मेरो भित्री दिलले राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्दैछः रामचन्द्र पौडेल – Nepal Press

मेरो भित्री दिलले राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्दैछः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमाथि विभिन्न खाले खतरा उत्पन्न भएको भन्दै राष्ट्रिय सहमतिको आह्वान गरेका छन् । उनले अझै पनि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गर्नुपर्नेमा जोड दिए ।

स्पिकर्स फोरम नेपालले आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै पौडेलले आफ्नो दिलले यस्तो बाटो देखाएको बताए ।

उनले भने, ‘यो देशलाई र डेमोक्रेसीलाई जोगाउनका लागि फेरि राष्ट्रिय सहमतिको खोजी गरौं । अहिले पनि राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ भन्ने लाग्छ । यो मलाई आफ्नो भित्री दिलले देखाएको बाटो हो ।’

पौडेलले एकातिर अर्थतन्त्र खतरनाक अवस्थामा रहेको र अर्कोतिर चीन र भारत हुँदै फेरि कोरोना नेपाल पस्न लागेको उल्लेख गरे । राजनीतिक तथा मानवीय समस्याले घेरिरहेका बेला देश जोगाउने एकमात्र उपाय राष्ट्रिय सहमति नै रहेको उनको दाबी छ ।

‘मैले आफू बाहिर परेँ भनेर यो कुरा निकालेको होइन । म एउटा नेपाली भएर भनिरहेको छु । नेपालीको स्वार्थमा, यो डेमोक्रेसीको स्वार्थमा, ७० वर्ष लडेर प्राप्त गरेको परिवर्तन तथा संविधानको स्वार्थमा फेरि राष्ट्रिय सहमति खोजौं । हामी बाँच्ने बाटो यही नै हो,’ उनले भने ।

अहिले कांग्रेस नेतृत्वको गठबन्धन भत्किनुलाई पार्टीको हातबाट सत्ता गयो भन्ने अर्थमा मात्रै आफूले नरहेको पौडेल बताउँछन् ।

‘मलाई फेरि पनि व्यवस्था र राष्ट्रको चिन्ता लागेको छ,’ उनले भने, ‘त्यसैले अब राष्ट्रिय सहमतिको बाटोमा अघि बढौं ।’


प्रतिक्रिया

One thought on “मेरो भित्री दिलले राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्दैछः रामचन्द्र पौडेल

  1. लाजको पसारो । जव जव कांग्रेस सत्ता बाहिर हुन्छ तव तव यिनलाई राष्ट्र र प्रजातन्त्र खतरा मा परेको भन्ने चिन्ता लाग्छ । लाग्छ यिनलाई बाहेक अरू कसैलाई देशको चिन्ता छैन ।

Leave a Reply to घनेन्द्र अधिकारी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर