैन । असल राजनीति गर्ने व्यक्तिले पनि समाजका भौतिक आवश्यकतामा ध्यान दिन्छ । राजनीति र धर्मको यो भन्दा फरक र समान कार्यक्षेत्र छैन ।

पछिल्लो समयमा धर्म र अध्यात्मको आड लिएर निश्चित विचारधाराको विस्तार र निश्चित देशको साम्राज्य विस्तार गर्ने प्रवृत्ति देखिन्छ । अलौकिक शक्तिको महसुसबाहेक आफैंले निर्माण गरेका ढुंगाका मूर्तिहरूलाई भैरवी, माधवी जे जे नाम दिएर लम्पसार परे पनि त्यो राजनीति हो ।

नेपाल आफैँ प्राकृतिक शक्तिको केन्द्र हो । मुस्ताङको मुक्तिनाथ, ताप्जेजुङको पाथीभरा, काठमाडौंको दक्षिणकाली,गोर्खाको मनकामना, हुम्लाको त्रिपुरासुन्दरी, स्याङ्जाको चण्डीस्थान, काठमाडौंमै तलेजू भवानी, गुह्येश्वरी, अष्टमातृका जस्ता स्थापना गरिएका नभएर आफै प्रकट भएका शक्तिपीठ छन् । यी यस्ता ठाउँमा छन् जहाँ पुग्दा खुट्टाबाट एकखालको शक्ति माथि शिरमा गएको आफैँ महसुस गर्न सकिन्छ । हामीसँग पहिल्यै भैरवभैरवीस्थान छन् हामीलाई भैरवी जरुरी छैन ।

अंग्रेजीमा भन्दा राजनैतिक व्यक्ति फाइनाइट हो भने, धार्मिक व्यक्ति इनफाइनाइट हो । राजनैतिक व्यक्ति आफूलाई केन्द्र मानेर आफू वरवर सीमित मान्छे राखेर बसेको हुन्छ भने ईश्वरीय शक्ति केन्द्रमा भएर आफू परिधिमा भएको एक अनन्त प्रकाशमा छिरेको व्यक्ति धार्मिक हो ।

नेपालमा त अलिकति माथि त गुरुत्वाकर्षण न्यून भएका उचा भन्दा उचा पहाड, हिमालहरू छन् । जहाँ पुग्दापुग्दै ध्यानस्थ भएको महसूस हुन्छ । जहाँ सदियौंदेखि दुर्गा, गौरी, कालीको पूजा भइरहेको छ । तर धर्मलाई राजनीतिक उद्देश्यमा मोड्न खोज्नेहरूले यो देख्दैनन् अनि देखाउन पनि चाहादैनन् । उनीहरू आफ्नो सांस्कृतिक साम्राज्य विस्तार गर्न विभिन्न भैरवीहरूको रचना गर्छन् र राजनीतिमा आफ्ना एजेन्ट खडा गर्छन् । भैरवी निमार्ण त्यसैको एक रूप हो ।

हाम्रा मन्दिर वा पूजास्थल तयार गर्ने महर्षिहरू राजनीतिज्ञ थिएनन् । उनीहरू समाजको संरचना भन्दा आफूलाई पृथक् राख्थे । प्रायः एकान्तवास खोज्थे, भीडको प्रशस्ति खोजेर नाच्दैनथे । उनीहरू वर्षौं ध्यानस्थ हुन्थे । खोज्दैजाँदा एकान्त, पहाडका टुप्पा, हिमालका फेदमा प्रकृतिका पाँच तत्व (जल, अग्नि, वायु, आकाश, पृथ्वी) को समान प्रवाह भएका ठाउँ पत्ता लगाएर बस्थे ।

जुन प्राकृतिक ऊर्जाले भरिपूर्ण भएका ठाउँहरू हुन्थे । अनि ती ध्यानी भएका ठाउँमा कुनै न कुनै दिन मान्छेहरू पुगे । त्यहाँ पुग्दा मान्छेहरूले ऊर्जावान महसूस गरे । कालान्तरमा कतै मन्दिर बने त कतै यसै बिना मन्दिर पनि पूजा भइरह्यो । ती ठाउँ नै आजका मन्दिरहरू हुन् । यसरी बनेका हुन् ती शक्तिशाली मन्दिरहरू । कसैलाई उसको साम्राज्य विस्तार गर्न पर्‍यो, राजनीतिक फैलावट चाहियो र आएर मूर्ति बनाइदियो । त्यो मन्दिर हुनै सक्दैन । अनि यसरी बनेका मन्दिरहरूमा जानु, त्यस्तो अभियानमा सामेल हुनु धार्मिकता र आध्यात्मिकता हुँदै होइन ।

अंग्रेजीमा भन्दा राजनैतिक व्यक्ति फाइनाइट हो भने, धार्मिक व्यक्ति इनफाइनाइट हो । राजनैतिक व्यक्ति आफूलाई केन्द्र मानेर आफू वरवर सीमित मान्छे राखेर बसेको हुन्छ भने ईश्वरीय शक्ति केन्द्रमा भएर आफू परिधिमा भएको एक अनन्त प्रकाशमा छिरेको व्यक्ति धार्मिक हो ।

त्यसैले बुद्धले भनेको ‘अप्प दीपो भव’ र वेदले भनेको ‘अहं ब्रह्मास्मि’ को तहमा आफूलाई लिएर जाने कुरा राजनीतिबाजले गर्छ भने त्यो ढोंग हो । राजनीति समाजलाई देखाउन गरिन्छ र आध्यात्मिक बोध देखाउने कुरा नभएर आन्तरिक अनुभूति हो । हरेक व्यक्ति बोधयुक्त भएको समाजको राजनीति नैतिक हुन्छ नै, तर धर्मको राजनीतिले समाजलाई ढोंगी बनाउँछ । आजका हरेक युवाले यसको भेद बुझ्न जरुरी छ । जसले गर्दा भोलिका उम्रने समाजका बेर्नाहरू यही बोधको गुणवत्ता लिएर उम्रन सकुन् ।


प्रतिक्रिया

3 thoughts on “के धर्म र अध्यात्म फरक कुरा हुन् ?

  1. निकै उत्कृष्ट र प्रष्ट बुझिने गरि लेखिएको छ।

  2. केही कुरा चित्त बुजे धेरै बुजेनन देखाउनु,सिकाउनु,अभियान चाल्नु राजनिती र ब्यपार सबै परिप्रेक्षमा हुदैन। तपाइको रचना प्रकाशन,त्यो लेखाइ,तपाइको चिनारी राजनिती ब्यपार हो ? म नियमित सामुदायिक कुकुरलाइ भोजन गराएको फोटो पोस्ट्याउछु तर पुरस्कार,स्यबासी र तारिफको लागि होइन अरुले पनि प्राणिलाइ माया गरून् खान दिउन भन्ने प्रेरणा जागोस भनेर हो ।
    समग्रमा केही अति बिबादास्पद हरफ बाहेक लेखाइ उत्कृस्ठ लागो र केही हरफ नोट पनि गरे है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *