लागूऔषध ओसार पसारमा संलग्न एक भारतीयलाई गोली प्रहार गरी नियन्त्रण – Nepal Press

लागूऔषध ओसार पसारमा संलग्न एक भारतीयलाई गोली प्रहार गरी नियन्त्रण

मोरङ । मोरङको रतुवामाई नगरपालिका–६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका एकजना भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडाैं र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतीय नागरिक ३४ बर्षीय भगिरथ हरिजनलाई आज दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो ।

बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।

प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निग्रानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *