आज लदी पर्व मनाउँदै माझी समुदाय, तीन गाउँपालिकाले दिए बिदा – Nepal Press

आज लदी पर्व मनाउँदै माझी समुदाय, तीन गाउँपालिकाले दिए बिदा

हेटौँडा । माझी समुदायले आज आफ्नो मुख्य पर्व लदी (कोसी पूजा) मनाउँदै छन् । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार विशेष पर्वको रूपमा मनाउने लदी पर्व यस वर्षको फागुनको तेस्रो साता मङ्गलवार आज परेको छ ।

माझी समुदायको मुख्य पेसा नदीमा डुङ्गा तार्ने, माछा मार्ने रहँदै आएको छ । जसअनुसार नदीमा माछा मार्दा र डुङ्गा तार्दा नबगाओस् भन्ने कामनासहित वर्षेनी माझी समुदायले लदी पर्वको दिन विशेष पूजाआजा गर्दै आएका छन् ।

माझी समुदायले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन् ।

लदी पर्वको अवसरमा माझी समुदायको बाक्लो बस्ती रहेको मकवानपुरको बकैया र बागमती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । यसअघि अघिल्ला वर्षहरूमा पनि यी गाउँपालिकाहरूले लदीमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

गत वर्ष बागमती प्रदेश सरकारले समेत लदी पर्वमा सार्वजनिक बिदा दिएको थियो तर यस वर्ष भने बिदा दिएको छैन ।

देशमा सबैभन्दा बढी माझी समुदायको बसोबास रामेछापमा रहेको छ । रामेछाप पछि मकवानपुर र सिन्धुलीमा माझी समुदायको बाक्लो बसोबास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर