देशकै ठूलो व्यवस्थापन क्याम्पसमा एक्ली महिला दाबेदार, बनाउलिन् शंकरदेव स्ववियुमा इतिहास ? – Nepal Press

देशकै ठूलो व्यवस्थापन क्याम्पसमा एक्ली महिला दाबेदार, बनाउलिन् शंकरदेव स्ववियुमा इतिहास ?

काठमाडौं । एक दशक बढी समयदेखि शिथिल बनेको विद्यार्थी राजनीति माहोल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ ।

मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्ना हक, हित र आवाजलाई मुखरित गर्ने प्रतिनिधि पाइनेमा आशावादी देखिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनका प्रतिस्पर्धी खडा भइसकेका छन् ।

यसैक्रममा उपत्यकामा त्रिविअन्तर्गतका करिब तीन दर्जन क्याम्पसमा उम्मेदवारी मनोनयन भइसकेको छ । केहीमा भने विवाद कायमै रहेको छ ।

शंकरदेव क्याम्पस देशको दोस्रो ठूलो मतदाता विद्यार्थी संख्या छन् । ८ हजार ८९० जना विद्यार्थी मतदाता रहेको शंकरदेवको स्ववियु नेतृत्व हत्याउने दाउमा रहेका नेपाली कांग्रेसनिकट नेवि संघबाट सुशान्तसिंह बस्नेत, नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट मुना तिवारी र नेकपा माओवादी केन्द्रनिकट क्रान्तिकारीबाट विरेन जीसी मुख्य दाबेदारको रूपमा देखिएका छन् ।

शंकरदेवको पहिलो र उपत्यकाकी एक्ली महिला उम्मेदवार मुना

शंकरदेव क्याम्पसको इतिहासमा हालसम्म कुनै पनि विद्यार्थी संघ वा संगठनबाट सभापतिमा महिला उम्मेदवार बनेका थिएनन् । चैत ५ मा हुने निर्वाचनमा अनेरास्ववियुले मुना तिवारीलाई सभापतिको उम्मेदवारको रूपमा अघि सारेको छ । निर्वाचन जितेको खण्डमा पद्मकन्याबाहेकको उपत्यकाका क्याम्पसबाट सभापति जित्ने दोस्रो विद्यार्थी नेतृ बन्नेछिन् । यसअघि अनेरास्ववियुबाटै नविना लामाले बानेश्वर क्याम्पसबाट सभापतिमा विजय हासिल गरेकी थिइन् ।

हालको निर्वाचनमा त्रिविका उपत्यकाका आंगिकसहित सम्बन्धन प्राप्त ठूला क्याम्पसहरू समेतमा तिवारी एक्ली विद्यार्थी नेतृ हुन् जो देशको दोस्रो धेरै विद्यार्थी संख्या भएको शंकरदेवमा विद्यार्थीको नेतृत्व गर्न तम्तयार बनेकी छन् ।

यस्तो छ शंकरदेव स्ववियु इतिहास

इतिहास केलाउँदा शंकरदेव नेवि संघको ‘पकेट’ क्याम्पसको को रूपमा देखिन्छ । अहिलेसम्मका लगभग सबै स्ववियु निर्वाचनमा यहाँ नेविसंघले बाजी मारेको छ । २०३८ सालमा अनेरास्ववियुका ठाकुर चन्दले सभापति जितेबाहेक यहाँ निरन्तर नेविसंघले जितेको छ ।

तर, कांग्रेसका युवा नेता प्रदीप पौडेलको शब्द सापटी लिने हो भने मतदाता कसैका पनि निजी होइनन् उनीहरुले स्वतन्त्र निर्णय गर्छन् । पौडेलकै कुरालाई ध्यानमा राख्दा भने शंकरदेव क्याम्पसमा पनि बितेका दशकमा धेरै कुरा बदलिएको सहजै अनुमान लगाउन सकिन्छ ।

परिवर्तनको ज्वलन्त उदाहरण गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाकै निर्वाचन एवम् मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनलाई नै लिन सकिन्छ । देशको राजनीतिमै आम मतदाताको चेतनामा आएको रुपान्तरणले सबै अवस्था बदलिरहँदा शंकरदेवमा पनि विगतको भाष्य कायमै रहन्छ भन्ने छैन भन्छन् यहाँका विद्यार्थी अगुवा ।

को हुन् मुना तिवारी ?

२०५३ सालमा जन्मिएकी तिवारी झापाको बाह्रदशी गाउँपालिकाकी स्थायी बासिन्दा हुन् । उनका बुबा लक्ष्मी तिवारी पनि कम्युनिष्ट राजनीतिमा सशक्त छन् । बुवाकै प्रभावस्वरूप उनले अन्याय र अत्याचारविरुद्ध बोल्ने गुण सानैदेखि सरेको निकटस्थ बताउँछन् । विद्यालयदेखि नै सामान्य राजनीतिमा रुचि राखेकी तिवारी बीबीएस अध्ययन गर्दै गर्दा क्याम्पस समितिको अध्यक्ष भएर काम गरेकी थिइन् ।

तिवारीसँग २०७४ मै झापाको बाह्रदशी गाउँपालिका उपाध्यक्षको स्वतन्त्र उम्मेदवारी समेत दिएको अनुभव छ ।

उच्च शिक्षाका लागि शंकरदेव क्याम्पसमा भर्ना भएकी मुना तत्कालीन नेकपा विभाजनपछि मनोनीत हुँदै ऐन महर नेतृत्वको कमिटीमा केन्द्रीय सदस्य बनिन् । पछि सुनिता बरालको कमिटीमा पनि केन्द्रीय सदस्यमा दोहोरिइन् ।

मानवीय सम्बन्ध स्थापित गर्न माहिर उनलाई उनको क्षमता र दक्षताकै आधारमा अनेरास्ववियुले सभापतिको उम्मेदवार सर्वसम्मतमा सिफारिस गरेको अखिलका एक नेता बताउँछन् ।

यस्ता छन् तिवारीका एजेण्डा

४० वर्षदेखि नेवि संघले एकछत्र राज गरेको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको जग हाल्ने तिवारीको लक्ष्य छ । जुन चुनौतीपूर्ण छ । यद्यपि उनी आफू नेविसंघको खम्बा भत्काउने गरी तयारीमा रहेको बताउँछिन् ।

विशेषगरी उनले आफ्नो क्याम्पस परिसरलाई शान्त, सुव्यवस्थित वातावरण बनाउन भूमिका खेल्ने बताउँछिन् । त्यस्तै, महिलामैत्री, अपांगमैत्री शंकरदेव क्याम्पस एवम् देशकै उत्कृष्ट छवि बोकेको क्याम्पसका रुपमा स्थापित गर्न विद्यार्थी प्रतिनिधिका तर्फबाट गर्नुपर्ने जिम्मेवारीलाई अक्षरंश पालना गर्ने उनको उद्घोष छ ।

विद्यार्थीहरुबाट शिक्षक डराउनुपर्ने अवस्थाको अन्त्य गर्न, विद्यार्थीहरुलाई वृत्ति विकासका लागि विभिन्न कार्यक्रमहरु गर्न, महिला विद्यार्थीहरुको सुरक्षा प्रत्याभूतिका लागि विशेष भूमिका निर्वाह गर्ने तिवारीका एजेण्डा रहेका छन् ।

सभापतिको ११ जना उम्मेदवारमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । नेकपा एसनिकटको अनेरास्ववियूको साथले नेविसंघका उम्मेदवार पनि ढुक्क देखिन्छन् ।

मुना आफू विद्यार्थीको दु:खसुखमा सधैँ सँगै रहेको भन्दै निर्वाचन जित्नेमा आशावादी देखिएकी छन् ।

‘आम विद्यार्थीमा आएको परिवर्तन महिलाप्रतिको सम्मानका विषयले पनि मलाई अवश्य जिताउँछन् । सचेत विद्यार्थीले आफूलाई मत हाल्ने उनको अपेक्षा छ । लामो समयसम्म विद्यार्थी आन्दोलनमा सक्रिय भएको विषयलाई बुझेर पनि मलाई साथ दिनुहुन्छ ‘, मुना भन्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर