हरेक आत्महत्यामा मानसिक समस्या जिम्मेवार : प्रहरीसँग छैन कार्यविधि, अनविज्ञले नै गर्छन् परामर्श – Nepal Press

हरेक आत्महत्यामा मानसिक समस्या जिम्मेवार : प्रहरीसँग छैन कार्यविधि, अनविज्ञले नै गर्छन् परामर्श

आत्महत्या गर्नेले दिन्छन् पूर्वसंकेत

काठमाडौं । गत माघ १० गते ईलामका प्रेम प्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संसद भवन अगाडी आफैंलाई आगो लगाए । गम्भिर घाइते भएका आचार्यको भोलीपल्टै कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो झोस्नुअगाडि उनले सामाजिक संजालमा, एक दिनअघि मात्र विभिन्न व्यक्तीलाई इमेल गरेर पठाएको ६ हजार भन्दा बढी शब्दको ‘स्टाटस’ पोस्ट पनि गरेका थिए। तर प्रेमप्रसादको आत्महत्या प्रयासलाई कसैले टार्न सकेन । बरु, घटनापछि सोही स्टाटसलाई समाजले ‘सुसाइड नोट’का रुपमा ग्रहण गर्यो। यसले केही दिनसम्म तरङ्गहरु सिर्जना भए ।

देशभित्रै बसेर केही गर्छु भनेर लागी परेको एक युवा व्यवसायी नेपालका विभिन्न निकायबाट कुन हदसम्म हण्डर र मानसिक यातनाबाट गुज्रिन पर्छ, आचार्यले आफ्नो स्टाटसमा सविस्तार उल्लेख गरेका थिए । घटनाको केही समयसम्म प्रेम प्रसादलाई न्याय माग्दै देशका विभिन्न स्थानमा प्रदर्शनसमेत भए ।

आचार्यलाई आत्महत्यासम्म पुर्‍याउने व्यक्ति र संस्थामाथि कानूनी कारबाही माग गर्दै प्रहरीमा किटानी जाहेरीसमेत परेको थियो । आचार्यको परिवारको ‘चरम आर्थिक’ समस्या टार्न सहयोग अभियान समेत सन्चालन गरियो । आचार्य परिवारका लागि उल्लेखनीय मात्रामा आर्थिक सहयोग जुटेको विवरण पनि सार्वजनिक गरिए ।

त्यसबाहेक, सरकारले आचार्यले उठाएका मुद्दाहरुमा आवश्यक अनुसन्धान र सम्बोधन हुने आश्वासन पनि दियो । हाल त्यो आश्वासन अनुरुपको कारवाही कहाँ पुग्यो भन्नेतर्फ नेपाली ‘पब्लिक स्पेयर’ लाई खास्सै मतलब भएको देखिदैन । समय बित्दै जाँदा आमरुपमा घटना बिर्सिसकिएको अनुभव गर्न सकिन्छ । सरकारमाथि आवश्यक दबाब र खबरदारी शुन्य भएकाले त्यस अर्थमा बुझ्दा अन्यथा हुन्न ।

तर यस घटनाबाट बुझ्नैपर्ने एउटा पाठ जबर्जस्ती बेवास्ता भइरहेको देखिन्छ जसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन हामी गम्भिर छैनौँ भन्न गाह्रो छैन । त्यो भनेको मानसिक स्वास्थ्यको सघन बहस र आवश्यक सचेतना अभिवृद्धि । कतिसम्म भने मानसिक रोगीहरुप्रति कसरी व्यवहार गर्ने भन्नेसम्म पनि सरकारसँग स्पष्ट नीति र मार्ग निर्देशन छैन ।

आचार्य आत्मदाह प्रकरणमै उनले घटनाअघि आफू निकट केही व्यक्तिहरुलाई त्यसबारे पूर्वसंकेत गरेका थिए, इमेलमार्फत । इमेल प्राप्त भएपछि आचार्यको मानसिक अवस्थालाई लिएर ललितपुर प्रहरीलाई जानकारी गराइएको थियो ।

त्यस इमेलमार्फत प्राप्त गर्नेमध्ये एक थिए विवेकशील साझा पार्टीका नेता निर्देश सिलवाल पनि । उनैले प्रहरीलाई जानकारी गराएको घटनापछि सामाजिक सन्जालमा उल्लेख गरेका थिए । इमेलमा पठाइएकै आत्मलाप आचार्यले आफ्नो फेसबुकमा पनि पोस्ट गरेका थिए ।

अझै पनि सामाजिक संजालमा छ्यापछ्याप्ती रहेको उक्त आत्मलापमा कारणसहित मानसिक रुपमा आफू विक्षिप्त बनेको कुरा उल्लेख छ । जसमा उनले आफूलाई ६० लाख रुपैयाँको ऋण लागेको बताएका थिए ।

आचार्यले आफ्नी श्रीमतीले पनि आत्महत्या गर्ने प्रयास गर्न थालेको, आफूलाई त्यही आशयको मेसेज पठाउन थालेको उनी पनि डिप्रेस्ड भइसकेको कुरा पनि उल्लेख गरेका थिए ।

‘श्रीमती र म को पहिला सुसाइड गर्ने भन्ने साइलेन्ट प्रतिस्पर्धा चलिरहेकै अवस्थामा मैले नै यो चोला बिसाउने निर्णय गरेँ’, आचार्यले लेखेका थिए, ‘मलाइ बचाउने प्रयास कसैले नगर्नु होला । बाँची गएँ भने फेरि मर्ने नै छु । प्रहरीले पक्राउ गर्यो भने जेलमा नै आत्महत्या गर्नेछु । म क्रान्ति गर्दैछु ।’

उक्त इमेलबारे जानकारी प्राप्त भएलगत्तै प्रहरीले लोकेसन ट्र्याक गरी सादा पोशाकमा ३ प्रहरीसहित पठाएर सुन्धारामा आचार्यसँग भेटघाट गरेको थियो । प्रहरीका अनुसार आचार्यलाई २ घण्टासम्म सम्झाई बुझाई गरेर उनीहरु फर्किएका थिए ।

‘हामीलाई खबर आएपछि ट्र्याक गरेर सम्पर्क गरी सम्झाई बुझाई गर्छौँ । तर त्यसका लागि जो उपलब्ध छन् उसैलाई पठाउने हो । हामीसँग त्यस्तो छुट्टै जनशक्ति छैनन्’, केन्द्रीय साइबर ब्युरोका प्रवक्ता पशुपती राय भन्छन् ।

प्रहरीले ब्रह्मले भ्याएसम्म आचार्यलाई सम्झाई बुझाई गरेर छाडेका थिए ।

मानिसले आफ्नो जीवन समाप्त पार्नेबारे सोच्ने भनेको अन्तिम अवस्था हो । जीवन र जगतमा वा आफ्ना वरपर कुनै पनि सम्भावनाको किरणहरु नहुँदा मानिसले आत्महत्याको भयानक अवस्थालाई स्वीकार्ने गरेका विभिन्न तथ्यहरु छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा २५ प्रतिशतभन्दा बढीमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको छ ।

आत्महत्या गरेका व्यक्तिहरुको पछाडि मानसिक समस्या देखिएको हुन्छ । विशेषगरी डिप्रेसनको सिभियर अवस्थामा पुगेकाहरुले आत्महत्या गर्ने गरेको देखिन्छ । तर नियमित परामर्श र औषधि सेवनले यी अवस्थालाई नियन्त्रण गर्न सकिन्छ ।

मनोवैज्ञानिकहरुका अनुसार व्यक्तिले आत्महत्या गर्नुपूर्व आफ्ना वरपरका मानिसहरुलाई पूर्वसंकेतहरु देखाउने वा भन्ने गर्छन् । जस्तै, ‘अब धेरै बाँचिदैन’, ‘म बाँचेर के गर्नु’, ‘सबै सक्कियो अब केही बाँकी छैन’, ‘मेरो लागि कोही छैन वा मलाई बुझ्ने कोही छैन’, ‘भविष्यमा अब केही गर्न सक्दिनँ’, ‘म हाँरे’ जस्ता शब्दहरु आफ्ना आफन्त साथीभाइमाझ उनीहरुले प्रस्तुत गरेका हुन्छन् ।

रामप्रसादले पठाएको इमेल पनि आत्महत्याको पूर्वसंकेत थियो । जसलाई सही तवरले विज्ञको मद्दतबाट नियमित औषधि एवम् परामर्श गरेको खण्डमा यस्तो नियति भोग्नुपर्ने अवस्था आउने थिएन ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार २०७९ पुस ६ देखि २०७९ चैत २५ गतेसम्ममा आफूलाई हानी पुर्‍याउने वा आत्महत्या गर्ने अभिप्रायका साथ सामाजिक संजालमा पोस्ट गर्ने अथवा सामाजिक संजालमार्फत प्रहरीलाई जानकारी भएका सम्बन्धी १० वटा घटनाहरु दर्ता भएका छन् ।

तथ्यांकअनुसार यस किसिमको सम्भावित खतरामा रहेका व्यक्तिहरुको जीवन रक्षाका लागि प्रहरीले अपनाएको प्रक्रियामा कतै पनि ति व्यक्तिहरुलाई विज्ञहरुमार्फत मनोपरामर्श गराईएको पाइदैन । साइबर ब्यूरोका प्रवक्ता रायका अनुसार त्यस्ता घटनामा प्रहरीले अगाडी बढाउने विधि तथा प्रक्रिया भनेकै ‘रेस्क्यु अप्रेशन’ हो । ‘तत्कालका लागि उद्दार गरेर आफन्तको जिम्मा लगाउने हो’, उनी भन्छन् ।

मानसिक स्वास्थ्यको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत ‘मनोपरामर्शदाता’ पार्वती श्रेष्ठका अनुसार अनविज्ञ मानिसले दिएको परामर्शले जोखिममा रहेका व्यक्तिहरुकाे जीवन रक्षामा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दैन । नेपाली समाजमा व्याप्त रहेको ‘सम्झाई बुझाई ’ भन्ने टर्मिनोलोजी अर्थहिन रहेको उनको भनाई छ ।

नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा पछिल्ला दिनमा आत्महत्या तथा आत्महानीका घटनाहरु बढ्दो क्रममा रहेको देखिन्छ । तथ्यांकअनुसार आव २०७४/७५ नेपालभरबाट आत्महत्याको बाटो रोज्नेहरुको संख्या ५ हजार ३५९ रहेको छ भने आव २०७५/७६ मा यो संख्या ५ हजार ७८५ पुगेको छ ।

यस्तैगरी, आव २०७६/७७ मा यो संख्या ६ हजार २५२ पुगेको उल्लेख छ भने आव २०७७/७८ मा आत्महत्याका कारण मृत्युहुनेको संख्या ७ हजार १४१ पुगेको प्रहरीको रिपोर्ट छ आव २०७८/७९ मा आत्महत्या गर्नेहरुको संख्यामा तुलनात्मक रुपमा झिनो गिरावट आएतापनि ६ हजार ८३० जनाले ज्यान गुमाएको तथ्यांकले बताउँछ ।

जोन हप्किन्स युनिभर्सिटीले सन् २०१४ मा गरेको एक अनुसन्धानका अनुसार कुनै समय आत्महत्याको प्रयास गरेका ५ हजार व्यक्तिहरुलाई ट्र्याक गरेर दिएको परामर्शले आत्महत्याको दरमा २७ प्रतिशतले कमी आएको थियो । विज्ञहरुले दिएको उक्त मनोसामाजिक परामर्श १० वर्षसम्म पनि प्रभावकारितालाई ट्र्याक गर्दा पनि सकरात्मक नतिजा रहेको रिपोर्टमा उल्लेख छ ।

आत्महत्याको बाटो रोज्ने व्यक्तिहरुलाई कुनै न कुनै किसिमको मानसिक तनाव रहेको अनुमान गर्न सकिने मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् ।

नेपाली समाजमा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्यालाई पागलपन भनेर बुझिने परिपाटी रहेको कारण पनि मानसिक रोगीहरुको पहिचान र उपचारमा समस्या आउने गरेको उनीहरुको भनाई छ ।

मानसिक समस्या भन्दा बित्तिकै पूर्ण रुपमा मानसिक सन्तुलन गुमाउनु हो भनेर बुझिनु अत्यन्तै ठूलो विडम्बना रहेको दुबईमा कार्यरत कगनेटिभ बिएभोरिएअल थेरापी (संज्ञानात्मक व्यवहार थेरापी) तथा रिप्रोसेसिङ थेरापी विज्ञ डा. इरा नाइम बताउँछिन् ।

नाइमका अनुसार पूर्ण रुपमा मानसिक सन्तुलन गुमाउनु भनेको मानसिक स्वास्थ्य समस्याको एउटा मात्र अवस्था हो । त्यसलाई मेडिकलको भाषामा ‘सिजोफ्रेनिया’ भनिने गरिन्छ ।

सिजोफ्रेनिया बाहेकका पनि धेरै मानसिक समस्या हुने र त्यसको समाधानका निमित्त विज्ञहरुको सहयोग तथा परामर्श लिनु अत्यन्तै आवश्यक हुने नाइमको भनाई छ ।

यस्तो छ काउन्सेलर पार्वती श्रेष्ठको भनाई

कुनै पनि व्यक्तिले आफैंलाई हानी गर्ने प्रयास गरेको छ वा सो कुरा जनाएको छ भने सर्वप्रथम हामीले बुझ्नुपर्ने कुरा के हो भने सो व्यक्ति अत्यन्तै गम्भीर मानसिक तनावसँग जुधिरहेको छ । कुनै पनि समस्याको समाधानका लागि अन्य कुनै विकल्प नदेखेपछि मानिसले आफैंलाई हानी गर्नेबारे सोच्ने हो ।

तर यस किसिमको परिस्थितिमा हाम्रो समाजमा सो व्यक्तिले ‘एटेन्शन सिक’ गरिरहेको छ भनेर बुझ्दिने परिपाटी व्याप्त छ जुन अत्यन्तै गलत हो । यस किसिमको समस्या वा परिस्थितीको समाधान गर्न छुट्टै विधि तथा प्रक्रिया हुन्छन् । जसमध्ये मनोपरामर्श एक हो । यसबाहेक मानसिक तनाव वा मानसिक स्वास्थ्यसँग सम्बन्धित परिस्थितिमा आम मानिसले प्रयोग गर्दै आएको अर्को ‘टर्मिनोलोजी’ भनेको सम्झाई बुझाई हो ।

जसमा कुनै पनि अनविज्ञ मानिसले मानसिक अस्वथ्यताको कारण वा भनौ मानसिक तनावको कारण आफैंलाई हानी पुर्याउने सोचिरहेको व्यक्तिलाई तिमीले यसो गर्नु हुँदैन, आफ्नो जिम्मेवारीलाई बुझ्नु पर्छ, परिवारको बारेमा सोच्नुपर्छ लगायतका कुराहरु गर्ने गर्छन् ।

यसले मानसिक रोगीको समस्या न्यूनीकरण तथा समाधान गर्नका निमित्त खासै महत्वपूर्ण भूमिका खेल्दैन एउटा अनविज्ञ मान्छेले मानसिक समस्या भोगिरहेको मानिसलाई सम्झाई बुझाई गर्छु भनेर लाग्नु नै गलत हो ।

मानसिक तनावसँग जुधिरहेको व्यक्तिलाई यी सब कुराहरु पहिला देखि नै थाहा हुन्छ । यी यावत कुराहरु थाह हुँदाहुँदै पनि कुनै समाधानको बाटो नदेखेर नै कोही व्यक्तिले आत्महत्या वा आत्महानीको बारे सोच्ने हो ।

तसर्थ यस किसिमको परिस्थितिमा आम मानिसले गर्न सक्ने कुरा के हो भने मानसिक तनावसँग जुधिरहेको व्यक्तिको कुरा तठस्थ रहेर सुनिदिने र विज्ञको सहयोग लिनका निमित्त सहजीकरण गर्दिने । यसबाहेक आफैंलाई हानी गर्ने सम्भावना बोकेका व्यक्तिहरुको साथ नछोड्ने पनि एउटा सही ‘अप्रोच’ हुन सक्छ ।

आत्महत्या आत्महानी गर्ने सोचिरहेका धेरै मानिसहरु मानसिक साथ साथै सामाजिक तनावको पनि सामना गरीरहेका हुन्छ यस् सन्दर्भमा भने आर्थिक, व्यवहारिक, पारिवारिक सहयोग जुटाउन दोस्रो व्यक्तिले पहल गर्न सक्छ ।

धेरै मानिसले सम्झाई बुझाई गर्ने बहानामा मानसिक रोगीलाई यसो गर्नु हुन्न भनेर भन्ने गरेको पाइन्छ तर खासमा उसले कसरी आफूलाई हानी पुर्याउने सोचिरहेको छ भन्ने पनि सोध्नु आवश्यक हुन्छ यसले जोखिम न्यूनिकरणमा मद्दत गर्न सक्छ ।

मानसिक अस्वस्थताको कारण आफैंलाई हानी गर्ने वा अरुलाई हानी गर्न सक्ने सम्भावित खतरामा रहेका व्यक्तिहरुलाई ‘ह्याण्डल’ गर्न नेपाल प्रहरीले कुन अप्रोच फलो गर्छ भन्ने मलाई जानकारी छैन तर यस् किसिमका परिस्थितिमा अनविज्ञ व्यक्तिहरुले ‘थ्रेट’मा रहेका व्यक्तिलाई सम्झाई बुझाई गर्ने गर्छन् भने त्यो गलत अप्रोच हो जस्तो लाग्छ ।

प्रहरीले के गर्नु पर्छ ?

प्रहरीले आफ्नो संयन्त्रलाई विभिन्न तवरले तयार राख्नुपर्छ । आत्महत्याको पछाडि मानसिक समस्या नै प्रमुखरुपमा जोडिएर आएको तथ्यलाई गम्भीर रुपमा लिँदै प्रहरीले मनोपरामर्शदाताको व्यवस्था गर्न अपरिहार्य हुन्छ । जसका लागि प्रहरी संयन्त्रले आफ्ना योग्य जनशक्तिलाई ६ महिने तालिम दिने जसले साधारण किसिमको परामर्श गर्न सक्छन् ।

दोस्रो मानसिक स्वास्थ्य क्षेत्रमा कार्य गर्ने संस्थामा आवद्ध दक्ष र सीपमूलक जनशक्ति विज्ञहरुलाई आवश्यक परेको खण्डमा प्रयोग गर्ने पनि विकल्प रहेको हुन्छ । अर्को भनेको विभिन्न क्षेत्रमा यससम्बन्धी जनचेतना अभिवृद्धिका लागि पनि प्रहरीले भूमिका खेल्न सक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *