बेलबास-बेथरी सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न स्थानीयकाे माग – Nepal Press

बेलबास-बेथरी सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न स्थानीयकाे माग

रुपन्देही । रुपन्देहीको बेलबास-बेथरी सडक निर्माण लामो समय अलपत्र पारेपछि स्थानीयले ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही माग गरेका छन् ।

स्थानीयले संघर्ष समितिसमेत बनाएका छन् । उक्त समितिले प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारअन्तर्गतको सडक विकास पूर्वाधार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै हालको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन माग गरेको छ ।

संघर्ष समितिका संयोजक विजय ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सडक समयमा पूरा नहुँदा खाल्डाखुल्डी र दुर्घटनामा परेर ४ जनाको ज्यान नै गएकाले तत्काल सडक पूरा गराउन माग गरेको छ ।

बुटवलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्म २१ किलोमिटर सडक विस्तारका लागि २०७३ सालबाट ठेक्का सम्झौता भई काम अघि बढेको थियो । तैपनि बेताहानीदेखि नहरपुरसम्मको सडक खण्ड पीच भएको छैन ।

चार लेन सडक निर्माणका लागि तीन प्याकेजमा गरी एक अर्ब ६७ करोडमा ठेक्का भएको थियो । दक्षिणतर्फका दुई वटा प्याकेजको काम सम्पन्न भइसकेको तर, उत्तरतर्फको खण्ड अझै पूरा हुन नसक्दा दुर्घटनाको जोखिम बढेको र सवारीसाधन चलाउन कठिन भएको संघर्ष समिति संयोजक ढकालले बताए ।

२०७६ असार मसान्तसम्म सम्पन्न गर्नेगरी बुटवल-बेतानी साढे ८ किलोमिटर प्याकेजको निर्माण गर्ने ठेक्का बज्रगुरु कान्छाराम जेभीले लिएको थियो । तर, उसले विगत ४ वर्षदेखि ठेक्का सम्झौता लगातार थप्ने काममात्र भएको हुँदा कालोसूचीमा पारी नयाँ ठेकेदारलाई जिम्मा दिन माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सडक विकास कार्यालयका प्रमुख लालु गिरीले संघर्ष समितिका माग जायज भएको भन्दै माग सम्बोधन गर्न र समस्या समाधानमा आफूहरुले सक्दो पहल गर्ने बताएका संघर्ष समितिका संयोजक ढकालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *