नेपाल टी-२० : सुपर ओभरमा फारवेस्टलाई हराउँदै लुम्बिनीको लगातार चौथो जित – Nepal Press

नेपाल टी-२० : सुपर ओभरमा फारवेस्टलाई हराउँदै लुम्बिनीको लगातार चौथो जित

काठमाडौं । फार वेस्टर्न युनाइटेडलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनी अलस्टार्सले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित एक ओभरमा १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको फारवेस्टले १० रन मात्रै बनायो ।

सुपर ओभर अगाडि लुम्बिनीका ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ३४ रन जोडे । उन्ले २० बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । त्योबाहेक शिर्ष क्रमका ब्याटर नचल्दा मध्य क्रमका ब्याटर विपुल शर्माले लुम्बिनीको इनिङ केहिबेर धानेका थिए ।

उनले २७ बलमा १ चौका र २ छक्कासहित ३१ रन योगदान गरे । गुलसन झाले २४ बलमा तीन चौका र १ छक्काको मद्दतमा ३६ रनको अविजित इनिङ खेलेपछि खेल रोमाञ्चक बराबरी भएको थियो ।

लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ५ रनको आवस्यकता रहेको बेला फारवेस्टका करण बलिङमा आएका थिए । अन्तिम ओभरको पहिलो स्पेलमा करणले विकेट लिएका थिए । दोस्रो बल वाइड फालेका करणले तेस्रो, चौथो र पाँचौ बलमा रन दिएनन् । अन्तिम बलमा क्रिजमा रहेका गुलसन झा र सागर ढकालले दुई रन लिएपछि खेल अन्तिम बलमा रोमाञ्चक बराबरी भएको थियो ।

फारवेस्टको बलिङमा शेर मल्लले २ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिए । रासिद खान, उमार अली, हस्मतुल्लाह शाहिदी र भुवान कार्कीले समान एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैै १ सय ३७ रनको योगफल तयार गरेको थियो ।

फारवेस्टका ओपनर देव खनालले सर्वाधिक ४८ रन योगदान गरे । उनले आउट हुनु अघि ४२ बल खेल्दै ५ चौका प्रहार गरेका थिए । कप्तान हसमतुल्लाह शाहिदिले २९ बलमा ३ चौकासहित ३२ रनको योगदान गरे । हसिम अनसरि ११ रन र भिम सार्की १५ रन बनाएर पभेलियन फर्कँदा करण केसी १२ रनमा अविजित रहे ।

लुम्बिनीको बलिङमा सेड्ली भान स्कल्कवेकले ४ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए । हर्मितसिंह, किसोर महत्तो र सागर ढकालले समान एक विकेट लिए । पहिलो खेलमा फारवेस्टलाई ६७ रनले पराजित गर्दै सानदार सुरुआत गरेको लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किङ्सलाई तीन रनले पराजित गरेको थियो ।

पहिलो खेलमा लुम्बिनीसँग ६७ रनले हार्दै निरासजनक सुरुआत गरेको फारवेस्टले दोस्रो खेलमा काठमाडौं नाइट्सलाई ४ विकेटले पराजित गरेको थियो । आज हुने दोस्रो खेलमा जितविहिन पोखरा र विराटनगर भिड्दैछन् । लुम्बिनीले अर्को खेलमा काठमाडौं नाइट्ससँग शुक्रबार र फारवेस्टले भोली जनकपुर रोयल्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर