हिट फिल्मका गुमनाम निर्देशकः हेमराज बीसी भन्छन्- म यस्तै हो – Nepal Press
नेपाल टक

हिट फिल्मका गुमनाम निर्देशकः हेमराज बीसी भन्छन्- म यस्तै हो

सामाजिक सञ्जालसमेत चलाउँदैनन् हेमराज, पर्दापछाडि नै खुशी

काठमाडौं । अहिले घरेलु बक्स अफिस हल्लाइरहेको चलचित्र हो- ‘छक्का पञ्जा ४’ । लगातार चलचित्रहरु फ्लपको लिस्टमा परिरहेको समयमा ‘छक्का पञ्जा ४’ नयाँ रेकर्ड राख्ने दौडमा छ ।

छक्कापञ्जा पहिला नै एउटा ब्रान्डको रुपमा स्थापित भएकाले पनि चौथो संस्करणले दर्शकलाई हलसम्म तान्न निर्माण टीमले खासै मेहनत गर्नुपरेन । छक्का पञ्जाका यसअघिका तीनवटै संस्करण सुपरहिट भएका थिए । चलचित्रको चौथो संस्करणलाई पनि दर्शकले रुचाएका छन् ।

‘छक्का पञ्जा’ भन्नेबित्तिकै दीपक-दीपा र माग्ने बुढाको फिल्म भनेर सबैले चिन्छन् । तर, यसअघिका सिक्वेलको एउटा सिलसिला यसपाला तोडिएको छ । यसअघि सबै सिक्वेलको निर्देशन दीपाश्री निरौलाले गरेकी थिइन् भने ‘छक्का पञ्जा ४’ लाई हेमराज बीसीले निर्देशन गरेका छन् । चलचित्र ‘होस्टल’ बाट उदाएका हेमराज प्रतिभाशाली निर्देशकको कोटीमा पर्छन् ।

कमेडी ब्रान्डको चलचित्रमा हेमराजको यो पहिलो प्रयास हो । तर, एउटा स्थापित ब्रान्डसँग जोडिएका निर्देशक हेमराज चलचित्र हिट हुँदा पनि खासै चर्चामा छैनन् । उनी चलचित्र रिलिजपछि कतै देखिएनन् । अरु चलचित्रका निर्देशकहरु आफ्नो चलचित्र रिलिज भएपछि मिडियामा अन्तर्वार्ता दिन र हलहरु धाउन व्यस्त हुन्छन् । तर, हेमराज छक्का पञ्जाको टीमसँग हिँडेकै छैनन् । कतिपय दर्शकलाई फिल्म निर्देशक कसले गरेका हुन् भन्ने पनि थाहा छैन र मतलब पनि छैन । कतिले चाहिँ दीपाश्री नै निर्देशक सोचेका छन् ।

आफूले गरेको कामले चौतर्फी तारिफ पाइरहँदा हर्षित भएर दौडधुपमा देखिनुपर्ने निर्देशक किन गुमानाम भएर बसिरहेका छन् ? छक्कापञ्जा टीमसँग कतै उनको शीतयुद्ध त चलेको छैन ? यस्तै विषयहरुमा निर्देशक हेमराज बीसीसँग नेपाल प्रेसले गरेको कुराकानी-

– फिल्म रिलिज भएपछिको फिडब्याक कस्तो पाइरहनुभएको छ ?

राम्रै होला । खासमा म सामाजिक सञ्जाल त्यति चलाउँदिनँ । त्यसैले बाहिर के भइरहेको छ वा चलचित्रले कस्तो प्रतिक्रिया पाइरहेको छ भन्नेबारे म अलिकति अनभिज्ञ छु । साथीहरुले फोन गरेर चलचित्र राम्रो भएको प्रतिक्रिया दिनुहुन्छ । सायद राम्रै भइरहेको होला ।

सामाजिक सञ्जाल चलाउँदा पनि मलाई म यसको लागि बनेको हो भन्ने नै लाग्दैनथ्यो । पछिपछि त झन् यस्ता माध्यमहरु समय बर्बाद गर्ने विषयमात्र हुन् भन्ने झैँ लाग्न थाल्यो । त्यसैले प्रयोग गर्न नै छाडिदिएँ ।

– सामाजिक सञ्जालमा नहुनु वा नचलाउनुको कारण ?

म पहिला सामाजिक सञ्जाल चलाउँथें । पछिल्लो समय छाडेको हो । पहिला चलाउँदा पनि म धेरै सक्रिय थिइनँ । न त पोस्टहरु नै गर्थें । मलाई चासो नै नलाग्ने विषय हो यो । म अलि रिजर्भ प्रवृत्तिकोे मान्छे छु । भीडभाडभन्दा एकान्त मनपर्छ ।

सामाजिक सञ्जाल चलाउँदा पनि मलाई म यसको लागि बनेको हो भन्ने नै लाग्दैनथ्यो । पछिपछि त झन् यस्ता माध्यमहरु समय बर्बाद गर्ने विषयमात्र हुन् भन्ने झैँ लाग्न थाल्यो । त्यसैले प्रयोग गर्न नै छाडिदिएँ । झन् पछिल्लो समय मान्छेमा सामाजिक सञ्जालको लत यस्तो बसेको छ कि आफूले केही पोस्ट नगरे पनि घन्टौं बसेर अरुको पोस्ट हेर्नुपर्ने अथवा हेर्न मनलाग्ने । त्यसपछि त झनै फलदायी लाग्न छाड्यो ।

– जमाना नै सामाजिक सञ्जालको छ । त्यहीमाथि तपाईं एक जना निर्देशक । आफूलाई अपडेट राख्न पनि चलाउनुपर्छ जस्तो लाग्दैन ?

जरुरी छ र ? मलाई त त्यस्तो लाग्दैन । समाचारहरुको लागि युट्युब छँदैछ । त्यहाँबाट अधिकतम कुराहरु थाहा हुन्छ । प्लस साथीभाइहरु छन् । सिने क्षेत्र वा अरु कुनै पनि क्षेत्रमा घटिरहेका ‘हट टपिक्स’ हरुबारे उनीहरुमार्फत थाहा भइहाल्छ । त्यसैले म सामाजिक सञ्जाल प्रयोग गर्नैपर्छ भन्ने मान्यता राख्दिनँ । (हाँस्दै) सामाजिक सञ्जालको नाममा मेरो फोनमा क्युएफएक्स र व्हाट्सएप छ ।

– अहिले फिल्मको प्रोमोसन र हलहरुमा धाइरहेको टोलीमा तपाईं देखिनुहुन्न नि, किन ?

फिल्मको प्रोमोसनमा दीपक दाइ, दीपा दिदी र माग्ने दाइहरु हिँडिरहनुभएको छ । उहाँहरु यस क्षेत्रमा स्थापित भइसकेको मान्छे । उहाँहरु हिँड्नु नै काफी छ । त्यहाँ म उपस्थित हुँदैमा कुनै उथलपुछल भइहाल्ने हैन ।

आ-आफ्नो व्यक्तिगत कुरा पनि हो । हिँड्न रुचाउनुहुनेहरु हिँड्नु पनि हुन्छ । फेरि त्यो भन्दैमा म हिँड्दै नहिँड्ने पनि हैन । ‘छक्का पञ्जा’ को केसमा के छ भने यस चलचित्रमा पहिले नै स्थापित कलाकारहरु हुनुहुन्छ । उहाँहरुले बोल्दामात्र पनि दर्शकहरु हलसम्म आइदिनुहुन्छ । जसले जसरी प्रोमोसन गरे पनि एउटै त हो । आखिरमा हामी एउटा टीम न हौं ।

छायाँमा पर्‍यो, यो भयो, त्यो भयो भन्दा पनि चलचित्र भनेको एउटा टीम वर्क हो । चलचित्र उठे सबैजना उठ्ने हो । प्रोजेक्ट राम्रो भएन भने जो अगाडि आए पनि केही हुनेवाला छैन ।

चलचित्र रिलिजअघि दीपा दिदी र माग्ने दाइ प्रचारमा हिँड्दा दीपक दाइ र म कलर करेक्सन र साउन्डको काममा व्यस्त थियौं । पछि सबै काम सकिएपछि मात्र दीपक दाइ प्रचारमा हिँड्न थाल्नुभएको हो । मेरो काम ट्रेलर तयार पारेर दिइञ्जेलसम्म थियो । जहाँबाट जसरी भए पनि योगदान पुर्‍याउनु न हो । मलाई अघि देखिएर भन्दा पछाडि बसेरै काम गरेको मनपर्छ ।

– दर्शकमाझ जति देखियो, त्यति आफ्नो पनि प्रचार हुने हो भन्ने कुरालाई मान्नुहुन्छ या हुँदैन ? यसरी लुकेर बस्दा आफू छायाँमा परेजस्तो लाग्दैन ?

यो प्रश्न मैले मेरो करियरको पहिलो दिनदेखि नै सुन्दै आएको हो । ‘होस्टेल’ को बेलामा पनि निर्माताले निर्देशकलाई छायाँमा पार्‍यो भन्ने कुराहरु आएका थिए । त्यो समय पनि मलाई धेरैले तपाईं किन अन्तर्वार्ता दिनुहुन्न ? निर्देशक को भन्ने कसैलाई थाहा नै छैन भन्ने जस्ता कुराहरु गर्नुहुन्थ्यो । छायाँमा पर्‍यो, यो भयो, त्यो भयो भन्दा पनि चलचित्र भनेको एउटा टीम वर्क हो । चलचित्र उठे सबैजना उठ्ने हो । प्रोजेक्ट राम्रो भएन भने जो अगाडि आए पनि केही हुनेवाला छैन ।

कुरा छायाँको हैन, कामको हो । कसरी राम्रो काम गर्न सकिन्छ, त्यो मनन गर्नुपर्‍यो । म त भर्खर सिक्दै गरेको मान्छे । मलाई यस क्षेत्रमा अझै धेरै सिक्नुछ । नेपाली सिने क्षेत्र अहिले पनि सोचे जस्तो भइसकेको छैन । न राम्रा चलचित्रहरु आइरहेका छ, न सोचे जस्तो प्रतिक्रिया नै न त हाम्रो फिल्म बाहिर आ‍ेटीटी प्लेटफर्मसम्म पुर्‍याउन सकिएको छ । त्यसैले यो छायाँ यताउता भन्दा पनि हामी कहाँ चुकिरहेका छौं, त्यो पत्ता लगाउनेतर्फ लाग्नुपर्‍यो । काम राम्रो गर्दै गइयो भने नाम आफैं आउने चिज हो । लुकाएर लुक्दैन ।

– एउटा स्थापित ब्रान्डसँग काम गर्दा कतिको सजिलो अथवा अप्ठ्यारो महसुस गर्नुभयो ?

काम गर्न सजिलो वा अप्ठ्यारो भनेको एउटा स्थापित ब्रान्डसँग मात्र हैन, सबैसँग उस्तै हो । उहाँहरुसँग काम गर्दा धेरै कुरामा सहज हुन्थ्यो । लोकेसन अनि केही स्रोतहरू आवश्यक पर्दा उहाँहरुले सहजै प्रदान गर्दिनुहुन्थ्यो ।

पहिलाका मेरा चलचित्रहरु छायांकन गर्दा, कुनै लोकेसन मनपर्‍यो भने त्यो लोकेसनको लागि त्यहाँका बासिन्दा अथवा निश्चित संस्थासँग बिन्ती बिसाउनुपर्थ्यो । तर, उहाँहरुको नामले गर्दा पनि त्यस्ता कुराहरुमा कुनै बाधा आउँदैन थियो । दीपक-दीपा हो वा छक्कापञ्जा हो भन्नेबित्तिकै पुग्ने । उहाँहरु पोख्त मान्छे भएकाले धेरै कुरामा सहज भयो । मैले आफैं पनि धेरै कुराहरु सिक्ने मौका पाएँ । उहाँहरुको काम गर्ने तरिकाहरु बुझ्ने मौका पाएँ । समग्रमा रमाइलो भयो ।

नेपाली सिने क्षेत्र अहिले पनि सोचे जस्तो भइसकेको छैन । न राम्रा चलचित्रहरु आइरहेका छ, न सोचे जस्तो प्रतिक्रिया नै न त हाम्रो फिल्म बाहिर आ‍ेटीटी प्लेटफर्मसम्म पुर्‍याउन सकिएको छ । त्यसैले यो छायाँ यताउता भन्दा पनि हामी कहाँ चुकिरहेका छौं, त्यो पत्ता लगाउनेतर्फ लाग्नुपर्‍यो ।

कुरा आयो गाह्रोको । उहाँहरु परिचित अनुहार भएकाले सुट जहाँ पनि गरौं भन्न चाहिँ मिल्दैनथ्यो । नपाउने लोकेसनहरु भएको खण्डमा जहाँ छौं त्यही क्यान्डिड सुट गरौं न भन्न नमिल्ने । उहाँहरुलाई बाहिर निकाल्नेबित्तिकै सबैले चिनेर घेरिहाल्ने । यस्ता यस्ता कुराहरुमा भने अलिकति गाह्रो भएको थियो ।

– यो चलचित्रमा निर्देशन गर्दा कतिको स्वतन्त्र महसुस गर्नुभयो ? कलाकारहरु आफैं पोख्त भएको चलचित्र निर्देशन गर्दा केही कुरामा रोकछेक भएन ?

तपाईंले कसरी लिनुहुन्छ भन्ने कुरा पनि हो । चलचित्र एउटा टीम वर्क हो । ‘छक्का पञ्जा’ मा मात्र होइन जुनै चलचित्रमा काम गर्दा पनि म सबैको सुन्ने मान्छे हो । म काम आफ्नो तरिकाले गरे पनि टीममा सबैको सुन्छु । सबैको प्रतिक्रिया लिन्छु । यदि कसैले राम्रो प्रतिक्रिया दिनुभयो भने म त्यसलाई आत्मसात गर्छु । चाहे त्यो कलाकारको होस् या प्राविधिक टीमको ।

यस्तो अवस्थामा दीपक दाइ र दीपा दिदीको कुरा नसुन्ने त कुरै हुँदैन । उहाँहरु मभन्दा धेरै जान्ने मान्छे । ‘छक्का पञ्जा’ को मूल सार मलाई भन्दा उहाँहरुलाई धेरै थाहा छ । यत्रो समयदेखि उहाँहरुले बनाएको चिज हो, अनि उहाँहरुकै फ्रेन्चाइज पनि । दर्शकहरुलाई मैले भन्दा धेरै उहाँहरुले बुझ्नुुभएको छ । काम गर्दा कतिपय दृश्यहरुमा उहाँहरुले यो नगरौं, बरु यस्तो गरौं, दर्शकलाई यस्तो मनपर्छ भनेर भन्नुहुन्थ्यो । त्यसैले कुनै कुरामा रोकछेक भन्दा पनि यो टीमवर्क हो । काम गर्दा सबैको सल्लाह-सुझाव लिनुपर्छ ।

– स्याडो डाइरेक्टर दीपकराज नै हुन् भनिन्छ नि ?

स्याडो डाइरेक्टर त मलाई नै भन्दै हुनुहुन्छ सबैले । म छायाँमा परे भन्ने कुरा आइरहेको समयमा दीपक दाइ कसरी स्याडो डाइरेक्टरमा पर्नुहुन्छ र ? अब भित्री कामको दौरानमा उहाँले निर्देशन गर्नुभएको हो, त्यसैले उहाँ स्याडो डाइरेक्टर हो भन्नुहुन्छ भने चाहिँ त्यसको उत्तर हो- नो ।

उहाँ चलचित्रको लेखक हो । लेखक भएपछि चलचित्र छायांकनका दौरान उहाँको प्रत्यक्ष संलग्नता हुन्छ नै । सल्लाह-सुझाव आउँछ नै । लेखक भएपछि उहाँले नबोले कसले बोल्छ ? तर, निर्देशकीय पाटो नै उहाँले सम्हाल्नुभएको हो भन्न चाहिँ मिल्दैन । यहाँ पनि त्यही कुरा आउँछ- यो एउटा टीम वर्क हो । र अर्को कुरा, हामी यस्ता कुराहरुलाई कसरी लिन्छौं ? छायांकन चलिरहँदा उहाँ आएर केही सल्लाह दिनुभयो वा केही दृश्यहरु अदलबदल गर्दिनुभयो भने म रिसाउन पनि मिल्छ । त्यो मेरो कुरा हो । तर, म त्यसरी सोच्दिनँ । मलाई थाहा छ, उहाँ लेखक हो भनेर । लेखकले योगदान नदिए कसले दिने ?

म काम आफ्नो तरिकाले गरे पनि टीममा सबैको सुन्छु । सबैको प्रतिक्रिया लिन्छु । यदि कसैले राम्रो प्रतिक्रिया दिनुभयो भने म त्यसलाई आत्मसात गर्छु ।

दीपक दाइले मात्र हैन, दीपा दिदी र माग्ने दाइले पनि आफूलाई लागेको सल्लाह दिनुहुन्थ्यो । कुरा यति हो, दीपक दाइ चलचित्रको लेखक भएकाले उहाँको अलिकति धेरै सल्लाहहरु आउँथ्यो । तर, उहाँले निर्देशन गरिरहेको वेला बीचमा आएर यस्तो नगरौं चाहिँ कहिल्यै भन्नुहुन्थ्यो ।

– कमेडी तपाईंको जनरा त होइन । तर पनि यो फिल्म निर्देशन गर्न कसरी राजी हुनुभयो ?

म खासमा कुनै पनि जनराको हैन । त्यसैले त भिन्न-भिन्न प्रकारका चलचित्रहरु गरिरहेको छु । मेरो चलचित्र निर्देशनको छनोट आफैं हेर्नुहोस् न ! कहिले लभस्टोरी बनाइरहेको हुन्छु त कहिले रहस्यवाला चलचित्र ! कहिले भरपुर कमेडी भएको चलचित्र बनाइरहेको हुन्छु । मलाई नै थाहा छैन म के गरिरहेको छु भनेर । म यस क्षेत्रमा भर्खर सिक्दै गरेको मान्छे हो । म मेरो जनरा म आफैं खोज्दैछु ।

– ‘छक्का पञ्जा’को आगामी सिक्वेल पनि तपाईंले नै निर्देशन गर्ने सम्भावना कति छ ?

यसको उत्तर अहिले ठ्याक्कै भन्न सकिँदैन । जे पनि हुनसक्छ ।

– तपाईंले नै डेब्यु गराएका हिरो अनमोलको फिल्म पनि सँगसँगै लाग्यो । यसरी जुध्नुपर्दा तपाईंलाई कतिको दुःख लाग्यो ?

आफूले डेब्यु गराएको हिरोमात्र हैन त्यो ठाउँमा अरु जुनै चलचित्र भए पनि नराम्रो लाग्छ । एउटै क्षेत्रमा भएपछि कतै न कतै, केही न केहीबाट चलचित्रहरु जोडिन्छन् नै । चाहे त्यो कलाकारहरुले होस् या प्राविधिक कुराहरुले । खासै बलिया हिन्दी चलचित्रहरु नभएको समयमा दुई नेपाली चलचित्रले राम्रो गरोस् भन्ने थियो । तर, सोचे जस्तो भएन ।

मेरो लागि त यो झन् एउटा चुनौती हो । किनकि अनमोलसँग हामी फेरि सहकार्य गर्दैछौं । अहिलेको चलचित्रबाट नराम्रो प्रतिक्रिया आउँदा उसले आगामी चलचित्रमा झन् मेहनत गर्नुपर्ने हुन्छ । त्यसैले समग्रमा भन्नुपर्दा (यसरी जुधेको) नराम्रो लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर