नेपाल टी-२० : पोखराविरुद्ध लुम्बिनीको नाटकीय जित – Nepal Press

नेपाल टी-२० : पोखराविरुद्ध लुम्बिनीको नाटकीय जित

काठमाडौं । पोखरा एभेन्जर्सलाई तीन विकेटले हराउँदै लुम्बिनी अलस्टार्सले जारी नेपाल टी–२० लिगमा लगातार तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जितका लागि अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा दक्षिण अफ्रिकी खेलाडी आशेड्ले भान स्कल्कवेकल छक्का प्रहार गर्दै लुम्बिनीका लागि नाटकीय जित दर्ता गरेका थिए ।

पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्यो ।

तस्बिरहरु : उमेश कार्की 

लुम्बिनीका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रनको योगदान गरे । उनले २८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । तल्लो क्रमका ब्याटर स्कल्कवेकले ११ बलमा ४ छक्का प्रहार गर्दै ३१ रनमा अविजित रहे ।ओपनर उन्मुक्त चन्दले ३४ बलमा १ चौकाहित २२ रनमा आउट हुँदा गुलनि झा १० रन र अनिल शाहले १९ रन योगदान गरे ।

पोखराको बलिङमा विपिन कार्की र कुशल मल्लले दुई/दुई विकेट लिए । प्रतिस जिसी, अभिमन्यू मिथुन र जाहिर खानले समान १ विकेट लिए ।यसअघि, टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो ।

१० ओभरको समाप्तिमा २७/२ को स्थितीमा रहेको पोखराको इनिङ कुशलले सानदार ब्याटिङ गर्दै उकासेका थिए । उनले आउट हुनुअघि ३१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६१ रनको इनिङ खेले ।

कुशलले उपुल थरंगासँग ९६रनको साझेदारी गरेका थिए । थरंगा ५१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर पभेलियन फर्किएका थिए । त्यो बाहेक पोखराका अन्य ब्याटरले दाहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीको बलिङमा शेड्ले भान स्कल्कवेकले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा २७ रन खचिए । किशोर महत्तोले चार ओभरमा १ मेडन राख्दै २० रन खर्चिएर दुई विकेट लिए । हर्मीत सिंह, सागर ढकाल र गुलसन झाले समान १ विकेट लिए ।

पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुरसँग ५ विकेटले हारेको थियो ।यस्तै, लुम्बिनीले पहिलो खलमा फार वेस्र्टन युनाइटेडलाई ६७ रनले हराएको थियो भने, दोस्रो खेलमा विराटनगरलाई २ रनले पराजित गरेको थियो ।

आज हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं दोस्रो जितको खोजिमा रहने छ भने, जनकपुर लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

तस्बिरहरू : उमेश कार्की ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर