म्याराडोना, सन् १९८६ को विश्वकप फुटबल फाइनल र म – Nepal Press

म्याराडोना, सन् १९८६ को विश्वकप फुटबल फाइनल र म

२०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा सरकार अपदस्त गरेर शासन हातमा लिँदा ब्राजिलमा थिएँ । ब्राजिलको पोर्ते एलिग्रे शहरमा । दक्षिण अमेरिका पुग्दा जताततै फुटबलमात्र होला जस्तो लाग्थ्यो । त्यसवेलाका चर्चित खेलाडी ब्राजिलका रोनाल्डोको ठूला होर्डिङहरु जताततै होलान् जस्तो लागेको थियो । तर, रोनाल्डोका होर्डिङ खासै देखिएनन् । बरु पेलेकै केही देखिए । रोनाल्डोका ठूल्ठूला कटआउट होर्डिङ नदेख्दा ब्राजिलमा के नपुगेको के नपुगेको जस्तो लागि रहने । साओ पाउलो हुँदै पोर्ते एलिग्रे पुग्दा मन खल्लो भएको जस्तो भइरहेको थियो ।

पोर्ते एलिग्रे पुगेपछि कसैले भन्यो- यहाँबाट त अर्जेन्टिना नजिकै पर्छ । बजारमा पोर्ते एलिग्रे टु ब्युनस आयर्स बस सर्भिस लेखेको पनि देखियो । एक रातको बस यात्रामा अर्जेन्टिना पुगिने । कसैले भन्यो अर्जेन्टिना जान त बोर्डरमै भिसा पाइन्छ । यसअघि भारतबाहेक पाकिस्तानको मात्र भ्रमण गरेको मलाई ब्राजिल पछि एउटा नयाँ देश घुम्ने चाहनाले लालायित पार्‍यो । त्यसमाथि फुटबलको क्रेज भएको युवावस्थामा म्याराडोनाको देश । एकजना भारतीय साथी र मैले राति बस चढेर व्युनस आयर्स पुगेर दिउँसो एकछिन घुमेर फेरि फर्कने विचार गर्‍यौं । पहिले नै लिइसकिएको फर्कने टिकट पोर्ते एलिग्रेबाटै थियो ।

तर, त्यसैवेला एक जना नेपाली साथीले भने- अर्जेन्टिनामा त नेपालीलाई देखी सहँदैनन्, नजानुस् है ! किन र भन्दा उनले भने फोकल्याण्ड वार थाहा छैन ? मन झसंग भयो । केही वर्ष पहिले बेलायत र अर्जेन्टिनाबीच फोकल्याण्ड टापु नियन्त्रणका लागि भएको युद्धमा बेलायतको तर्फबाट नेपाली गोरखा सैनिक लडेका थिए । अनि उनीहरुले नै वीरतापूर्वक युद्ध गरेर बेलायतलाई जिताए भनेर नेपालमा निकै सुनिने गरेको थियो ।

सन् १९८६ मा नै हो धेरै नेपालीले पहिलो पटक प्रत्यक्ष विश्वकप फुटबल हेरेको । अनि त्यहीवेला निकै चर्चाको शिखरमा थिए म्याराडोना । मैले पनि पहिलो पटक १९८६ मा नै विश्वकपका केही खेल हेरेको थिएँ प्रत्यक्ष ।

अनि सन् १९८६ को विश्वकपमा प्रख्यात ह्याण्डस् अफ गड गोलसहितको मद्दतले इंग्ल्याण्डविरुद्ध अर्जेन्टिना विजयी भएपछि म्याराडोनाले भनेका थिए रे, ‘धन्न इंग्ल्याण्डबाट खेल्ने गोरखा थिएनन् ।’ नेपालमा त त्यस्तै हल्ला थियो । मान्छे आफैंले सुनेको जस्तो ‘हो पक्कै हो’ भन्थे । कोही भन्थे अर्जेन्टिनाको रेडियोलाई अन्तर्वार्ता दिँदा म्याराडोनाले भनेका थिए । म्याराडोनाले साँच्चै त्यो वेला त्यस्तो भने या भनेनन् अहिलेसम्म पुष्टि भएन । तर, इंग्ल्याण्डसँगको खेल युद्ध लडेजस्तै खेलको चाहिं उनले ठाउँ-ठाउँमा भनेका छन् । जे होस्, त्यही डरले मलाई अर्जेन्टिना जान आँट चाहिँ आएन । म्याराडोनाको धर्ती टेक्ने इच्छा अझै पूरा भएको छैन ।

सन् १९८६ मा नै हो धेरै नेपालीले पहिलो पटक प्रत्यक्ष विश्वकप फुटबल हेरेको । अनि त्यहीवेला निकै चर्चाको शिखरमा थिए म्याराडोना । मैले पनि पहिलो पटक १९८६ मा नै विश्वकपका केही खेल हेरेको थिएँ प्रत्यक्ष । नजिकैको घरमा एक जना अंकलकहाँ टीभी थियो त्यसवेला । सोनीको कलर टीभी । त्यसैमा हेरियो केही खेल राति भारतीय दूर दर्शनबाट प्रत्यक्ष । एन्टेना मिलाएर हेर्दा कुनै वेला झ्यार झ्यार आउँथ्यो, कुनै वेला राम्रो ।

अर्काको घरमा राति सबै खेल हेर्न जान अप्ठेरो । उनीहरु हेर्छन् कि हेर्दैनन् कुरेर बस्नुपर्ने । मेरो अगाडि घरमा एक जना दाइ हुनुहुन्थ्यो । उहाँकै पछि लागेर राति जान्थें म । दाइ हेर्न जान लाग्यो भने बोलाउनु हुन्थ्यो । म दाइले कतिवेला बोलाउनु होला भनेर पर्खिएर बस्थें । कतिपय वेला दाइ बोलाउनु हुन्थ्यो, कहिले बोलाउनु हुँदैनथ्यो । आफू त अर्काको घरमा जाने, त्यसमा मलाई पनि सँगै लान अप्ठेरो लाग्थ्यो होला । धेरै खेल त मैले भोलिपल्ट बिहान हेरे नेपाल टेलिभिजनमा आउने रिप्ले । सफा कलर देखिन्थ्यो । तर, लाइभ हेर्नुको मजै अर्कै ।

सबै भन्थे- क्या गज्जब गोल ! ६ जनालाई एक्लै छलाएर गोल गरे म्याराडोनाले । भोलिपल्ट बिहान स्कुल जाँदा त्यही चर्चा । जताततै म्याराडोना, म्याराडोना । काठमाडौंमा फुटबलको त्यस्तो क्रेज त्यसअघि देखिएको थिएन ।

इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पनि हेर्न पाइएन । त्यो खेल भोलिपल्ट रिप्लेमा पनि हेर्न पाइएन । तर, भोलिपल्ट जताततै म्याराडोनाकै चर्चा हातले हानेको गोलको । अनि त्योभन्दा बढी उनले ६ जनालाई छलाएर एक्लै लगेर हानेको गोलको । सबै भन्थे- क्या गज्जब गोल ! ६ जनालाई एक्लै छलाएर गोल गरे म्याराडोनाले । भोलिपल्ट बिहान स्कुल जाँदा त्यही चर्चा । जताततै म्याराडोना, म्याराडोना । काठमाडौंमा फुटबलको त्यस्तो क्रेज त्यसअघि देखिएको थिएन ।

हुन त मैले फुटबल विश्वकपबारे थाहा पाउन थालेको त्यसअघिको सन् १९८२ को स्पेनमा भएको विश्वकपदेखि हो । त्यसवेला चर्चा थियो पाउलो रोसीको । पेलेपछि कुनै फुटबल खेलाडीको धेरै चर्चा सुनेको र भनेको पाउलो रोसीकै थियो ।

एक जना हजुरबुवा हुनुहन्थ्यो, सोभियत संघबाट इकोनोमिक्समा पीएचडी गर्नु भएको । सन् १९८२ को विश्वकपको हरेक म्याचको विवरण उहाँले सुनाउनु हुन्थ्यो- जिकोले फ्रीकिकमा कसरी आकर्षक गोल गरे ? फुटबलका सम्राट भनिने फ्रान्सका मिसैल प्लेटिनीले कसरी पेनाल्टी मिस गरे ? विश्वकप जीतको प्रवल दावेदार मानिएको ब्राजिलको टोली स्वदेश फर्कंदा उनीहरुले एयरपोर्टमै कसरी विरोधको सामना गर्नुपर्‍यो ? सबै कुरा उहाँको मुखबाट सुनिन्थ्यो । अनि फोटोहरु घरमा वेला वेलामा ल्याइने टाइम्स अफ इण्डियामा हेर्न पाइन्थ्यो ।

सोभियत संघको टोलीको बढी कुरा सुनाउनु हुन्थ्यो उहाँ । सोभियत संघका त्यसवेलाका स्ट्राइकर ओलेग ब्लोखिम निकै चर्चामा थिए । म पनि त्यसवेला सोभियत संघकै समर्थक थिए । मैले पहिला सुनेका क्लबहरुको नाम पनि दिनामो किभ र दिनामो तिब्लिसी थियो । उनीहरुको खेलको निकै चर्चा सुनेको थिएँ मैले ती नै हजुरबुवाबाट ।

सोभियत संघका त्यसवेलाका स्ट्राइकर ओलेग ब्लोखिम निकै चर्चामा थिए । म पनि त्यसवेला सोभियत संघकै समर्थक थिए । मैले पहिला सुनेका क्लबहरुको नाम पनि दिनामो किभ र दिनामो तिब्लिसी थियो ।

खेल हेर्न पाएको चाहिँ विश्वकप सकिएको केही समयपछि हो । त्यस वेलाको विश्वकपको फाइनल देखाएको थियो म पढ्ने अमर आदर्श स्कुलमा प्रोजेक्टरबाट । पाउलो रोसीलाई देख्दा मेरो प्रतिक्रिया थियो- यो त कत्ति लडेको लडेकै हुँदो रहेछ । बल लाँदालाँदै लडेको जस्तो लाग्थ्यो मलाई । स्क्रिनमा फुटबल खेल हेरेको पहिलो अनुभव थियो त्यो ।

सन् १९८६ मा केही खेल हेरियो प्रत्यक्ष पनि । अरु खेल नै रात रात जागेर अर्काको घरमा गएर हेरेको फाइनल नहेर्ने त कुरै थिएन । फाइनल हेर्ने तय भयो । अगाडिको घरको दाइले जानुभन्दा पहिले मलाई बोलाउनु हुने भयो । विश्वकपको फाइनल खेल त्यसमा पनि म्याराडोना चर्चाको शिखरमा हुँदाको रोमाञ्चक कम थिएन ।

त्यसमाथि फुटबलको दादा जर्मनीसँगको खेल । त्यतिकै चर्चामा थिए जर्मनीका रुमेनिगे, रुडी भोलार, लोथार म्याथ्यु अनि गोलकिपर सुमाकर । जर्मनीका त कोच नै तगडा फ्रान्क बेकनबाउर । त्यस्तो टोलीलाई म्याराडोनाको अर्जेन्टिनाले कसरी टक्कर देला ? अनि कसरी हराउला तीब्र अभिलाषा थियो प्रत्यक्ष हेर्न ।

राति पौने १२ बजे खेल हुने समयसम्म निद्रा लाग्ने कुरै भएन । ममी पनि मसँगै जागा हुनुभयो । म गएपछि सुतौला भनेर । दाइले बोलाउनु होला भनेर हामी पर्खिरहेका थियौं । समय घर्किंदै थियो । तर, दाइको बोलावट आएन । मरो छटपटी बढेको बढेयै । दाइको आवाज आउँदैन । खेलको समय भइसक्यो । म ममीसँग झगडा गर्न थालें । भनिदिनु न, दाइलाई बोलाइदिनु न भन्दै । ममी गएको छैन होला, गएको भए त बोलाई हाल्थ्यो नि भन्नु हुन्थ्यो ।

ममीले हिँड्न त म फुटबल हेर्न जाने घरको ढोकासम्म पुर्‍याइदिन्छु तँ जानु भन्नुभयो । मलाई अर्काको घरमा एक्लै जाने आँट आएन । ममीले पनि भित्रसम्मै पुर्‍याइदिन्छु भन्न सक्नुभएन ।

म छटपटिन्छु । कहिले ढोका खोलेर बाहिर हेर्छु, कहिले झ्यालबाट बाहिर हेर्छु । दाइको कुनै नामोनिसान छैन । दाइको घरमा बत्ती बलेको पनि देखिँदैन । खेल सुरु भइसक्यो । मलाई उकुसमुकुस भएको भय्यै । म छटपटाएको देखेर ममी पनि बेचैन त हुनु भयो । तर, राति अर्काको घरमा गएर सोध्न सक्नु भएन । खेल आधा हुन लागिसक्यो, म बेचैन भएर बसेको छु । ममीले हिँड्न त म फुटबल हेर्न जाने घरको ढोकासम्म पु¥याइदिन्छु तँ जानु भन्नुभयो । मलाई अर्काको घरमा एक्लै जाने आँट आएन । ममीले पनि भित्रसम्मै पु¥याइदिन्छु भन्न सक्नुभएन । मेरो इच्छामा पानी फेरिँदै थियो । म के नै गर्न सक्थें र ! ममीसँग झगडा गरिरहें अनेक कुरा बनाएर ।

बुवा त्यस दिन घरमा हुनुहुन्नथ्यो । कता जानुभएको हो याद छैन । मलाई खेल हेर्न नपाएको निकै औडाहा भइरहेको थियो । त्यति पीडा मैले कहिल्यै महसुस गरेको थिइनँ । पूरै खेल अवधिभर म जागै रहें घडी हेर्दै । अब त दाइले बोलाउनु होला कि, उहाँले नै बिर्सिएर वा निदाएर ढिलो भएको हो कि ! उहाँ उठ्नु भएपछि आवाज आउँछ कि म आफैं पो त्यो घरसम्म जाने आँट जुटाउनसक्छु कि ! ममीले मेरो छटपटाहट देखेर ल हिँड म त्यो घरभित्रै पुर्‍याएर आउँछु पो भन्नुहुन्छ कि ! यस्तै हुँदाहुँदै खेलको अवधि सकियो । म बाहिर-भित्र गरी नै रहें । आँखाभरि आँसु थियो । पीडाले छटपटाएको थिएँ ।

एकैछिनमा पल्लो घरमा दाइको घरको ढोका विस्तार खुलेको सुनियो । यसो चियाएर हेरें । दाइ त फुटबल हेरेर फर्किसक्नु भएको रहेछ । को जित्यो को हार्‍यो, त्यस रात मलाई केही थाहा भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *