स्ववियु चुनावको मुखमा आचारसंहिताविपरीत त्रिचन्द्रमा फर्जी विद्यार्थी भर्ना – Nepal Press

स्ववियु चुनावको मुखमा आचारसंहिताविपरीत त्रिचन्द्रमा फर्जी विद्यार्थी भर्ना

काठमाडौं । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गरी काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आचारसंहिताविपरीत विद्यार्थी भर्ना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले माघ २२ गते पारित गरेको स्ववियु निर्वाचन आचारसंहितासम्बन्धी निर्देशिका २०७९ अनुसार स्ववियु निर्वाचन कार्यतालिकापछि स्नातक तहमा भर्ना गर्न पाइँदैन ।

तर, त्रिचन्द्र क्याम्पसमा भने स्नातक तहको प्रथम वर्षमा विद्यार्थी भर्ना भएको पाइएको हो । आचारसंहितामा ‘त्रिविले स्ववियु निर्वाचन तालिका प्रकाशित गरेको ठीक ७ दिनले हुन आउने मितिबाटै सम्पूर्ण क्याम्पसमा स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिने’ उल्लेख गरिएको छ ।

स्ववियु निर्वाचन हुने त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त कलेजमा निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

त्रिविले फागुन ४ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । निर्देशिकाअनुसार फागुन ४ गतेपछि स्नातक तहमा विद्यार्थी भर्ना गर्न पाइँदैन । फागुन ४ गतेसम्म व्यक्तिगत भौचर काटेर.भर्ना गरिसक्नुपर्नेछ ।

तर, आचार संहिता उल्लंघन गर्दै फागुन ४ गतेको भर्ना तालिकाविपरीत १०, ११, १५ र १७ गते गरी त्रिचन्द्र क्याम्पसमा करिब ३० जना विद्यार्थी बीए प्रथम वर्षमा भर्ना भएका छन् । निर्वाचन जित्न आफ्नो संगठन निकट फर्जी विद्यार्थीलाई भर्ना गरिएको हो ।

नेपाल प्रेसले प्राप्त गरेको सूचीमा एकजनाले अपाङ्ग कोटाअन्तर्गत भर्ना गरेको पाइएको छ । भर्ना भएकामध्ये निराजन जोशी फागुन ११ गते अपाङ्ग कोटामा भर्ना भएका हुन् ।

आचारसंहितामा जनआन्दोलन घाइते कार्ड, सहिद परिवारको सदस्य र अपाङ्ग सुविधामा क्याम्पसमा भर्ना गर्दा त्रिविको निर्णयअनुसार विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको अनिवार्य रूपमा सिफारिसपत्र ल्याएकोलाई मात्र मतदाता सूचीमा नामावली समावेश गर्न दिइने उल्लेख छ । तर, अपाङ्ग सुविधामा भर्ना गरेका जोशीले निर्देशनालयबाट सिफारिसपत्र ल्याएको पाइएको छैन ।

निर्वाचन आचारसंहिताविपरीत फर्जी विद्यार्थी भर्ना गर्न नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघको हात रहेको आरोप छ । त्रिचन्द्र कलेजका एक विद्यार्थी नेताका अनुसार नेविसंघले फर्जी विद्यार्थी भर्ना गर्न २ लाख रुपैयाँ डिपोजिट गरेको थियो । नेविसंघले क्युआरमार्फत एक पटकमा १ लाख रुपैयाँ तिरेको पाइएको छ ।

सोही २ लाख डिपोजिट बराबरको ३१ जना भर्ना हुनुपर्ने अन्यथा चुनाव हुन नदिने भन्दै अड्चन थापेको थियो । नेविसंघको यस्तो मागपछि क्याम्पस व्यवस्थापन अरु विद्यार्थी संगठनहरुसँग बैठक बसेको थियो । नेविसंघको प्रस्ताव खारेज गर्ने भनेर माइन्युट गरियो ।

तर, माइन्युटविपरीत क्याम्पस प्रशासन र नेविसंघको मिलेमतोमा फर्जी भर्ना गरिएको आरोप छ । निर्वाचन कार्यतालिकाअनुसार २१ गते नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हो । तर, विद्यार्थी नेताहरुको अवरोधको कारण २१ गते नामावली प्रकाशन भएन ।

आचारसंहिताविपरीत फर्जी भर्ना गरिएको विषयमा सोध्न हामीले क्याम्पस प्रमुख सुनिल अधिकारीलाई पटक पटक सम्पर्क गर्‍यौं । तर, अधिकारीले फोन उठाएनन् । क्याम्पस स्रोतका अनुसार उनी क्याम्पस नआई बाहिरबाहिरै बैठक बस्ने गरेका छन् । आज पनि निर्वाचनसम्बन्धी छलफल गर्न उनी क्याम्पस आएनन् । क्याम्पस बाहिरै छलफलमा बसेको स्रोतले बताएको छ ।

निर्वाचन समितिका सदस्य इन्द्रकलाले भने निर्देशिका विपरीत त्यस्ता गतिविधि नभएको दाबी गरिन् । निर्देशिका विपरीत एक इन्च पनि तलमाथि नभएको उनको जवाफ थियो ।

११ विद्यार्थी संगठनको आपत्ति

क्याम्पस प्रशासनसँगको मिलेमतोमा भर्ना तालिकाविपरीत नेविसंघले फर्जी विद्यार्थी भर्ना गरेको त्रिचन्द्रका विभिन्न विद्यार्थी संगठनको आरोप छ ।

स्वच्छ, मर्यादित, निष्पक्ष र धाँधलीरहित निर्वाचन प्रक्रिया प्रमुख सर्त रहेकाले फर्जी भर्ना खारेज गरी अविलम्ब मतदाता नामावली प्रकाशन गर्नका त्रिचन्द्र क्याम्पस निर्वाचन अधिकृत र क्याम्पस प्रशासनलाई नेविसंघबाहेकका ११ विद्यार्थी संगठनले माग गरेका छन् ।

साथै फागुन ४ गतेदेखिका सम्पूर्ण भर्ना खारेज गरी मतदाता नामावली प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ । ११ विद्यार्थी संगठनको मागलाई बेवास्ता गरी अघि बढ्न खोजे जस्तोसुकै घटना हुन सक्ने र त्यसको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन र निर्वाचन समिति हुने उनीहरुले बताएका छन् ।

के भन्छ नेविसंघ ?

त्रिचन्द्रमा फागुन ४ गतेपछि भर्ना हुनुमा नेविसंघको हात रहेको बताइए पनि संगठनका कार्यकर्ता स्वीकार गर्दैनन् । नेविसंघका नेता विपीन ढुंगानाले फर्जी विद्यार्थी भर्ना नगरेको दाबी गरे । क्युआरबाट भर्ना गरेको उनको भनाइ छ ।

‘क्याम्पसको खातामा पैसा हालेको हो । संगठनहरुले विवाद बनाए । क्युआरबाट गरेको भर्नालाई फर्जी भनिदिए’, उनले भने । कोभिडको बेला क्युआरबाट गरेको भर्ना सही हुने र अहिले फर्जी भन्न नमिल्ने उनले तर्क गरे ।

यद्यपि, त्रिविको निर्देशिकामा क्युआरको विषयमा केही उल्लेख छैन ।

चुनाव हुनेमा आशंका

त्रिचन्द्रमा चुनाव नै होला कि नहोला भन्ने अशंका रहेको विद्यार्थी नेताहरु बताउँछन् । अनेरास्ववियुका त्रिचन्द्र अध्यक्ष सुनिल कँडेल भन्छन्, ‘२१ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो । अझै भएको छैन । एकछिन चुनाव हुन्छ जस्तो हुन्छ । फेरि एकछिनमै चुनाव हुँदैन जस्तो माहोल हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर