ब्रेन स्ट्रोकका कारण क्रिकेट छाड्नुपर्‍यो, अहिले कमेन्ट्रीमै रमाइरहेको छु : परेश लोहनी (भिडिओ) – Nepal Press
नेपाल टक

ब्रेन स्ट्रोकका कारण क्रिकेट छाड्नुपर्‍यो, अहिले कमेन्ट्रीमै रमाइरहेको छु : परेश लोहनी (भिडिओ)

‘लियोनार्दसँग कमेन्ट्री गर्दा समय बितेको पत्तै हुँदैन’

काठमाडौं । नेपाली क्रिकेटलाई विगतदेखि पछ्याउनेहरुका लागि परेश लोहनी परिचित नाम हो । उनले लामो समय नेपाली राष्ट्रिय क्रिकेट टीमको ओपनिङ ब्याट्सम्यानको भूमिका निभाए ।

उनी अहिले पनि नेपाली क्रिकेटसँग जोडिएकै छन् । तर, फरक भूमिकामा । खेलाडीबाट उनी कमेन्टेटर बनेका छन् । विस्तारै नयाँ पुस्ताले उनलाई कमेन्टेटरको रुपमा चिन्न थालेको छ ।

नेपालले विश्वकप लिग-२ का अन्तिम १२ खेलमा अपत्यारिलो प्रदर्शन गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता ‘रिटेन’ र विश्वकप छनोटमा स्थान बनाउँदा ‘कमेन्ट्री बक्स’मा थिए परेश । उनलाई आफ्नो उत्साह लुकाउन कठिन भइरहेको थियो । आफूले क्रिकेट खेल्दा जुन सपना देखेका थिए, अहिले नेपालको क्रिकेट त्यही यात्रामा छँदा उनको खुशीको सीमा छैन ।

परेशको खेलाडी जीवन हठात अन्त्य भएको थियो । सन् २०१८ मा ब्रेन स्ट्रोकको शिकार भएपछि उनले क्रिकेट खेल्न सकेनन् । तर, क्रिकेटबाट टाढिन पनि सकेनन् । फलतः उनी खेलाडीबाट कमेन्टेटर बन्न पुगे । परेश मंगलबादेखि सुरु हुने एसीसी प्रिमियर कपको पनि कमेन्ट्री गर्ने तयारीमा छन् ।

कमेन्ट्री बक्सबाट हरेक खेलाडीहरुलाई नजिकबाट नियालिरहेका परेश लोहनीसँग नेपाली क्रिकेटको विगत, वर्तमान र भविष्य तथा उनको आफ्नै अनुभवको सेरोफेरोमा गरिएको कुराकानीः

– कुनै समय राष्ट्रिय टीमको ओपनर हुनुहुन्थ्यो । अहिले कमेन्टेटरका रुपमा चिनिनुभएको छ । खेलाडीबाट कमेन्टेटरमा कसरी मोडिनुभयो ?

म सन् २०१७ सम्म ‘सिन’ मै थिएँ । सन् २०१२ मा नेपालका लागि अन्तिम पटक खेले पनि घरेलु क्रिकेटमा मेरो सक्रियता कायमै थियो । तर, सन् २०१८ मा मलाई ब्रेन स्ट्रोक भयो । शरीरको दायाँ भाग सेमिप्यारालाइज्ड भयो । दायाँ खुट्टा र दायाँ हातमा समस्या देखियो । १९ दिन अस्पताल बस्नुपरेको थियो ।

त्यसपछि एक महिना फिजियो गरें । अलि सञ्चो भयो । तर, चिकित्सकले ४-५ वर्ष क्रिकेट नखेल्न सल्लाह दिनुभयो । त्यही कारण मैले चाहेर पनि, रहर भएर पनि क्रिकेट खेल्न सकिनँ । तर, क्रिकेटभन्दा बाहिर मेरो केही थिएन । यो त मेरो प्यासन नै भयो । सन् २०१७ मा भएको एभरेस्ट प्रिमियर लिगकै बेला मलाई आमिर अख्तरले कमेन्ट्री गर्न प्रस्ताव गरे ।

क्रिकेट कमेन्ट्री भनेपछि मैले नकार्ने कुरै भएन । त्यतिबेला हो, मैले पहिलोपटक कमेन्ट्री गरेको । क्रिकेटमा जोडिइरहन कमेन्ट्री मेरा लागि बलियो विकल्प थियो । त्यसो त मैले प्रशिक्षणका लागि पनि फ्रेन्चाइज लिगमा अप्लाइ गरेको थिएँ । तर, अवसर पाइनँ । मैले त्यसपछिका एभरेस्ट प्रिमियर लिग संस्करणहरुमा कमेन्ट्री गर्ने अवसर पाएँ । सन् २०२१ मा मैले एभरेस्ट प्रिमियर लिगमा विश्व चर्चित भारतीय कमेन्टेटर चारु शर्मासँग सहकार्य गर्ने मौका पाएँ । उनीसँग कमेन्ट्री गर्दा धेरै कुरा सिकें । त्यसपछि नियमितजसो कमेन्ट्री गरिरहें । प्राइम मिनिस्टर कप र पोखरा प्रिमियर लिगमा पनि कमेन्ट्री गरें ।

घरेलु फ्रेन्चाइजमा पूरा प्रतियोगिताभर कमेन्ट्री गरेको ३०-४० हजार नेपाली रुपैयाँ दिइन्छ । त्यसैले प्रतिम्याच डे २ सय डलर पाउनु भनेको गुड मनी हो नि !

गत नोभेम्बरमा नेपाल क्रिकेट संघले नेपाल र यूएईबीच हुन लागेको एक दिवशीय श्रृंखलाका लागि कमेन्ट्री गर्न प्रस्ताव गर्‍यो । मैले ‘ह्वाइ नट’ भनें । पछि जिम्बावेको टोली नेपाल आउँदा पनि कमेन्ट्री गर्ने अवसर प्राप्त भयो । यही बीचमा मेरो कमेन्टेटर एन्ड्रियु लियोनार्दसँग राम्रो सम्बन्ध बन्यो । विश्वकप लिग-२ का लागि मैले पाएको अवसरमा उनले सहयोग गरे । आईसीसीले पनि क्रिकक्लबलाई प्रशारण अधिकार दिएको छ । क्रिकक्लबले मेरो र एन्ड्रियुको नाम सिफारिस गरेपछि त्यो अप्रुभ भएर मैले काम गर्न पाएको हुँ ।

– यदि भन्न मिल्छ भने तपाईंले कमेन्ट्री गरेबापत कस्तो पारिश्रमिक पाइरहनुभएको छ ?

विश्वकप लिग-२ मा क्रिकक्लबले मलाई प्रति ‘म्याच डे’ अनुसार पैसा दिएको थियो । प्रतिम्याच डे २ सय अमेरिकी डलर दिइएको थियो ।

मलाई चित्तबुझ्दो नै लाग्यो । घरेलु फ्रेन्चाइजमा पूरा प्रतियोगिताभर कमेन्ट्री गरेको ३०-४० हजार नेपाली रुपैयाँ दिइन्छ । त्यसैले प्रतिम्याच डे २ सय डलर पाउनु भनेको गुड मनी हो नि !

– नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता प्राप्त गर्न नसकिरहेको अवस्थामा तपाईं नेपाली टोलीमा हुनुहुन्थ्यो । भविष्यमा नेपालले एक दिवसीय खेल्ला र आफूले कमेन्ट्री गरौंला भन्ने सोच्नुभएको छ ?

म बच्चादेखि नै क्रिकेटमा एसोसिएट थिएँ । क्रिकेटको क्रेज मेरो बाल मस्तिष्कमै थियो । मेरो मावलको हजुरबुबा डा. कल्याणमणि आचार्य दीक्षितले मलाई क्रिकेट सिकाउनुभएको हो । नेपालमा क्रिकेट सुरु गर्नेमध्ये एकजना हुनुहुन्छ उहाँ । गैह्रीधारामा रहेको उहाँहरुको घरमै क्रिकेट खेल्न मिल्ने थियो । ५-६ वर्षको उमेरमा मैले क्रिकेटको रुल सिकिसकेको थिएँ । त्यति बेलै मेरो क्रिकेट लाइफ जस्तो भइसकेको थियो ।

क्रिकेटको एउटा किताब थियो । जहाँ ब्याटिङ र बलिङ कसरी गर्ने भनेर लेखिएको हुन्थ्यो, त्यो म पढ्थें । केही बुझिनँ भने हजुरबालाई सोध्थें । उहाँहरुले मलाई बुझाउनुहुन्थ्यो । अहिले सोच्दा लाग्छ, म हजुरबा र सेल्फ मोटिभेसनकै कारण क्रिकेट क्रेजी बन्दै थिएँ । हजुरबा भन्नुहुन्थ्यो- इफ यू लभ दिस गेम, यू प्ले (यदि यो खेललाई माया गर्छौं भने खेल) । आई लभ्ड क्रिकेट । यही कारण ५-६ वर्षदेखि नै क्रिकेट खेल्न थालिसकेको थिएँ । पछि खेलिञ्जेल खेलियो । यही नै बन्छु भन्ने थिएन ।

जेफ्री ब्वाइकट र टोनी ग्रेगहरुको कमेन्ट्री सुन्दा बहुत मज्जा आउँथ्यो । उनीहरुको कमेन्ट्री सुनेर त्यो गेम कसरी भइरहेको होला भनेर कल्पना गर्दै एक्साइटमेन्ट हुन्थ्यो । कमेन्ट्रीअनुसार गेम भिजुअलाइज हुने हो । उनीहरुले के बोलिरहेका छन् भन्दा पनि गेम आफैं भिजुअलाइज हुन्थ्यो ।

कमेन्ट्री गर्ने रहर भएकाहरुले रमाइलो पारामा गरिरहेको देखिन्छ नि, त्यो पनि मेरो हकमा कहिल्यै भएन । तर, हाम्रो सम्भावना चाहिँ थियो । हामीसँग क्षमता थियो । तर, सपोर्ट थिएन । कर्पोरेट सेक्टर अगाडि आएको थिएन । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि लगानी र सहयोग बढिरहेको छ ।

– तपाईंले खेल्दाताका टेलिभिजनमा क्रिकेट हेर्ने अवसर कत्तिको हुन्थ्यो ?

टेलिभिजन सेटहरु फाट्टफुट्टमात्रै हुन्थे । नेपाल टेलिभिजन र दूरदर्शन आउँथ्यो त्यति बेला । हामी रेडियोमा कमेन्ट्री सुन्थ्यौं । जेफ्री ब्वाइकट र टोनी ग्रेगहरुको कमेन्ट्री सुन्दा बहुत मज्जा आउँथ्यो । उनीहरुको कमेन्ट्री सुनेर त्यो गेम कसरी भइरहेको होला भनेर कल्पना गर्दै एक्साइटमेन्ट हुन्थ्यो । कमेन्ट्रीअनुसार गेम भिजुअलाइज हुने हो । उनीहरुले के बोलिरहेका छन् भन्दा पनि गेम आफैं भिजुअलाइज हुन्थ्यो ।

मैले सन् १९८७/८८ तिर एसेस श्रृंखलाको भीसीआर प्ले गरेर खेल हेरेको थिएँ । खुब मज्जा लागेको थियो । पछि नेपाली टेलिभिजनहरुले पनि प्रत्यक्ष प्रशारण गर्न थाले । कमेन्ट्री सुन्न पाइयो । तर, रेडियोमा चाहिँ सुनिएन । अहिले पनि आईपीएल हेर्दा मेरो आँखा टेलिभिजन स्क्रिनमा हुन्छ भने कान कमेन्ट्रीमा । गेम हेर्दा कमेन्ट्री सुनिएन भने मज्जै भएन । कमेन्ट्रीले खेललाई हेरौं हेरौं बनाउँछ । कमेन्ट्री त पार्ट अफ स्पोटर्स नै हो । स्पोर्ट्स नबुझ्ने मान्छे रहेछ भने पनि कमेन्टेटरले त्यसलाई बुझाउँछ । पछिल्लो समय मलाई अस्ट्रेलियाका दिवंगत सेन वार्नको कमेन्ट्री असाध्यै मन पर्थ्यो ।

– कमेन्ट्री गर्न के पढ्नुपर्छ ?

यसमा पढ्नुपर्दैन । कमेन्ट्री भनेको जे देख्यो, त्यो पढ्ने हो । मुख्य कुरा भनेको सम्बन्धित खेलको ज्ञान हुनुपर्‍यो । पहिला खेलेको रहेछ भने अझ राम्रो । तर, नखेलेकाले पनि राम्रो कमेन्ट्री गर्न सक्छन् । हर्ष भोग्लेले कहिल्यै क्रिकेट खेलेनन् । तर, उनी राम्रा कमेन्टेटर हुन् । चारु शर्मा पनि त्यस्तै हुन् । उनी लेजेन्ड कमेन्टेटर हुन् । केही प्राविधिक कुराहरुको ज्ञान त चाहिने नै भयो । बाँकी कुरा देखेको कुरा राम्रोसँग भन्ने हो ।

मैले ग्यालेक्सीबाट एसएलसी दिएर आईएसस्सी गरेको हुँ । बीएस्सी भर्ना भए पनि पढाइलाई निरन्तरता दिन सकिनँ । आज पनि म कमेन्ट्री नै गर्छु भनेर यहाँसम्म आइपुगेको हैन । क्रिकेटप्रतिको लगावले एउटा सम्भावनाको ढोका खोलेको मात्र हो । मैले त प्रशिक्षण लाइसेन्स पनि लिएको छु । हरेक दिन फिटनेस गर्छु । अहिले पनि खेलें भने सक्छु जस्तो लाग्छ । अहिले अझ फिट छु जस्तो लाग्छ ।

– तपाईंलाई आफूभन्दा अगाडि यो चाहिँ कमेन्ट्रीमा आएको भए हुन्थ्यो भन्ने लागेको कोही छ ?

केही हुनुहुन्छ । जस्तो मनिषराज पाण्डे हुनुहुन्थ्यो । उहाँको पर्सनालिटी पनि राम्रो, पढेलेखेको पनि । अहिले त पीएचडी गरिसक्नुभएको छ । पवन अग्रवालको पनि राम्रो सम्भावना थियो । मसँगै खेलेको विनोद दास पनि कमेन्ट्रीमा सम्भावना भएका व्यक्ति हुन् । हामीले सँगै कमेन्ट्री पनि गरेका छौं । पारस खड्का, शरद भेषावकर, पृथु बास्कोटा पनि राम्रो कमेन्टेटर बन्न सक्ने क्षमताका हुन् । अहिलेका कप्तान रोहित पौडेलको पनि सम्भावना देख्छु ।

गेम हेर्दा कमेन्ट्री सुनिएन भने मज्जै भएन । कमेन्ट्रीले खेललाई हेरौं हेरौं बनाउँछ । कमेन्ट्री त पार्ट अफ स्पोटर््स नै हो । स्पोर्ट्स नबुझ्ने मान्छे रहेछ भने पनि कमेन्टेटरले त्यसलाई बुझाउँछ ।

पहिलो कुरा के बुझ्नुपर्‍यो भने कमेन्टेटर बन्न कुनै डिग्री चाहिँदैन । हुन त नेपालमा यसअघि पनि कमेन्ट्री हुँदै आएको थियो । केही पहिलासम्म नेपालीमै कमेन्ट्री हुन्थ्यो । मलाई लागेको कुराहरु उहाँहरुलाई भन्थें । मलाई पनि कसैले आएर सुझाव दियो भने थ्यांक यु भन्छु । नराम्रो भन्ने भन्दा पनि अझ राम्रो गर्न सकिन्छ कि भनेर सुझाव दिनुपर्छ । मेरो विचारमा हामीले सिक्न अझै धेरै बाँकी छ । हामी क्रिटिकल्ली कमेन्ट्री गर्न डराइरहेका हुन्छौं । जस्तो कुनै ब्याट्सम्यान आउट छ जस्तो लाग्छ भने कमेन्टेटरले अम्पायरको निर्णयको क्रिटिसिज्म पनि गर्न सक्नुपर्छ । म त्यो गर्छु किनभने कमेन्टेटरले देखेको कुरा बोल्न धक मान्नुहुँदैन ।

– कमेन्ट्री गर्दा सहकर्मीसँग प्रतिस्पर्धाको भावना हुन्छ कि हुँदैन ?

मेरो सन्दर्भमा कुराकानी गर्ने हो भने कहिल्यै त्यस्तो लाग्दैन । म मेरा सहकर्मीबाट सिक्न चाहन्छु । आजको दिनमा कमेन्ट्री मेरा लागि नयाँ विषय हो । मैले सिक्नुपर्छ । चारु शर्मा, अजय मेहरा जस्ता व्यक्तिसँग कमेन्ट्री गर्न पाउनु भाग्यको कुरा हो । म तल या माथि भएँ भन्ने नै लाग्दैन । म कम्प्यारिजन कहिल्यै गर्दिनँ र त्यो आउँदा पनि आउँदैन ।

पहिलो पटक कमेन्ट्री गरिरहेकोसँग पनि सिक्छु जस्तो लाग्छ । कहिलेकाहीं आफूले सिकाउनुपर्ने कुरा अफ एयरमा सिकाइरहेको हुन्छु । कमेन्ट्री भनेको मिलेर गर्ने हो । जस्तो प्राविधिक विषयमा म अब्बल छु जस्तो लाग्छ । लियोनार्दले अन्य विषयमा राम्रो कभर गर्न सक्छन् ।

– कमेन्टेटरबीच नै छेडछाड चलिरहेको हुन्छ नि ?

त्यो जिस्कनेमात्र हो । स्लो भइरहेका बेला मसलेदार बनाउन र दर्शकलाई रमाइलो गर्न त्यसो गर्ने हो । त्यसमा कुनै नियत हुँदैन । दर्शकले सुनून् र हेरुन् भनेर कमेन्टेटरले आइडिया लगाएकोमात्र हो ।

– नेपाललाई आफ्नो दोस्रो घर भन्ने एन्ड्रियु लियोनार्दको नेपालप्रतिको लगाव तपाईंलाई कस्तो लाग्छ ?

मलाई त एकदमै खुशी लाग्छ । एउटा विदेशी नेपालमा आएर नेपाललाई यति धेरै प्रोत्साहन गरिरहेको छ । यो नेपालका लागि निकै राम्रो कुरा हो । उनले नेपाल बाहिर रहेका नेपालीलाई यहाँको क्रिकेटसँग जोड्ने काम गरिरहेका छन् । कमेन्ट्री गरिरहेका बेला अस्ट्रेलिया, अमेरिकामा रहेका नेपालीको म्यासेजलाई रिप्लाइ गरिरहेका हुन्छन् । आईसीसीमा पनि नेपाललाई सजिलो भइरहेको छ । नेपाल क्रिकेटलाई पनि एकदमै सपोर्ट गर्छ । खेल भइरहेका बेला दर्शकसँग पुगेर रमाइलो गरिरहेका हुन्छन् । सायद नेपाल र नेपालीको स्वभावले उनलाई तानेको होला । उनी नेपालमा फेरि आउन पाए हुन्थ्यो भन्छन् ।

– तपाईंको अनुभवमा खेल्न गाह्रो कि कमेन्ट्री गर्न ?

कमेन्ट्री गर्न गाह्रो । खेल्न धेरै सजिलो । सय ओभर दुई जनाले कमेन्ट्री गर्न त्यति सजिलो हुँदैन । तर, सय ओभर सकिएको पत्तै पनि हुँदैन । इन्जोय गर्नुपर्छ । त्यसका लागि प्यासन हुनुपर्‍यो । लियोनार्दसँग कमेन्ट्री गर्दा समय बितेको पत्तै हुँदैन । स्लो भयो कि अनेक अनेक विषय निकालेर उनले इन्गेज गरिहाल्छन् ।

– आफ्नै देश खेलिरहेको खेलमा कमेन्ट्री गर्दाको च्यालेन्ज के हुँदोरहेछ ?

म बायसलेस भएर कमेन्ट्री गर्न प्रयास गर्छु । नेपालले जित्नुपर्छ भन्ने त दिमागमा हुन्छ । तर, कमेन्ट्री बक्समा बस्दै गर्दा त्यसबाट बाहिर निस्कन प्रयास गर्छु । त व्यवहारिक रुपमा नेपालले राम्रो गरिरहेको छ भने पनि नर्भसनेस हुँदोरहेछ । बाहिरबाट देखिँदैन होला । तर, त्यो आफूलाई फिल हुन्छ ।

म कमेन्ट्री नै गर्छु भनेर यहाँसम्म आइपुगेको हैन । क्रिकेटप्रतिको लगावले एउटा सम्भावनाको ढोका खोलेको मात्र हो । मैले त प्रशिक्षण लाइसेन्स पनि लिएको छु । हरेक दिन फिटनेस गर्छु । अहिले पनि खेलें भने सक्छु जस्तो लाग्छ । अहिले अझ फिट छु जस्तो लाग्छ ।

एकपटक अमेरिकाबाट खेल हेरिरहेका दर्शकले पनि म्यासेजमा परेस दाइ किन स्याड देखिनुभएको छ भनेर आएको थियो । नेपाल हार्छ कि भनेर म दुःखी भएको भन्ने उनलाई लागेको रहेछ ।

– आफू खेल्दाखेरी टीम जित्दा हार्दाको इमोसन र कमेन्ट्री गर्दाको इमोसनमा के फरक हुने रहेछ ?

आफ्नो देश हार्दैछ भने जो पनि खिस्रिक्क हुन्छ । लियोनार्दलाई पनि हुन्छ त्यो । अनि भारतका सुनिल गावस्करलाई पनि हुन्छ । कहिलेकाहीं आफैलाई पनि अलि मैले बढी पो गरें कि भन्ने पनि हुन्छ । तर, तत्कालै रिकभर भइहाल्छ र कमेन्टेटरकै रुपमा फर्किन्छ । म नेपाल डिफिकल्ट अवस्थामा रहेको अवस्था छ भने माइन्ड डाइभर्ट गरिहाल्छु । त्यसले आफूलाई रिल्याक्स पनि हुन्छ । तर, आफ्नो देश खेल्दा म कतै ढल्किन्न चाहिँ भन्दिनँ । ममात्र होइन, विश्वका हरेक कुनामा यस्तै हुन्छ ।

– नेपालले एक दिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम गर्दा र त्यसपछि विश्वकप छनोटमा स्थान बनाउँदा कमेन्ट्री बक्सबाट तपाईंलाई कस्तो लागिरहेको थियो ?

एकदमै खुशी थिएँ । हामीमा क्षमता थियो । तर, गाइड गर्ने मान्छेको मात्र अभाव थियो । त्यो अभाव मन्टी देशाईले पूर्ति गरे । उनको उपस्थितिले नेपाली टोलीले यस्तो गाइडेन्स पायो कि आज हामी यहाँ आइपुगेका छौं । देसाई आफूले पनि भन्ने गरेका थिए कि नेपाली टोलीमा सबै चिज छ । तर, खेलाडीले आफ्नो भूमिकामात्र निर्वाह गरिदिनु पर्‍यो ।

पहिलो खेलमा नेपालले ऐतिहासिक लक्ष्य पूरा गरेपछि मलाई लाग्यो नेपालले राम्रो गाइड र अभिभावक पाएको छ । खेलाडीलाई जुन भूमिका दिइएको थियो, उनीहरुले त्यसलाई पूरा गरे । त्यही देखेर नै मलाई खुशी लागेको थियो । सबैजना रातो र चन्द्र सूर्य गाइरहेका थिए । म भने माथि कमेन्ट्री गरिरहनुपरेको थियो । यस्तो भयो कि चाँडो चाँडो टुंग्याएर आफू पनि खुशी साँट्न तल झरें । त्यो त गर्व गर्नुपर्ने क्षण थियो नि !

– हामी नेपाली कमेन्टेटरले भविष्यमा भारत-पाकिस्तान वा भारत-अस्ट्रेलियाबीचको खेलको कमेन्ट्री गर्न पाउने अवस्थामा पुग्छौं त ?

हामी सपना देख्न सक्छौं । विशेष गरेर भारतीय क्रिकेट नियन्त्रण बोर्ड-बीसीसीआईले हामीलाई पत्यायो वा अवसर दियो भने त्यो सम्भव हुन्छ । मेरो विचारमा विनोद दास र शरद भेषावकर त्यहाँसम्म पुग्न सक्ने क्षमताका हुन् । पारस खड्का पनि हुन् । तर, उनले कमेन्ट्रीमा रुचि नै देखाएनन् ।

– नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय कायम राख्नु र विश्वकप छनोटमा स्थान बनाउनु भनेको नेपाली कमेन्टेटरलाई पनि फाइदाकै विषय होला नि हैन ?

हामीलाई पनि फाइदाकै कुरा हो । यो नेपाली क्रिकेट टोलीको मात्र विषय होइन, समग्र नेपाली क्रिकेट परिवारलाई नै फाइदा हुन्छ । नेपाल देश र नेपाल झन्डालाई फाइदा हुन्छ । अब हामी विश्वकप छनोटको पहिलो खेलमा श्रीलंकासँग खेल्दैछौं । केही गरेर हामीले हरायौं भने त्यो कति ठूलो अचिभमेन्ट हुनेछ । यो त क्रिकेट परिवारमात्र होइन, देशलाई नै फाइदा हुने विषय हो ।

– तपाईं उच्च लयमा रहेर नेपालका लागि खेलेको समय र अहिलेको नेपाली क्रिकेटमा के फरक छ ?

अहिलेका खेलाडीहरु निकै प्यासनेट छन् । उनीहरु नेपालका लागि खेल्न र नेपाललाई सफलता दिलाउन चाहन्छन् । हाम्रा पालामा केही खेलाडीहरुको रुचि विदेश घुम्न पाए हुन्थ्यो भने जसरी क्रिकेट खेलेको देखिन्थ्यो । तर, अहिलेका खेलाडी निकै हार्ड वर्किङ छन् । त्यही भएर सफलता पनि प्राप्त भइरहेको होला । बीचमा ६ देखि एक वर्ष ब्ल्याक होलको अवस्था देखिएको थियो । तर, नयाँ प्रमुख प्रशिक्षक आएर नेपाली क्रिकेटलाई माथि ल्याए ।

मसँगै खेलेको विनोद दास पनि कमेन्ट्रीमा सम्भावना भएका व्यक्ति हुन् । हामीले सँगै कमेन्ट्री पनि गरेका छौं । पारस खड्का, शरद भेषावकर, पृथु बास्कोटा पनि राम्रो कमेन्टेटर बन्न सक्ने क्षमताका हुन् । अहिलेका कप्तान रोहित पौडेलको पनि सम्भावना देख्छु ।

मुख्य कुरा सपोर्ट हो । हाम्रा पालामा सपोर्ट नै थिएन । कर्पोरेट सेक्टरहरु लगानी गर्न हिच्किचाउँथे । प्रायोजनका नाममा लुगाहरु दिएर टारिन्थ्यो । विनोद दास र पारस खड्काको लिडरसिपमा नेपाली क्रिकेटमा प्यासनेट खेलाडीहरु भित्रिए । त्यही ट्रेन्डमा अहिले रोहित पौडेलले गरिरहेका छन् । म त नेपाली क्रिकेटको सफलताको विकास क्रमलाई विनोद दास एरा, पारस खड्का एरा र अहिले रोहित पौडेल ऐरा भन्न रुचाउँछु ।

सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लको कप्तानीमा पनि नेपालले खेल जितेको हो । तर, विभिन्न कारणबस उनीहरु लामो समय उक्त भूमिकामा रहन सकेनन् । रोहितलाई त मैले यू-१५ लेभलदेखि देखेको हो । उनको राम्रो पक्ष भनेको कहिल्यै हार नखाने बानी हो । दुई वर्षअघि मैले भैरहवामा देख्दा कति फुच्चे जस्तो लागेको थियो । तर, अहिले त अग्लो र परिपक्व जस्तो देखें । उनको लिडरसिप क्वालिटी एकदमै राम्रो छ ।

– पछिल्लो ५-६ वर्षअघिसम्म नेपाललाई ५० ओभरको खेलमा २०० रनको लक्ष्य पूरा गर्न पनि हम्मेहम्मे हुन्थ्यो । तर, अहिले ३०० वरिपरिको लक्ष्य दिने र पूरा गर्ने अवस्थामा देखिएको छ । यसलाई कसरी हेरिरहनुभएको छ ?

हाम्रो पालामा सुरुवात राम्रो हुन सक्दैन थियो । मैले स्थायी भन्ने खालको ओपनिङ पार्टनर नै पाइनँ । मेरो १२ वर्षको अन्तर्राष्ट्रिय करियरमा ११ जनासँग ओपनिङ ब्याटिङ गरेछु । रेगुलर फिक्स पार्टनर भएको भए सायद ब्याटिङ राम्रो हुन्थ्यो कि ! जस्तो अहिले कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी स्थायी जस्तै छ । उनीहरु अझै ४ वर्षसम्म ओपनिङ पार्टनर हुन सक्छन् ।

केही वर्षअघिसम्मको कुरा गर्ने हो भने पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमध्ये एक जनाले राम्रो खेल्न सकेन भने नेपाली ब्याटिङ कोल्याप्स जस्तै हुन्थ्यो । तर, आज ११औं नम्बरका ब्याट्सम्यानबाट पनि आशा गर्न सकिने अवस्था बनेको छ । खेलाडीलाई जुन रोल दिइएको छ, त्यसलाई उनीहरुले राम्रोसँग निभाइरहेका छन् । उनीहरुको मेन्टल अप्रोच राम्रो छ । ट्यालेन्ट र टेक्निकलाई मेन्टल अप्रोच राम्रो भएपछि सफलता सजिलै प्राप्त हुन्छ । अहिले भइरहेको त्यही हो ।

– तपाईंको दृष्टिमा नेपाली क्रिकेट अहिले कहाँ छ ?

हामी राइट ट्रयाकमा छौं । आईसीसीले पनि अहिले दुइटा टेस्ट टोली थप्ने कुरा गरिरहेको छ । मलाई लाग्छ, यो अफिसयल नै हो । यसमा स्कटल्यान्ड, नेदरल्यान्ड्स अनि नेपालको नाम आइरहेको छ । नेपाली क्रिकेट टीम सुन्दर भविष्यको सही मार्गमा देखिएको छ ।

विश्वकप छनोटअघि हामीले ध्यान दिनुपर्ने पाकिस्तान र भारतसँग खेल्ने एसिया कप हो । एसीसी प्रिमियर कप जित्यौं भने हामी एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा पर्छौं । उनीहरुसँग खेल्दा नेपालले कति धेरै माइलेज पाउला । नेपाली टीमलाई कति ठूलो बुस्ट होला । अहिले विश्वकप छनोटमै पुग्दा नेपाली क्रिकेटलाई प्रायोजकहरुको लहर लागेको छ ।

– खेलाडीहरुले केही नपाइरहेको अवस्थामा तपाईं नेपाली टोलीमा हुनुहुन्थ्यो । अहिले खेलाडीहरुको जगजगी भइरहेका बेला कमेन्ट्री गर्दै हुनुहुन्छ । आफ्नो खेल जीवनलाई कसरी हेर्नुहुन्छ ?

यो त एउटा साइकल हो । मलाई गर्व लाग्छ, नेपाली क्रिकेटको विकास भइरहेको छ । म पूर्वखेलाडी भएर मात्र होइन कि नेपाली हुँ र बच्चैदेखि क्रिकेटलाई मन पराइरहेको छु । अहिले कमेन्ट्री गरिरहेको छु । थाहा छैन भविष्यमा के हुन्छ ? कि न्युट्रल कमेन्टेटर भएर भारत-पाकिस्तानबीचको खेलको कमेन्ट्री पो गर्न पुगिन्छ कि ? (हाँस्दै)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर