‘बहाब’ मा सुरक्षाको १८ सेकेन्ड लामो ‘टङ किस’, सेन्सरमा के भएको थियो ? – Nepal Press

‘बहाब’ मा सुरक्षाको १८ सेकेन्ड लामो ‘टङ किस’, सेन्सरमा के भएको थियो ?

नेपाली चलचित्रमा अहिलेसम्मकै लामो ‘टङ किस’ हुन सक्ने

काठमाडौं । सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बहाब’ भोलिबाट हलहरूमा रिलिज हुँदैछ । शालिन छविकी नायिकाले यस चलचित्रमा दिएको एउटा बोल्ड सिनले दर्शक ‘सक्ड’ हुन सक्छन् ।

प्रमोद कँडेल निर्देशित चलचित्रको हिजो पहिलो प्रिमियर गरिएको थियो । जसमा कलाकारदेखि पत्रकार र राजनीतिकर्मीदेखि विद्यार्थीसम्म उपस्थित थिए । चलचित्र सुरु हुनासाथ किस सिन आएपछि हलभित्र खल्बली उत्पन्न भयो । प्रेमीसँग सुरक्षाको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ देखाइँदा दर्शकले हुटिङ गरेका थिए ।

मूलधारका नेपाली चलचित्रमा यस्तो हट किस दुर्लभ नै हुन्छ । बोल्ड भनिने नायिकाहरु पनि टङ किस दिन हच्किने गर्छन् । सुरक्षाबाट त यस्तो अपेक्षा नै थिएन । उनले यसअघि कुनै पनि चलचित्रमा टङ किस गरेकी थिइनन् । यो उनको मात्र नभएर नेपाली चलचित्रमा अहिलेसम्मकै लामो टङ किस भएको निर्माण पक्षले दाबी छ ।

सुरक्षा नवविवाहित हुन् । बहाब विवाहपछि उनको रिलिज भएको पहिलो चलचित्र हो । धन्न उनले प्रिमियरमा श्रीमानलाई लिएर आएकी थिइनन् ! चलचित्रमा किस सिन आउँदा होहल्ला भएपछि उनले लाजले मुख छोपेकी थिइन् । उनलाई फिल्म सकिएपछि पत्रकारले यो विषयमा प्रश्न सोध्लान् भन्ने डर थियो । तर, कसैले पनि सोधेनन् ।

यो फिल्मको सुटिङ धेरै पहिला भएको हो । तर, आफूले अहिलेसम्म यो सिनबारे श्रीमानलाई भन्न नसकेको सुरक्षाले निकटस्थहरुलाई बताएकी छन् । विवाह भइसकेपछि फिल्म रिलिज हुँदा उनलाई अप्ठेरो परेको छ ।

स्रोतका अनुसार फिल्म सुटिङअघि वर्कसप राख्दा यो दृश्यबारे सुरक्षालाई जानकारी दिइएको थियो । उनले सुरुमा आनाकानी गरेकी थिइन् । तर कथाको उठान नै यहाँबाट हुने भएकाले यो निकै महत्वपूर्ण रहेको बताइएपछि उनी कन्भिन्स्ड भइन् ।

यो दृश्य सुटिङ गर्न पनि सहज भएन । प्रेमीको भूमिकामा रहेका कलाकार नयाँ भएकाले उनी झनै नर्भस थिए । एक टेकमै ओके गर्ने पूर्वसमझदारी भएर सुटिङ गरिएको निर्माण स्रोतले बतायो ।

‘४-५ सेकेन्ड मात्रै गर्ने भनिएको थियो । तर, दुवैजना मुडमा आइसकेपछि अलिकति लामो भयो’, स्रोतले भन्यो ।

चलचित्रका निर्देशक कँडेल कथाको मागअनुसार यो दृश्य खिचिएको बताउँछन् । चलचित्रमा सुरक्षालाई बोल्ड अवतारमा पेश गरिएको हुँदा उनको चरित्र स्थापित गर्न यो दृश्य जरुरी रहेको कँडेलको भनाइ छ ।

स्रोतका अनुसार यो दृश्यले सेन्सर बोर्डलाई पनि सोच्न बाध्य बनाएको थियो । बोर्डका पदाधिकारीहरु चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिने कि पीजी (प्यारेन्ट्स गाइडेन्स) सर्टिफिकेट दिने भन्नेमा दोधारमा परेका थिए । यस विषयमा उनीहरुले चलचित्रका निर्माता र निर्देशकलाई पनि छलफलमा डाकेको बुझिएको छ । छलफलमा उनीहरुलाई किस सिन अत्यावश्यक हुनुको कारण सोधेका थिए । निर्देशक कँडेलले ब्रिफिङ गरेपछि उनीहरु कन्भिस्ड भए । पारिवारिक कथामा आधारित चलचित्र भएकाले युनिभर्सल सर्टिफिकेट नै दिइएको छ ।

निर्देशक कँडेल सुरुमा आफूलाई पनि युनिभर्सल सर्टिफिकेट नपाउला कि भन्ने चिन्ता रहेको बताउँछन् ।

‘मलाई पनि अलिकति संशय थियो । तर, अहिलेको बोर्ड पनि यस्तोमा निकै अपग्रेड भएको रहेछ । युनिभर्सल सर्टिफिकेट दिइएकोमा खुशी लागेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *