कोर एरिया मानेको जनमतले महागढीमाईबाट मतान्तर घटायो, गन्न बाँकी पचरौताले के गर्ला ? – Nepal Press

कोर एरिया मानेको जनमतले महागढीमाईबाट मतान्तर घटायो, गन्न बाँकी पचरौताले के गर्ला ?

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यका लागि बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले बाजी मार्ने सम्भावना बढेको छ ।

महागढीमाई नगरपालिकामा अपेक्षा अनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मत ल्याउन नसक्दा जसपा अध्यक्ष समेत रहेका उम्मेदवार यादव बाजी मार्ने सम्भावना बढेको हो ।

महागढीमाई नगरपालिकामा जनमतका उम्मेदवार कुशवाहाले करिब ३ हजार मतान्तर मात्र घटाउन सके । अहिले प्राप्त परिणाम अनुसार जसपा उम्मेदवार यादव अब मात्र करिब २५ सय मतले लिड गरिरहेका छन् ।

महागढीमाई नगरपालिकाको मत गणना सुरु गर्नुअगाडि उम्मेदवार यादव साढे ५ हजारले लिड गरेका थिए । यो पालिकाको मतगणना सक्दासम्म मतान्तर लगभग नरहने अनुमान जनमत पार्टीका नेताहरुको थियो । तर त्यसो हुन सकेन् ।

महागढीमाईको सबै वडाको मत गणना भइसक्दा उम्मेदवार यादव अझै २५ सय मतले लीड गरिरहेका छन् ।

अब पचरौताको ९ वटा वडाको मत मात्र गणना गर्न बाँकी छ । यहाँको दुई वटा वडामा जसपा उम्मेदवार यादवले राम्रो मत ल्याउने र अन्य ७ वडामा जनमतले राम्रो मत ल्याउने दावी गरेका छन् ।

तर मतान्तर २५ सयको रहेकाले जनमत पार्टीका उम्मेदवार जित्न सबै वडामा साढे तीन सयको हाराहारीमा बढी मत ल्याउनुपर्ने छ । त्यो अबस्था भने नरहेको जनमतका एक नेताले बताए । उनले गरेको निराशाजनक कुराले पनि जसपा अध्यक्ष यादव जित्ने सम्भावना बढेको देखिएको छ ।

जसपा अध्यक्ष यादवलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपाको समर्थन पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर