कर्णालीको आन्तरिक उडान केन्द्रको विमानस्थलमा रूपान्तरण गरिनेछ : मुख्यमन्त्री कँडेल – Nepal Press

कर्णालीको आन्तरिक उडान केन्द्रको विमानस्थलमा रूपान्तरण गरिनेछ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारमा आउने बित्तिकै सबै परिवर्तन नहुने बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै कँडेलले अरूले भनेको र देखेको जसरी सरकारमा आउने बित्तिकै परिवर्तन नहुने बताए ।

मुख्यमन्त्री कँडेलले चलिरहेका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।

विगतमा चलेका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै मुख्यमन्त्री कँडेलले भने,‘स्थानीय तहको आफ्नै कार्यालयहरू छन् त्यहाँ मार्फत कार्यक्रम पठाउन भन्दै आएको छु । असार नजिकिँदै गर्दा बजेट माग्न जिल्ला जिल्लाबाट मन्त्रालय धाउने क्रम सुरु हुने गरेको छ । कसैले निवेदन ल्याएर नआए हुन्छ । सिधै प्रदेश सभा पठाए हुन्छ ।’

मुख्यमन्त्री कँडेलले यस अघिका सरकारले सञ्चालनमा ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन् । सरकार अविच्छिन्न उत्तराधिकारी संस्था पनि भएकाले विगतका कार्यक्रमको निरन्तरता र प्रदेशको आवश्यकता अनुसारका केही नयाँ कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

प्रदेश सरकारको ६ वर्षको लगानी भएकाले काम भइरहेका योजनालाई अलपत्र छाड्न नसकिने उनले भने, ‘५० प्रतिशत काम भएका योजनालाई समयमा सक्ने गरेर अगाडि बढ्ने छौँ । संघीय सरकारलाई कर्णाली र भेरी करिडोर कालिकोटदेखि मुगुको नाङ्चेनाङ्ला सडकलाई स्तरोन्नति र संरचना निर्माण योजनालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गदै आएको छु । साथै, कोहलपुर–सुर्खेत सडक फोर ल्यान्ड बनाउन र सुर्खेत विमानस्थल विस्तार गर्नका लागि पनि प्रदेशसँगै संघीय सरकारले हिस्सा लियो भने प्रदेशले पनि लिन्छ । संघीय सरकारलाई अनुभूति र महसुस गराउने प्रयासमा छु ।’

सुर्खेतको विमानस्थलको स्तरोन्नति र विस्तार गरेर कर्णालीको आन्तरिक उडान केन्द्रको विमानस्थलमा रूपान्तरण गर्नुपर्ने मुख्यमन्त्री कँडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर