सुदूरपश्चिममा कांग्रेस ठूलो दल, एमाले तेस्रो शक्ति – Nepal Press

सुदूरपश्चिममा कांग्रेस ठूलो दल, एमाले तेस्रो शक्ति

कैलाली । सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । ३२ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षमा कांग्रेसले सबैभन्दा धेरै १२ सीट हात पारेको छ ।

त्यस्तै प्रत्यक्षतर्फ माओवादी केन्द्रले ८ निर्वाचन क्षेत्र जित्यो । नागरिक उन्मुक्ति पार्टी ५ क्षेत्रमा विजयी हुँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले समान ३/३ क्षेत्र जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र १ जना उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फको परिणामलाई मात्रै आधार मान्दा यहाँ कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र नागरिक उन्मुक्ति पार्टी तेस्रो दल बनेका छन् ।

एमाले र नेकपा एस चोथौं दलका रूपमा स्थापित भएका छन् । तर, समानुपातिक मतलाई समेत आधार मान्दा यहाँको शक्ति सन्तुलन हेरफेर हुनेछ । बाजुराबाहेकको समानुपातिक मत परिणाम सार्वजनिक भएको छ ।

बाजुराबाहेकको मत गणनाअनुसार एमाले सबैभन्दा अघि छ । २ लाख ४८ हजार ८४० मतसहित एमाले अघि हुँदा २ लाख ४३ हजार ३९ मतसहित कांग्रेस दोस्रो स्थानमा छ ।

यहाँ माओवादी केन्द्रको १ लाख १८ हजार ९०३, नागरिक उन्मुक्तिको ९८ हजार ५५४, राप्रपाको ४३ हजार ८०८ र एकीकृत समाजवादीको ४१ हजार ८३९ मत छ ।

यो मत परिणामअनुसार समानुपातिकतर्फ एमाले र कांग्रेसले समान ७/७ सांसद पाउनेछन् । त्यस्तै माओवादी केन्द्रले ३, नागरिक उन्मुक्तिले २, र एकीकृत समाजवादी तथा राप्रपाले १/१ समानुपातिक सांसद पाउने देखिएको छ ।

समानुपातिक र प्रत्यक्ष तर्फबाट १९ प्रदेश सांसदसहित कांग्रेस पहिलो दल बन्नेछ । माओवादी ११ सांसदसहित दोस्रो र एमाले १० सांसदसहित तेस्रो शक्ति बन्नेछन् । यहाँ नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति हुनेछ । उसका ७ जना सांसद हुनेछन् । नेकपा एकीकृत समाजवादी ४ सांसदसहित पाँचौं र राप्रपा १ सांसदसहित छैटौं दल बन्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर