बागमती : कांग्रेसको आन्तरिक कलहले सरकार विस्तारमा ढिलाइ, बहादुरले समन्वय नगरेको गुनासो – Nepal Press

बागमती : कांग्रेसको आन्तरिक कलहले सरकार विस्तारमा ढिलाइ, बहादुरले समन्वय नगरेको गुनासो

हेटौँडा । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक कलहको कारण बागमती प्रदेश सरकार विस्तारमा समस्या सिर्जना भएको छ । गत चैत्र १० गते पुनः विश्वासको मत लिएर सरकार विस्तारको अभियानमा रहेका जम्कट्टेलले ३७ दिन बित्दासमेत कांग्रेसको साथ नपाएपछि बजेट तर्जुमाको महत्त्वपूर्ण समयमा बागमती प्रदेश सरकारको ५ वटा मन्त्रालय मन्त्रीविहीन बन्न पुगेका छन् ।

सरकारमा कांग्रेसले माग गरेको ६ वटा मन्त्रालयको विषयमा सहमति नजुट्दै कांग्रेस संसदीय दलका नेता बहादुर लामाले तीर्थ लामालाई लिएर सरकारमा चैत्र २६ मा सहभागी भइसकेका छन् । बहादुरले आफूनिकटलाई मात्र च्यापेको भन्दै कांग्रेसीहरू नै असन्तुष्ट छन् । आफ्नै पार्टीका मान्छे मन्त्री हुँदा आफू बेखबर भएको उनीहरूको गुनासो छ । 

२६ चैतमा उनी आर्थिक मामिला मन्त्री तथा तीर्थ लामा खानेपानी, ऊर्जा सिँचाइमन्त्री बनेका थिए । 

मन्त्रिमण्डल विस्तारबारे कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारलाई जिज्ञासा राख्दा उनले आफूलाई यसबारे कुनै जानकारी थाहा नभएको बताए । 

सरकारमा मन्त्री पठाउन कांग्रेसले किन ढिला गरिरहेको छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले आफूलाई सरकारबारे कुनै जानकारी नभएको र यो विषय दलका नेतालाई सोधेर आफूलाई पनि जानकारी गराइदिन आग्रह गरे ।

संसदीय दलका नेता बहादुरसिंह लामालाई पटक-पटक सम्पर्क प्रयिास गर्दा भने फोन उठेन । 

संसदीय दलको नेता चयनको समयमा नियमित सम्पर्क भएपनि त्यसपछि भेट हुनै छाडेको एक सांसदको भनाई छ ।

उनले भने ‘उहाँमा दलको नेता बन्नु पहिले र अहिलेमा आकाश जमिनको फरक आएको छ, यस्तो तालले कसरी संसदीय दल चल्छ ?’

सरकारमा कांग्रेसले चाहेको ६ मन्त्रालय हो । तर, मुख्यमन्त्री जम्कट्टेल ५ भन्दा बढी दिन नसकिने बताउँछन् ।

मुख्यमन्त्री जम्कट्टेलले भने, ‘अहिलेको सरकार गठबन्धनको सरकार हो, केन्द्रको स्प्रिटअनुसार हामीले यहाँ काम गर्नुपर्छ, गठबन्धनमा रहेका सबै दललाई मिलाएर लैजानुपर्ने दायित्व छ, एउटै दलले आधाभन्दा बढी मन्त्रालय दाबी गर्दा कसरी सबैलाई समेटेर लैजान सकिन्छ र ?’

११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल मुख्यमन्त्रीसहित ४ मन्त्रालय माओवादी केन्द्रको हातमा छ भने कांग्रेसले २ मन्त्रालय लिएको छ । बाँकी रहेको ५ मन्त्रालयमा कांग्रेसले थप ४ वटा दाबी गरेको भने एकीकृत समाजवादीले ३ तथा हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेको छ ।

बागमतीमा हाल नेपाली कांग्रेसको ३७ जना, नेकपा एमालेको २७ जना, नेकपा माओवादी केन्द्रको २१ जना, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ तथा हाम्रो नेपाली पार्टीको २ जना सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर