रविको बचाउमा उभिँदै ओलीले भने- सर्वोच्चको फैसलाले कसलाई न्याय दियो ? (भिडिओ) – Nepal Press

रविको बचाउमा उभिँदै ओलीले भने- सर्वोच्चको फैसलाले कसलाई न्याय दियो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वोच्च अदालतको फैसलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटिलाई देखाएर लामिछानेमाथि अन्याय गरेको बताएका हुन् । सर्वोच्च अदालतको फैसलाबाट कसलाई न्याय भयो ? भन्दै उनले प्रश्न गरे ।

उजुरी गर्ने व्यक्तिलाई लामिछानेले के अन्याय गरेको भएर उजुरी गरेका हुन् भन्दै ओलीले प्रश्न तेर्स्याए । विदेशमा रहेका नेपालीहरूको मतदानको अधिकार दिने भनिरहँदा सभापति लामिछानेको विषयले गैरआवासीय नेपालीमाथि मताधिकार दिने वा नदिने भन्नेबारेमा प्रश्न उठेको ओलीले बताए ।

उनले भने, ‘सरकारका उपप्रधान तथा गृहमन्त्री र जनताले अत्याधिक मतले विजयी गराएर पठाएका सांसद रवि लामिछानेको सम्बन्धमा अदालतबाट एउटा मुद्दा फैसला भयो । हामी अदालतलाई सम्मान गर्छौं त्यसकारण त्यस निर्णयलाई मान्छौँ । उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ ? र उजुर गरे, के सरोकार हो, के कारणले हो, के अन्याय भयो र न्याय खोजे, एउटा असम्बन्धित व्यक्तिले उजुरी गरेको देखिन्छ । अदालतको काम त न्याय दिने हो, यस फैसलाबाट कसले न्याय पायो मैले बुझिनँ ।’

‘कुनै व्यक्ति, समूह, संस्था, राज्यका कुनै हक अधिकारमाथि उल्लंघन भयो भने रोक्नुपर्छ, तर सम्मानित सर्वोच्च अदालतको फैसलाले कुनै सस्टेन्सियल इरर भन्दैन, त्रुटि पनि तात्विक अर्थ राख्ने खालको भन्दैन, प्रक्रियागत त्रुटि । शुक्रबार रवि लामिछाने, जो पहिला नै आफ्नो स्टाटेजी सार्वजनिक गरिसकेका छन्, दोस्रो ढोका खुला रहेछ भनेर फुत्त पसेका होइनन्, निर्वाचन आयोगमा उजुरी परेको, उजुरी ठीक नठहरिएको, बदर भएको, उम्मेदवार हुन पाउँछ वैधानिक छ भनेर सदर गरेको, चुनाव लड्दा अत्याधिक मतले जनताले आफ्नो प्रतिनिधि छानेको । प्रक्रियागत त्रुटि हुन गएछ, त्यतिमा सांसद, पार्टी अध्यक्ष, गृहमन्त्री, उपप्रधानमन्त्री भयो । रवि लामिछानेलाई न्याय भएन भने कसलाई न्याय भयो त । कसले न्याय पायो, फैसलामा न्याय त कतै होला नि । कोही पनि देखिनँ । रवि लामिछानेसँग कुनैपनि सम्बन्ध छैन’, सदनमा ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर