प्रकाश सपूत र देवी घर्तीको स्वरमा ‘हल्कारा’ को मार्मिक गीत, ‘सकम्बरी’भन्दा कम छैन ! (लिरिक्ससहित) – Nepal Press

प्रकाश सपूत र देवी घर्तीको स्वरमा ‘हल्कारा’ को मार्मिक गीत, ‘सकम्बरी’भन्दा कम छैन ! (लिरिक्ससहित)

काठमाडौं । ‘सकम्बरी’ को आँधी शान्त नहुँदै गायक प्रकाश सपूतको अर्को मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । यो गीत भने चलचित्र ‘हल्कारा’ को हो ।

विक्रम सापकोटा निर्देशित चलचित्र ‘हल्कारा’ले मौलिक शैलीको पोस्टरबाट धेरैको ध्यानाकर्षण गरेको थियो । पहिलो गीतले चलचित्रप्रतिको कौतुहल अझै बढाइदिएको छ । यस गीतमा शब्द र संगीत पनि प्रकाश सपूतकै छ । गायनमा उनलाई देवी घर्तीले साथ दिएकी छन् ।

विरही भाकामा गाइएको यस गीतका प्रत्येक शब्दहरु मन छुने खालका छन् । संगीत उस्तै कर्णप्रिय छ । प्रकाश र देवीले दिलैबाट गाएका छन् यो गीत । उनीहरुको आवाजको कमेस्ट्री खुब मिलेको छ ।

गीत-संगीत र स्वर तीनै पक्षले दर्शक/स्रोतालाई एकपटकमै लठ्याउँछ । यो गीतको भिडियो पनि कलात्मक बनाइएको छ । भिडियोमा दृश्यभन्दा तस्वीरहरुको प्रयोग बढी छ । प्रमुख कलाकारका रुपमा महेश त्रिपाठी र विनिता थापामगर देखिएका छन् । खासगरी विनिताको चरित्रलाई एकदमै सशक्त ढंगले पेश गरिएको छ । चलचित्रको कथा वैदेशिक रोजगारीको कहरमाथि आधारित रहेको अनुमान गर्न सकिन्छ ।

चलचित्र ‘हल्कारा’ आउँदो वैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

गीतको लिरिक्स यस्तो छः

गुडी गयो मोटर गाडी उडी गयो चील
उड्ने गुड्ने भन्दा अझै टाढा पुग्यो दिल
जीवन कठैबरी
माया एकछिनलाई झल्को सधैंभरि

बाटैमुनि बाँस पलायो, बाटैमाथि घाँस
जुन मायाको भरै छैन त्यही मायाको आशा
जीवन कठैबरी
माया एकछिनलाई झल्को सधैंभरि

नूनै नाप्ने मानापाथी सुनै नाप्ने तोला
जिन्दगीको सुख दुःख क्यारी नाप्ने होला
जीवन कठैबरी
सुख एकैछिनलाई दुःख सधैंभरि

आँसी राख्ने खुर्पेटोमा बञ्चरोलाई काँध
मन उर्लेर कोशी भयो कल्ले लाउला बाँध
जीवन कठैबरी
सुख एकछिनलाई दुःख सधैंभरि
सुख एकछिनलाई दुःख सधैंभरि

अधुरै छ मनको रहर कहिले पूरा होला
होला होला भन्दाभन्दै जाने हो कि चोला
जीवन कठैबरी
हाँसो एकछिनलाई आँसु सधैंभरि

फूल त फुल्यो रंग छैन छैन बास्ना पनि
धेरै आँसु तिरेकी छु थोरै हाँस्दा पनि
जीवन कठैबरी
हाँसो एकछिनलाई आँसु सधैंभरि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर