काठमाडौं उत्रिए भारतीय विदेश सचिव क्वात्रा (भिडिओ) – Nepal Press

काठमाडौं उत्रिए भारतीय विदेश सचिव क्वात्रा (भिडिओ)

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं उत्रिएका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी काठमाडौं आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पौडेललगायतका परराष्ट्रका अधिकारी उनको स्वागतमा विमानस्थल पुगेका थिए ।

आज र भोलि उनले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटवार्ता गर्नेछन् ।

नेपाल-भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्र बैठकमा पनि उनी सहभागी हुनेछन् । बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । छलफलपछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रम राखेका छन् ।

भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटघाट गर्नेछन् ।

यो भ्रमणमा क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निम्तोसमेत दिने बताइएको छ ।

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्वावत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने छन् ।

विदेश सचिव हुनुअघि उनी नेपालमै राजदूत थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि भारतबाट भएको यो औपचारिक उच्चस्तरीय भ्रमण हो ।

प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारतलगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ ।

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर