सुदूरपश्चिममा कांग्रेसलाई संसदीय दलको नेता छान्न सकस – Nepal Press

सुदूरपश्चिममा कांग्रेसलाई संसदीय दलको नेता छान्न सकस

कैलाली । सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले अहिले सम्म संसदीय दलको नेता छनोट गर्न सकेको छैन । प्रदेश सभा बैठक सुरु भइसक्दा पनि कांग्रेसले दलको नेता चयन गर्न नसकेको हो।

पार्टी भित्र संसदीय दलका आकाङ्क्षीहरू धेरै भएको हुँदा दलको नेता छनोट गर्न समस्या भइरहेको हो ।

अहिले कांग्रेसका आधा दर्जन प्रदेश सभा सदस्य दलको नेता बन्न लागिपरेका छन् । यहाँ काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवा , बहादुर सिंह थापा, दिवानसिंह विष्ट, कमल बहादुर शाह, प्रकाश बहादुर बम र मेघराज खड्का गरी ६ जनाले संसदीय दलको नेतामा दाबेदारी गरेका छन् ।

उनीहरू बिच अझै सम्म पनि सहमति जुट्न सकेको छैन ।

अहिले सम्म ढिलाइ भए पनि अब केही दिनमै दलको नेता चयन हुने कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बताए । २८ गते प्रदेश सभाको बैठक बस्दै छ उक्त बैठकले सभामुख चयन गर्ने छ। त्यो भन्दा अघि नै दलको नेता चयन गरिसक्ने महामन्त्री खड्काले बताए । उनले सहमतिमै दलको नेता छनोट हुने दाबी गरे ।

अघिल्लो प्रदेश सभा निर्वाचनमा तेस्रो स्थानमा रहेको कांग्रेस अहिले प्रत्यक्ष तर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट सहित पहिलो स्थानमा छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिले सम्म एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दलको नेता छनोट गरिसकेका छन् ।

एमालेको राजेन्द्र रावल, माओवादी केन्द्रको खगराज भट्ट, नेकपा एसको दीर्घ सोडारी र नागरिक उन्मुक्तिको रामेश्वर चौधरी संसदीय दलको नेता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर