अर्जेन्टिना र पोल्यान्डबीचको खेलमा एमबाप्पेको पनि नजर ! – Nepal Press

अर्जेन्टिना र पोल्यान्डबीचको खेलमा एमबाप्पेको पनि नजर !

दोहा। विश्वकप फुटबलअन्तर्गत बुधबार हुने समूह सीको खेलले प्रिक्वाटरफाइनलमा साविक विजेता फ्रान्सको प्रतिद्धन्द्धी तय गर्ने छ।

फ्रान्सले एक खेल अघि नै नकआउट चरणमा स्थान बनाएको थियो र समूह विजेता बन्दै अगाडि बढ्ने सम्भावना बलियो छ।

समूह सीमा दुई खेलपछि पोल्यान्डको ४, अर्जेन्टिना र साउदी अरबको ३/३ तथा मेक्सिकोको एक अंक रहेको छ।  अन्तिम खेलमा पोल्यान्डले अर्जेन्टिना र साउदी अरबले मेक्सिकोसँग खेल्ने छ। यी दुवै खेल नेपालीसमयअनुसार राती पौने १ सुरु हुनेछन्।

त्यसअघि समूह डीको खेलमा फ्रान्सले ट्युनिसिया र डेनमार्कले अस्ट्रेलियासँग खेल्दै छ। २ खेलबाट फ्रान्सको ६, अस्ट्रेलियाको ३ तथा डेनमार्क र ट्युनिसियाको एक एक अंक छ। अन्तिम खेलमा फ्रान्स पराजित भएपनि गोलअन्तरका आधारमा समूह विजेता बन्ने सम्भावना छ।

उता समूह सीबाट अगाडि बढ्ने दुवै टोलीको टुंगो बुधबारको खेलपछि मात्र लाग्ने छ। यीनै खेलको नतिजाबाट समूह विजेता र उपविजेताको पनि टुंगो लाग्ने छ। सम्भवत् फ्रान्सले समूह सीको उपविजेतासँग खेल्ने छ।

समूह सीबाट अगाडि बढ्ने चारवटै टोलीको सम्भावना रहेकाले फ्रान्ससँग खेल्ने टोली को हुन्छ भनेर भन्न गाह्रो छ। फ्रान्स तुलानात्मकरुपमा कमजोर प्रतिद्धन्द्धी चाहन्छ।

फ्रान्सले अघिल्लो विश्वकपमा प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई ४-३ गोलले हराएर पछि उपाधिसमेत जितेको थियो। त्यस खेलमा फ्रान्सका केलियन एमबाप्पे एक्लैले दुई गोल गरेका थिए। जारी विश्वकपमा पनि एमबाप्पे उत्कृष्ट लयमा छन्। उनले दुई खेलमा तीन गोल  र एक असिस्ट गरेका छन्।

फ्रान्स विश्वकप फुटबल इतिहासमा इटाली र ब्राजिलपछि उपाधि रक्षा गर्ने तेस्रो टोली बन्ने प्रयाशमा रहेको छ। त्यसैले बुधबारको अर्जेन्टिना र पोल्यान्डबीचको खेललाई एमबाप्पे र फ्रान्सले समेत नियाल्ने छ।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र एमबाप्पे पछिल्लो समय क्लब फुटबल एकै क्लबबाट खेलिरहेका छन्। मेस्सीले पनि जारी विश्वकपमा २ गोल र एक असिस्ट गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *