सरकारको परिमार्जित न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट: संविधानको रक्षादेखि अर्थतन्त्र उकास्ने सूत्रसम्म – Nepal Press

सरकारको परिमार्जित न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट: संविधानको रक्षादेखि अर्थतन्त्र उकास्ने सूत्रसम्म

विश्वप्रकाश भन्छन्- कांग्रेसले घोषणापत्रमा गरेको बाचासहित सबै दलको एजेण्डा समेटिन्छन्

काठमाडौं । सत्ता समीकरण फेरिएसँगै सरकारको न्यूनतम साझा कार्यक्रममा परिर्माजन गर्नेबारे पनि छलफल अघि बढेको छ ।मंगलबार बसेको दश दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरेका थिए ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति जुटाएर सरकारलाई पनि पूर्णता दिने विषयमा बालुवाटारमा शीर्ष नेताहरु जुटेका छन् । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकताका कार्यक्रमहरू पनि परिमार्जन गर्न लागिएको हो ।

अहिले सरकारले ल्याउने साझा कार्यक्रममा संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने विषय समेटिएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘हामीले अहिलेको व्यवस्थाको रक्षालाई प्राथमिकतामा राखेका छौं । त्यस्तै आर्थिक रुपमा मुलुक निराशातर्फ जाने हो कि भन्ने चिन्ताको विषय छ । मुलुकको अर्थतन्त्र उकास्ने सन्दर्भमा कस्ता कार्यक्रम बनाउन सकिन्छ भन्ने विषय समावेश हुन्छ ।’

उनले कांग्रेसले चुनावमा गरेको घोषणापत्रको वाचा पनि घोषणापत्रमा समेटिने बताए ।

महामन्त्री शर्माले भने, ‘कांग्रेसको घोषणापत्रको निर्माणको संयोजक भएको नाताले हामीले जनताको बीचमा राखेको कार्यक्रम पनि समावेश हुन्छन् । तर, सबैको साझा कार्यक्रम भएकाले सबैको एजेण्डालाई समेट्नुपर्छ । कतिपय हाम्रो पर्लान्, कतिपय अरुको पर्लान् । लोकतन्त्र र संविधानको रक्षा, जनताको अवस्थालाई तीव्र ढंगमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषय कतिपय अल्पकालीन र कतिपय दीर्घकालीन हुन्छ ।’

उनले न्यूनतम साझा कार्यक्रमको विषयमा गठबन्धन दलबीच छलफल जारी रहेको पनि बताए ।

अहिलेको आर्थिक जटिलताको बीचमा अर्थ मन्त्रालय कांग्रेसले सम्हाले चर्चा छ । त्यो पात्र को हो ? भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म विधिवत रुपमा टुंगो लागेको छैन । अहिलेको अर्थतन्त्रलाई बुझेको र चुनौतीलाई हल गर्नसक्ने व्यक्ति पठाउँछौं । त्यसका लागि पार्टीले सोचेका दृष्टिकोण, विज्ञहरुले सोचेको दृष्टिकोण, समेटेर अगाडि बढाउनसक्ने व्यक्ति पठाउँछौं ।’

उनले अर्थमा प्रकाशशरण महतको नाम चर्चामा रहनु स्वाभाविक भएकोसमेत बताए । कांग्रेसले अर्थ मन्त्रालयमा पार्टीको प्रवक्तासमेत रहेका महतलाई पठाउने अनौपचारिक सहमति गरिसकेको छ ।

यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि गठबन्धनको बैठकमा ड्राफ्ट प्रस्तुत भइसकेको बताए ।

उनले भने, ‘दलहरुलाई ड्राफ्ट प्रस्तुत गरिसकेका छौं । अब थप्नुपर्ने र हटाउनुपर्ने सुझाव आइसकेपछि भोलिसम्ममा अन्तिम रुप दिन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर