महराको मस्यौदामा प्रचण्डको कैँची चलेपछि माओवादी घटकको अपिल गायब – Nepal Press

महराको मस्यौदामा प्रचण्डको कैँची चलेपछि माओवादी घटकको अपिल गायब

रोकियो संयुक्त अन्तरक्रिया, देव गुरुङ भन्छन्- हल भेटिएन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि एकजुट भएको माओवादी घटकमा फेरि विभाजन देखिएको छ ।

द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा लगिएपछि माओवादी धारका सबै पार्टीहरूको एउटै निष्कर्ष थियो, ‘यो मुद्दा प्रचण्डविरुद्धको मात्रै होइन । हामी सबैको हो ।’

तर, माओवादी घटकहरू एकै ठाउँमा उभिन सर्वोच्चमा परेको रिटले काम गरेपनि सँगै बस्न सकेनन् । आइतबार माओवादी घटकको नौ मध्ये तीन पार्टीले संयुक्त पत्रकार सम्मेलन नै बहिष्कार गर्न पुगे ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बनाएको संयुक्त अपिलको ‘ड्राफ्ट’ प्रचण्डले संशोधन गरेपछि तीन दलले पत्रकार सम्मेलन बहिष्कारसँगै मोर्चाबाटै बाहिरिए ।

माओवादी धारका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले पत्रकार सम्मेलन बहिष्कार गरेका थिए ।

संयुक्त अपिलको लागि महराले गरेको ‘ड्राफ्ट’ प्रचण्डबाट संशोधन गरेपछि आफूहरूले पत्रकार सम्मेलन बहिष्कार गरेको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले बताए ।
उनले भने, ‘महराजीले तयार पार्नुभएको ‘ड्राफ्ट’ संयुक्त अपिलमा हाम्रो सहमति थियो । तर, प्रचण्डले चेञ्ज गरेपछि हामीले सहमति जनाउन सकेनौं । त्यो मिलाउने समय भएन । त्यसमा सहमति नभएपछि हामी गएनौं ।’

सार्वजनिक गर्ने भनिएको अपिलमा प्रचण्डले सरकार र संविधानको विषयमा जोड दिएपछि आफूहरूले सहमति जनाउन नसकेको उनको भनाइ छ ।

‘हामी अहिले सरकार र संविधानको पक्षमा छैनौं । हामी विरोध गर्छौँ । हाम्रो सरकारको एजेण्डा मिल्दैन’ उनले भने, ‘अपिलमा सहमति हुन नसकेपछि बाहिर ल्याइएन । पछि पत्रकार सम्मेलनमा विज्ञप्ति बनाइएर सार्वजनिक गरियो ।’

महराले बनाएको अपिलको पहिलो प्याराग्राफमा नै प्रचण्डको कैँची चलेको उनको भनाई छ। दलहरुबीच सहमति बन्न नसकेपछि संयुक्त अपिले नै गायब बनाएर सामन्य विज्ञप्ति ल्याइयो ।

उनले भने, ‘उहाँहरूले सरकारको पक्षको वकालत गर्नुभयो । हामी त्यसको विद्रोहको पक्षमा छौं । राजनीतिक मुद्दा अदालतबाट टुंग्याउने होइन । तर, उहाँहरूले सरकारलाई माथि राख्न खोज्नुभयो ।’

पत्रकार सम्मेलनमा मात्रै नभएर माओवादी घटकको पूर्वसहमति अनुसारको आजको अन्तरक्रिया कार्यक्रम पनि स्थगित गरिएको छ । माओवादी धारले नागरिक अगुवा र बुद्धिजीवीसँगको छलफल गर्न तय भएको थियो ।

क्रान्तिकारी माओवादीका नेता गजुरेलको प्रचण्डले पूर्वमाओवादी एकताको प्रयास थालेपछि सत्ता साझेदार दल कांग्रेससहित अन्तराष्ट्रिय शक्तिको पनि दबाबमा परेको हुनसक्ने बुझाईमा छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ माओवादी घटकहरूबीच विवाद भएको कारणले आजको अन्तक्रिया कार्यक्रम स्थगित भएको अस्वीकार गर्छन् ।

उनी भन्छन्, ‘निर्धारित कार्यक्रम भएपनि समय अभाव थियो । कार्यक्रमका लागि ६/७ सय चाहिने हल आवश्यक थियो । तर, हामीले तत्काल पाउन नसकेको कारणले स्थगित गरेका हौं । अब समय मिलाएर दलहरूबीच छलफल गरेर अर्को मिति तय होला । तर, कुनै विमत्तिको कारणले होइन ।’

अदालतमा प्रचण्डविरुद्धको मुद्दा विचाराधीन रहेको बेलामा केही दिनअघि कांग्रेस नेता मिनेन्द्र रिजालले प्रचण्डले माओवादी पुष्ठभूमिका नेताहरूलाई मिलाएर हिँडे कांग्रेसले साथ दिन नसक्ने अभिव्यक्ति दिएका थिए ।

‘प्रचण्डजीले जुन बाटो, जुन मूलधार गिरिजाप्रसाद कोइरालासँग, सात राजनीतिक दलसँग निर्माण गर्नुभएको हो, यो संविधानले बोकेको बाटो हो । त्यो बाटोमा रहनुभयो भने कांग्रेसबाट धोका हुन्न’ नेता रिजालको भनाइ थियो, ‘त्यो बाटोमा रहनुभएन, र अहिले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि हिजोका माओवादी पृष्ठभूमिका नेताहरू एक ठाउँमा उभिएर, हिजोको माओवादी राजनीतिलाई बोक्नुपर्छ भन्ने बाटोमा जानुभयो भने प्रधानमन्त्रीको त्यो राजनीति दूरदर्शी ठहर्ने छैन ।’

यता, नेकपा बहुमतको नेता हेमन्त प्रकाश वली पनि आजको अन्तक्रियाबारे आफू जानकार नभएको बताउँछन् ।

‘हामीलाई आजको अन्तक्रियाबारे जानकारी छैन । अस्तिको पत्रकार सम्मेलनमा पनि हामी गएनौं । एउटा संयुक्त अपिल बनाउने भनेर निर्णय गरेका थियौं’ उनले भने, ‘त्यही अपिलमा हाम्रो कुरा मिलेन । त्यसमा संसदीय व्यवस्थामा नै जोड गरिएकाले हामीले समर्थन जनाउन सकेनौं ।’

आफूहरूले संक्रमणकाली न्यायलाई जोड दिएर जान पहल गर्दा प्रधानमन्त्री प्रचण्डले सरकार र संविधानलाई प्राथमिकता दिएको उनको भनाई छ ।

‘सबै दलहरुको आ-आफ्नो मान्यता भएपनि हामीले साझा बनाएर जान पहल गरेपछि उहाँहरुले संसदीय मान्यतालाई नै प्राथमिकता दिनुभयो । उहाँहरूले संविधानमा छिराउने प्रयास गर्नुभएपछि हामीले संक्रमणकालीन न्यायको विषयमा बाहिरैबाट बोल्छौं तपाईंहरू मोर्चाबाट बोल्नुस् भनेका हौं’, वलीले भने ।

पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने भनिएको अपिको ड्राफ्टमा के थियो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘मुलतः हिष्टोरिकल टाइपको थियो । हिजोको शान्ति सम्झौता हुँदै आएको विषयवस्तु समेटिएका थिए ।’

राजनीतिक मुद्दालाई राजनीतिक तवरबाटै हल गर्ने भनेर सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएको भएपनि काम गर्न नसकेको बताए ।

‘आयोग गठन भएको १६ वर्षदेखि समस्याको हल हन सकेको छैन । त्यसमा हाम्रो पनि कमजोरी छ । उहाँहरू सत्तामा हुँदा पनि पहलकदमी लिनुभएन’ नेता वलीले भने, ‘सुरूमा ६ महिनामा टुंग्याउने भन्ने सहमति भएको थियो । अहिलेसम्म टुंग्याइएन ।’

उनले माओवादी घटकहरूका बीच भएका गल्तीकमजोरीलाई पनि समीक्षा गरेर जानुपर्छ भन्ने पक्षमा आफ्नो जोड रहेपनि सरकारात्मक जवाफ नपाएको उनको गुनासो छ ।

उनले भने, ‘हामी संसदीय व्यवस्था त मान्दैनौं नै । तपाईंहरू संसदीय व्यवस्थामा जानुभएको छ त्यसैले हामीले अलिकति भएरपनि साझा बनाएर जाऔं भन्ने पक्षमै हामी थियौं । उहाँहरूले त्यो कुरालाई बेवास्ता गर्नुभयो । छोटो समय भएकाले छलफल हुन पनि पाएन । त्यही कारणले हामी पत्रकार सम्मेलनमा उपस्थित भएनौं ।’

संक्रमणकालीन न्यायको कुरा कानुनी ढंगले हल हुनै नसक्ने उनको बुझाइ छ ।

‘अदालतमा त्यो जानै हुँदैन । शान्ति सम्झौता अनुरुप नै संक्रमणकालीन व्यवस्थाअनुसार यसलाई टुंग्याउनुपर्छ’ उनले थपे, ‘प्रचण्डमाथि लागेको मुद्दा हामी सबैको लागि लागेको हो भन्ने किसिमले हामीले छलफल गरेकै थियौं । तर, सबै कुरा प्रक्रियामै जाँदाखेरी त्यही व्यवस्थाले हल गरेको छैन। त्यसैले सहमति भएन ।’

भनेपछि अब फेरि पूर्वमाओवादीहरू एकजुट हुने सम्भावना च्पाप्टर क्लोज भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘त्यहाँ केही प्रावधान मिलाउनुपर्छ । शान्ति प्रक्रियाबाट यहाँसम्म आइपुग्दा अझै हल हुन सकेको छैन । व्यवस्थाको कारणनै मुख्य हो । त्यसमा हाम्रो सहमति हुन सक्दैन । तर, अहिले आएको मुद्दाको बिषयमा भने हामी सडकबाट लड्छौं । तपाईंहरू सदनबाट लड्नुहोस् भन्ने छौं । तर, संसदीय व्यवस्था नै स्वीकार गरेर माओवादी घटक एकजुट हुने सम्भावना छैन ।’

तर, सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब चाँडै माओवादी घटकहरूबीच ठूलो एकता हुने दाबी गरेका थिए ।

‘माओवादीहरू पनि केही समय विभिन्न भँगालोमा विभाजित भएपनि अब एकीकृत गर्ने समय आएको छ । हामी माओवादी नेतृत्वहरूले गम्भीर भएर बुझ्न जरुरी छ । त्यसैले अब छिट्टै ठूलो एकता हुन्छ भन्ने मलाई विश्वास छ’ प्रचण्डले भनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर