नेपाल र भारतमा जलनको उपचार प्रविधि एउटै, भण्डारीलाई यसकारण गरियो रिफर – Nepal Press

नेपाल र भारतमा जलनको उपचार प्रविधि एउटै, भण्डारीलाई यसकारण गरियो रिफर

चिकित्सक भन्छन्– भण्डारीलाई बचाउन ‘जटिल तर सम्भव’

काठमाडौं । बुधबार राति १० बजे एलपी ग्याँस सिलिण्डर लिक भएर दुर्घटना हुँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते भइन् । आमाको उपचारका क्रममा निधन भइसकेको छ भने भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

घटनापछि भण्डारीका आमालाई तत्कालै उपचारका लागि मीनभवनमा रहेको सिभिल अस्पताल पुर्‍याइएको थियो ।  भने ननेता भण्डारीलाई कीर्तिपूरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टरमा पुर्‍याइएकाे थियाे । उनको अनुहार, दुबै हात र दुबै गोडाहरुमा गरी २५– ३० प्रतिशत र आमाको ७० प्रतिशत शरीर जलेको थियो । आमाकाे सिभिलमा उपचार सम्भव नहुने भएपछि किर्तिपूर अस्पताल पुर्‍याइयो । सोही अस्पतालमा आमाको उपचारको क्रममा निधन भएको हो ।

स्वासनलीमा तातो हावा र धुवाँको कारण जलन भएकाले उपचार जटिल बनेपछि नेता भण्डारीको थप उपचारका भारतको मुम्वईस्थित नेसनल बर्न सेन्टरमा लगिएको छ ।

के नेपालमा उपचार सम्भव छैन ?

नेता भण्डारीको उपचार नेपालमा सम्भव नभएकाले मुम्वई रिफर गरिएको कीर्तिपूर अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्रकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीद्वारा हस्ताक्षित विज्ञप्तिमा हालको श्रोत र साधनमा उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले मुम्वई रिफर गरिएको उल्लेख छ ।

चिकित्सकका अनुसार शरीरमा ४० प्रतिशतभन्दा बढी जलन भए उपचार जटिल हुन्छ । नेपालमा जलनको उपचार गर्ने दुईमध्ये एक अस्पताल कीर्तिपूरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टरले नै पर्याप्त मात्रामा स्रोत–साधन नभएको बताएपछि विभिन्न प्रश्नहरु उठेका छन् ।

के साँच्चै नेपालमा ३० प्रतिशत जलन भएकाहरुको उपचार सम्भव छैन त ? नेपालमा नेताको त उपचार सम्भव छैन भने नागरिकको अवस्था के होला भन्ने एकथरि बहस सुरु भएको छ ।

चिकित्सकहरुका अनुसार जलनका विरामीलाई यहाँ उपचार सम्भव नभएर भारत लगिने होइन । विदेशमा र नेपालमा एउटै प्रविधिले उपचार गरिने उनीहरुको भनाइ छ ।

‘बर्नको केसमा उपचार १०० प्रतिशत नै सफल हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ २० प्रतिशत जलेको विरामीको पनि उपचार जटिल भइदिन्छ,’ सुष्मा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. सन्तोष विक्रम भण्डारी भन्छन् ।

जलनकै उपचार गर्ने विशेष अस्पताल नेपालमा कीर्तिपूरस्थित नेपाल क्लिफ एण्ड बर्न सेन्टर र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल छन् ।

स्रोत साधनको कमी भएर भन्दा पनि हाइपोफाइल नेताको भएकाले अस्पतालमा भीड हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विदेश रिफर गरिएको हुन सक्ने भण्डारीले बताए ।

उनले नेपालप्रेससँग भने, ‘अलिकति हाइप्रोफाइल मान्छे भर्ना हुँदा अस्पताल पुरै भिड हुन्छ । बर्नको इन्फेक्सन हुने चान्स धेरै हुन्छ । अरु विरामीलाई पनि इन्फेक्सन हुनसक्छ । टेक्निकल बाहेकका कुराहरुलाई मध्यनजर गर्दै विदेश रिफर गरिएको हुन सक्छ ।’

हाइप्रोफाइल व्यक्ति भएको कारणले अस्पतालहरुले पनि रिक्स नलिने उनको भनाइ छ ।

डा. भण्डारीका अनुसार नेपालमा नभएको कुनै नयाँ उपचार प्रविधि भारतमा हुने होइन । विश्वव्यापी रुपमा कुन देशमा के प्रविधिबाट उपचार हुन्छ ती टेक्निकल कुराहरु नेपालमा पनि सेयर हुने उनी बताउँछन् ।

‘नेपालमा गरिने उपचार र भारतमा गरिने उपचारमा प्रोटोकल, मेडिसिनदेखि एण्टीबायटिक्स एउटै प्रयोग गरिन्छ,’ उनले थपे ।

स्वासको माध्यमबाट फोक्सोमा धुवाँ गएको विरामीकोे तीन–चार दिन घाँटी सुन्निने, स्वास फेर्न गाह्रो हुने भएकाले आइसीयू र भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुन्छ । तीन–चार दिनपछि घाँटीको सुन्निएको कम हुँदै आउँछ । त्यसपछि भेन्टिलेटरबाट निकालेर नर्मल उपचार गर्ने गरिन्छ ।

भण्डारी भन्छन्, ‘२०- २५ प्रतिशत जलेको भन्ने कुरा आएको छ । त्यतिको लागि भारत नै लैजानुपर्छ भन्ने छैन । यहीँ उपचार हुन्छ । जलन कतिको गहिरो छ भन्ने कुरा हो । तर ज्यान नै जाने खालको होइन ।’

कीर्तिपूर अस्पतालका जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मी भने भण्डारीको अवस्था जटिल भएकै कारण रिफर गरिएको दाबी गर्छन् ।

उनले नेपालप्रेससँग भने, ‘उहाँको जटिल अवस्था थियो, त्यही भएर हामीले रिफर गरेका हौं । २०/३० प्रतिशत जलनको उपचार यहीँ हुन्छ । तर उहाँको त्यो मात्र नभई स्वासनलीमा पनि जलन भएको कारणले हामी रिफर गरेका हौं ।’

विभिन्न खालका दवाबको कारण पनि रिफर गर्ने गरिएको उनले बताए । यस्तै खालका अरु विरामीलाई पनि रिफर गर्न सकिने उनको भनाइ छ ।

नकर्मी भन्छन्, ‘कति जना नेपाली विदेश उपचार गर्न जान सक्छन् ? सम्भव हुँदैन । कति जनालाई गर्ने ? हामीले गरेका पनि छौं । तर उहाँलाई परिवारको दवाबको कारण, अरु प्रेसरले पनि जान चाहनुभयो । पठाइयो ।’

विदेशमा उपचार नसक्ने विरामीहरुलाई कीर्तिपूर अस्पतालमै उपचार गराइराखेको डा. नकर्मीले बताए ।

उनले भने, ‘अब सबैलाई बचाउन सकिन्छ भन्ने पनि छैन । उहाँको अवस्था अलि जटिल नै हो । हामीले उपचार नै गर्न नसक्ने भन्ने पनि होइन । केही केहीलाई हामीले बचाएका पनि छौं । उहाँको उपचार सम्भव भए पनि १०० प्रतिशत नै भन्न सक्दैनौं ।’

प्रत्येक प्रदेशमा बर्न हस्पिटलको खाँचो

ग्यास लिक दुर्घटना,एसिड आक्रमण,आगो तथा विद्युत सर्ट भएर हुने जलनका दुर्घटना वर्षेनी वृद्धि भइरहेका छन् । हुन त यस्तो जटिल र संवेदनशील दुर्घटनाका घाइतेहरुको उपचार गर्ने सुविधासम्पन्न अस्पताल छैन भन्दा पनि फरक नपर्ला । जलनकै उपचार गर्ने दुई वटा मात्रै अस्पताल छन् ।

तर यस्तो जटिल र संवेदनशील दुर्घटनाका घाइतेहरुको उपचार गर्ने सुविधासम्पन्न अस्पताल पर्याप्त मात्रमा नबन्नु अझ ठूलो दुर्घटनालाई राज्यले दिएको निम्तो डा. भण्डारीको ठम्याइ छ ।

नेपालमा जलनको उपचार गर्ने संस्था नेपालभरि नै चारवटा छ । त्यसमा पनि मुख्य उपचार गर्ने भनेको दुई वटा अस्पताल मात्रै छ । सुष्मा कोइराला र कीर्तिपूर अस्पताल नै हो ।

नेपालमा जलनको उपचार गर्ने अस्पतालहरु पर्याप्त त छैन । कम्तिमा प्रत्येक प्रदेशमा एउटा एउटा जलनसम्बन्धी उपचार गर्ने संस्था युनिटहरुको स्थापना गर्नुपर्ने उनले बताए ।

‘यस घटनाबाट नेताले त उपचार पाएन भन्ने सन्देश जान सक्ने भन्दै यस्तो सन्देश जान नहुने हो । विदेशमा हुने नेपालमा नहुने बर्नको उपचार त्यस्तो केही पनि छैन ।’ उनले भने ।

उनको भनाइमा सहमत जनाउँछन् जलन उपचार विभागका प्रमुख डा. नकर्मी । जलनको उपचार गर्न नेपालमा चाहिनेजति पूर्वाधार नभएको उनी बताउँछन् । उनले भने,‘सुधार गर्नुपर्ने धेरै ठाउँहरु छन् । सुधार गरे कोही पनि विदेश जानु पर्दैन ।’

नेपाल प्रहरीको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १० वटा ग्यास विष्फोटका घटना भए । दुर्घटनामा १० जना घाइते भएका थिए । तीमध्ये सबैभन्दा बढी ६ वटा दुर्घटना काठमाडौमा भएका छन् । ग्यास लिक भएर दुर्घटना हुँदा काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । जसको मुख्य कारण नै ग्यासँ लिक भएर दुर्घटना भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर