ओलीलक्षित माधव नेपालको टिप्पणी- अझै प्रतिनिधिसभा विघटन गरेर पनि गजब गर्‍यौं भन्नेहरू छन् (भिडिओ) – Nepal Press

ओलीलक्षित माधव नेपालको टिप्पणी- अझै प्रतिनिधिसभा विघटन गरेर पनि गजब गर्‍यौं भन्नेहरू छन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति गल्ती नस्वीकारेको टिप्पणी गरेका छन् ।

नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ संसदमा पनि विघटनको चर्चा चलेको बताए ।

नेपालले भने, नयाँ प्रतिनिधिसभाको बैठक बस्न गइरहेको सन्दर्भमा त्यतिखेर प्रतिनिधिसभा विघटन गरेर गजबको काम गरियो भन्ने अहिले पनि सुन्नमा आयो । सुन्यौं । अनि यो गठबन्धन सरकार कस्तो पो रहेर भन्ने हाम्रो मनमा गम्भिर प्रश्न खडा भएको छ ।’

प्रतिगमनका विरुद्धमा संघर्ष गरेर आम जनताको माझमा गएको स्मरण गर्दै सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरेको उनको दाबी थियो ।

उनले भने, ‘सर्वोच्च अदालतले संविधानको सही व्याख्या गर्‍यो । तर, फेरि दोस्रो पटक विघटन गरियो । सबै हिसाबले गलत भएको पुष्टि हामीले गरिदियौँ । फेरि अहिले निर्वाचनमा पछिको नयाँ समीकरमा मध्यावधिको चर्चा आयो । कतिपयले यो संसदले पनि पूर्ण कार्यकाल पूरा गर्न नपाउँदै विघटनको प्रत्यत्न हुँदैन त भन्ने प्रश्न उठ्यो ।’

प्रतिनिधि सभा विघटनबारे वर्तमान सरकारमा प्रधानमन्त्रीलाई आफूले प्रश्न गरेको बताए । आफूले राजनीतिक स्थायित्व होस् भन्ने चाहेको उल्लेख गरे । उनले सरकारमा बसेको व्यक्तिहरुले संविधानको रक्षा गर्दै सही बाटोमा अघि बढ्न दबाब दिने बताए ।

उनले भने, ‘यही कारणले हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन पर्‍यो । हामीले १७ महिना पार गरेका छौँ । हामीले विगतमा जस्तो चुनौती पार गरेका थियौं । अब आउने दिनमा पनि त्यस्तै चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्छ। ’

नेपालले आफ्ना नेता कार्यकर्तालाई राजधानी केन्द्रित मात्र नहुन पनि निर्देशन दिए ।

उनले भने, ‘सदरमुकाममा मात्रै बसेर पनि हुँदैन । तर, मैले उम्मेदवार बन्न पाएँकि पाइनँ भनेर टाउको समातेर बसेर पनि हुँदैन । उम्मेदवार त बन्न पाइयो समानुपातिकमा एक नम्बरमा नाम चढ्यो कि चढेन त्यही गीत गाएर पनि हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर