डलर साटने बहानामा लुटपाट गर्ने चारजना पक्राउ, १७ सय बढी डलर बरामद – Nepal Press

डलर साटने बहानामा लुटपाट गर्ने चारजना पक्राउ, १७ सय बढी डलर बरामद

हेटौंडा । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको आरोपमा हेटौँडामा पक्राउ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

विभिन्न जिल्लाका मानिसहरुलाई मोबाइलबाट सम्पर्क गरेर आफूसँग अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटने ४ जनालाई पक्राउ गरि बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका३ बस्ने २१ वर्षीय हरि भन्ने सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बर वडाका २८ वर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय सुक भन्ने देवा डुम्जुन रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बुधबार दिउँसो विशेष सूचनाको आधारमा हेटौंडा–१७ हटिया स्थित सालक पार्कबाट उनीहरुलाई पक्राउ गरिएको बताए । उनले उक्त समूहबाट एक जना फरार रहेको र थप अनुसन्धान भइहेको बताए ।

प्रहरीले उनीहरुको साथबाट १ हजार ७४१ डलर, नेपाली ६ हजार २१० नेपाली रुपैयाँ, बा ५० प ९३७२ नम्बरको मोटरसाइकल, बा प्र ०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल र बा प्र ०२-०३४ प ४२८७ नम्बरको तीन वटा मोटरसाइकल बरामद गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर