महाराजगञ्ज कलेजमा डाक्टर पढ्ने विद्यार्थीलाई होस्टलको दु:ख, सरकार गुहार्दै सडकमा – Nepal Press

महाराजगञ्ज कलेजमा डाक्टर पढ्ने विद्यार्थीलाई होस्टलको दु:ख, सरकार गुहार्दै सडकमा

निजी होस्टलहरुबाट कमिसन खान कलेजले षड्यन्त्रपूर्वक हटाउन खोजेको उनीहरुको आशंका

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको माहोल सोमबार अन्य दिनभन्दा केही फरक देखियो । बिरामी र उनका आफन्तले भरिने अस्पतालमा बिहानैदेखि एमबीबीएस अध्ययनरत विद्यार्थीहरु प्लेकार्ड बोकेर बसेका थिए ।

के हुँदै रहेछ भनेर हेर्नेको भीड नै थियो । डाक्टर पढिरहेका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । हातहातमा प्लेकार्ड बोकेर नारा लगाउँदै थिए उनीहरु । आन्दोलनको नेतृत्व गरेका एक विद्यार्थीले ‘होस्टल हाम्रो अधिकार हो’ भन्दै माइकबाट नारा लगाए ।

आन्दोलन गर्ने विद्यार्थीहरु अन्त कतैको नभएर सरकारी स्वामित्वमा सञ्चालित त्रिवि महाराजगञ्ज मेडिकल कलेजका विद्यार्थी हुन् । महाराजगञ्ज मेडिकल कलेज टिचिङ अस्पतालको ठीक पछाडि छ । उक्त कलेजमा डाक्टर पढाइ हुन्छ । त्यही डाक्टरी पढाइभित्रको अनियमिततालाई बाहिर ल्याउन उनीहरु आन्दोलनमा उत्रिएका थिए । होस्टल आफ्नो अधिकार भएको भन्दै अस्पताल परिसरमै आन्दोलन गर्न बाध्य भएको पीडित विद्यार्थीहरु बताउँछन् ।

आन्दोलनरत विद्यार्थीहरुको साझा माग हो, शतप्रतिशत विद्यार्थीलाई छात्रावासको अनिवार्य व्यवस्था ।

घर भाडामा लिएर भए पनि विद्यार्थीहरुलाई शतप्रतिशत छात्रावासको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । उक्त माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै उनीहरुले क्याम्पसमा तालबन्दी गरेका छन् ।

उक्त कलेजमा एमबीबीएस, प्यारामेडिकल संकायअन्तर्गत बीडीएस, एमएचडी, एमआईडीलगायतका १५ सय जना विद्यार्थी अध्ययनरत छन् । तर, छात्रावासमा मुस्किलले साढे २ सय जनाले बस्न पाएका छन् ।

कलेजमा छात्रवृत्ति पाएका विद्यार्थीमात्रै एक हजार जना छन् । उनीहरु सबैले कलेजको होस्टलमा बस्न पाउनु त सपनामात्रै भएको छ । होस्टलमा छात्रवृत्ति नपाएका विद्यार्थीहरुले पनि बस्न पाउने नियम छ ।

होस्टल बस्दा भर्ना शुल्क न्यूनतम तोकिएको हुन्छ । होस्टलको शुल्क मासिक डेढ सय रुपैयाँ तिर्नुपर्छ । खानाको पैसा भने आफैं तिर्नुपर्छ । बाहिर होस्टल बस्नुपर्दा १५ हजार बढी तिर्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरु बताउँछन् ।

कलेजले वर्षौंअघि निर्माण भएको छात्रावासमा विद्यार्थीहरु भर्ना नगरेकाले दुर्गम क्षेत्र र गरिब विद्यार्थीहरु महँगो शुल्क तिरेर बाहिरी होस्टलमा बस्नुपरेको छ । कलेजले भर्ना नखोल्दा होस्टल खाली छ । तर, विद्यार्थीहरु बाहिरै बस्न बाध्य छन् ।

यसअघि कलेजले होस्टल नपुगेको अवस्थामा घर भाडामा लिएर पनि विद्यार्थी राखेको थियो । तर, यसपटक छात्रावास नपुगे पनि घर भाडामा लिनेतर्फ ध्यान दिइएको छैन । उल्टै होस्टलमा बसेका विद्यार्थीलाई अनेक दुःख दिइएको विद्यार्थीहरुको गुनासो छ ।

उनीहरुका अनुसार होस्टलमा बसेकालाई पानी, बत्तीको सुविधा दिइएको छैन । होस्टल दादागिरी कहिलेसम्म सहने भन्दै विद्यार्थीहरु आक्रोशित छन् ।

महाराजगञ्ज मेडिकल कलेजले ३५ वर्षअघि होस्टल खोलेको थियो । त्यसवेला पढ्ने विद्यार्थीहरु पनि कम थिए । संकायहरु कम थियो । त्यसवेलाको क्षमता हेरेर बनाएको पूर्वाधारमा अहिले संकायहरु निरन्तर बढेको छ । संकाय थपिएसँगै विद्यार्थीहरुको संख्या पनि बढ्यो । तर, होस्टलको क्षमता बढाइएन । जसले गर्दा २० जना बस्ने होस्टलमा अहिले १०० जना विद्यार्थीलाई राखिएको छ ।

भर्ना हुने विद्यार्थीहरु अस्वाभाविक रुपमा बढ्दा होस्टलमा सुत्ने ठाउँ नभएको उनीहरुको गुनासो छ । आफ्ना समस्याबारे क्याम्पस प्रमुख र जिम्मेवार व्यक्तिहरुको ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएको बताउँछन् विद्यार्थी सुजन घिमिरे ।

उनी भन्छन्, ‘धेरैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने र धेरै पैसा असुल्ने, नाफा लिनेमात्र काम भयो । तर, पूर्वाधार अभाव छ । पर्याप्त मात्रामा होस्टल छैन ।’

कलेजले अहिले ब्लक डी र ईको होस्टलमा बसिरहेका आफूहरुलाई मात्रै लक्षित गरेर बासविहीन बनाएको विद्यार्थीहरुको आरोप छ । ‘यो विद्यार्थीको मात्र समस्या नभई कलेजको होस्टलमा भएको बेथिति र कलेजको लाचारीपनविरुद्धको आन्दोलन हो’, घिमिरे भन्छन् ।

नेपाल मेडिकल काउन्सिलको नियमावलीमा कुनै पनि मेडिकल कलेज खोल्नुभन्दा अगाडि उक्त कलेजले ७५ प्रतिशत विद्यार्थीका लागि छात्रावासको व्यवस्था अनिवार्य गर्नुपर्छ । त्यसपछि मात्र सम्बन्धन दिइने व्यवस्था गरिएको छ ।

विराज मेडिकल कलेज र मनमोहन मेडिकल कलेज खोल्न खोज्दा यिनै पूर्वाधार नपुगेर सम्बन्धन नदिएको नजिर छ । तर, महाराजगञ्ज मेडिकल कलेजमा भने विद्यार्थीलाई पुग्ने पर्याप्त छात्रावास छैन । शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग कलेजलाई पुग्ने पूर्वाधार व्यवस्थापन गर्न र नभए कलेजको सम्बन्धन खारेज गर्न विद्यार्थीहरुले माग गरेका छन् ।

नेपालको पहिलो र उत्कृष्ट मेडिकल कलेज कहलिएको यो कलेजको दुरावस्थाले चिकित्सा क्षेत्रको बेइज्जती भएको विद्यार्थीहरुको गुनासो छ ।

आईओएममा पढ्ने सबै छात्रछात्रालाई होस्टलको अनिवार्य व्यवस्था हुनुपर्छ । स्वास्थ्य मन्त्रालयलेएमबीबीएस पढ्ने विद्यार्थीहरुको लागि करिब ४५ लाख रुपैयाँ छुट्याएको छ । गरिब जेहेन्दार विद्यार्थीको नामबाट छात्रवृत्ति पाएका विद्यार्थीहरुले होस्टल पाए पनि पानी र बत्ती नपाएको गुनासो गरेका छन् ।

‘कलेजले भित्र सक्दैन भने बाहिर भाडामा लिएर भए पनि होस्टलको व्यवस्था गर्नुपर्छ । बसिरहेकालाई निस्कन्छस् कि निकालिदिउँ भनेर दादागिरी देखाउन कतिको जायज हो’, पीडित विद्यार्थी घिमिरे प्रश्न गर्छन् ।

कलेजका अर्का विद्यार्थी अनुप सुवेदी भन्छन्, ‘छात्रावासको पूर्वाधार एकदमै अभाव भयो । विद्यार्थीहरु १५ सय जना छन् । छात्रवास २०० जनालाई पुग्नेछ ।’

मर्मतसम्भारको बहानामा अहिले बसिरहेका विद्यार्थीलाई हटाउन खोजिएको उनको भनाइ छ । उनले भने, ‘नयाँ व्यवस्थापन त छँदैछैन । सम्पूर्ण विद्यार्थीलाई छात्रावासको तुरुन्त व्यवस्था गरियोस् । कक्षा कोठा र क्यान्टिनको क्षेत्र बढाइयोस् ।’

सबै विद्यार्थीलाई होस्टेलको व्यवस्थापन गर्नुपर्ने ठाउँमा बसिरहेका विद्यार्थीलाई पनि विभिन्न बहानामा निकाल्न खोज्नु अन्याय भएको पीडित विद्यार्थीहरुको भनाइ छ ।

‘हामीलाई अन्त राखेर छात्रावास मर्मत गर्नुपर्थ्यो । तर, हामीलाई मात्रै हटाउन खोज्यो’, नाम खुलाउन नचाहने एक विद्यार्थीले भने, ‘होस्टलमा बस्नुपर्ने नियम छ । तर, होस्टल छैन । उल्टै हामीलाई हटाउन खोजिँदैछ ।’

उनले निजी होस्टलहरुबाट कमिसन खान आफूहरुलाई षड्यन्त्रपूर्वक कलेजले होस्टलबाट हटाउन खोजेको आशंकासमेत गरिन् ।

चिकित्सकले नै पाउँदैन आवासीय सुविधा

एनआईडीएका उपप्राध्यापक एवं आवासीय चिकित्सक डा. निकालेस भुसालले चिकित्सकहरुले नै आवासीय सुविधा नपाएको गुनासो गरे । देश बनाउँछु भनेर हिँडेको मान्छे सुरुवात आफ्नै कलेजबाट गर्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ ।

‘आवासीय चिकित्सकलाई नै आवासको व्यवस्था छैन । हामी नाम मात्रका आवासीय चिकित्सक भएका छौं’, डा. भुसालले भने, ‘बस्ने ठाउँ छैन । अनि कसरी आवासीय चिकित्सक भयौं । बरु गैरआवासीय चिकित्सक भन्दा हुन्छ ।’

उनका अनुसार सरकारबाट पैसा आउँदा पनि रेसिडेन्टले होस्टल पाएका छैनन् । एमबीएसले पहिलो वर्षदेखि अन्तिम वर्षसम्म होस्टल पाउनुपर्ने उनको भनाइ छ ।

आन्दोलित विद्यार्थीहरुले तीन महिनाभित्र होस्टलको व्यवस्था नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले यहाँ पढ्ने पढाउनेभन्दा पनि आवश्यक सुविधा पाउन आन्दोलन गर्नुपर्ने बाध्यता रहेको गुनासो छ ।

‘जबसम्म हामीले ताला लगाउँदैनौं, धर्ना दिँदैनौं तबसम्म हाम्रो कुरै सुनिँदैन । हामीलाई ताला लगाउन बाध्य पारिँदैछ’, उनीहरुले भने, ‘पढाइ छोडेर दिनदिनै आन्दोलन गर्नुपर्ने अवस्था आएको छ । हालत यस्तो बनाइदियो । आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो ।’

छात्रावास व्यवस्थापनमा क्याम्पस निरीह भयो : अखिल क्रान्तिकारी

अनेरास्ववियू (क्रान्तिकारी) ले पनि विज्ञप्ति जारी गर्दै महाराजगञ्ज मेडिकल क्याम्पसमा घृणित बनेको छात्राबासको विषय देशको ७७ जिल्लाबाट प्रतिनिधित्व गर्दै, प्रतिस्पर्धा गर्दै आएका विवेकशील तथा लगनशील आम विद्यार्थी तथा लाचार क्याम्पस प्रशासनलाई अवगत भएको उल्लेख गरेको छ ।

‘बढ्दो विद्यार्थी संख्याको अनुपातमा क्याम्पसले उचित ढङ्गबाट सुरक्षित छात्रावासको व्यवस्था नगर्दा विगतदेखि नै विद्यार्थीहरुले असुरक्षित, व्यापारिक तथा लामो दूरीको छात्रावासहरुमा बाध्यताबस समय व्यतित गर्दै आउँदा शिक्षण सिकाइ क्रियाकलापमा नराम्रो असर पर्न गई परिणाम खस्किँदै गएको पक्षलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले मसिनो ढङ्गबाट केलाइ सुरक्षित छात्रावास व्यवस्था गर्नुको सट्टा बेवास्ता गरेको कुरा स्पष्ट रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

कलेजमा हाल करिब २५० जना छात्रा छन् । तर, ५० जनालाई मात्र छात्रावास उपलब्ध छ । साथै छात्रावासमा देखिएको अनियमितता, वातावरण प्रदूषण अनि छात्रावास वितरणको अपारदर्शी तथा अन्यायपूर्ण वितरणको मुकदर्शक र अभिभावकीय भूमिकामा रहेको क्याम्पस निरीह बन्दै गएको अखिल क्रान्तिकारीको ठहर छ ।

हाल उपलब्ध छात्रावासको न्यायोचित, पारदर्शी र कुनै राजनीतिक प्रभावमा नपरिकन, वितरण प्रणालीमा सुधारसहित तत्काल भर्ना खोल्न पनि उसले माग गरेको छ ।

विद्यार्थी संख्याको अनुपातमा सुरक्षित ढङ्गले सम्पूर्ण सङ्काय तथा सम्पूर्ण वर्षका विद्यार्थीहरुलाई छात्रावासको तत्काल वैकल्पिक व्यवस्था गर्न अखिल क्रान्तिकारीका संयोजक अशोक जिएमले माग गरेका छन् ।

सम्पर्कमै आएनन् क्याम्पस प्रमुख

यस विषयमा नेपालप्रेसले क्याम्पस प्रमुख प्रा. डा. अर्जुन लामिछानेलाई पटक-पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । प्रा.डा. लामिछानेसँग सम्पर्क हुन नसकेपछि नेपालप्रेसले क्याम्पसकी उपप्राध्यपक प्रा. डा. सुनिती जोशी रावलसँग सम्पर्क गरेको थियो ।

तर उनले प्रतिक्रिया दिन चाहिनन् । उनले आफू व्यस्त रहेको भन्दै फोन काटिन् ।

यस्तै नेविसंघ र अनेरास्ववियुले विज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर