गणनामा धाँधलीकाे प्रमाण देखाउँदै रूपन्देही एमालेद्वारा पुनः मतगणनाकाे माग – Nepal Press

गणनामा धाँधलीकाे प्रमाण देखाउँदै रूपन्देही एमालेद्वारा पुनः मतगणनाकाे माग

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी ओलीले समानुपातिक मतगणनामा सचेत रहन कार्यकर्ता निर्देशन दिएलगत्तै एमाले रुपन्देही क्षेत्र नं १ ले त्यहाँको मतगणनामा धाँधली भएका प्रमाणसहित पुनःगणनाको माग गरेको छ ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले मतगणनामा नियोजितरुपमा धांधली भएको प्रमाणहरु देखाउँदा निर्वाचन कार्यालयका कर्मचारीले वेवास्ता गरेको भन्दै पार्टीले पुनः मतगणनाको माग गरेको बताए ।

उनले प्रमाणसहित सबै विवरणका विषयमा निर्वाचन कार्यालयमा जानकारी गराइपनि कुनै प्रकृया नथालिकोे भन्दै त्यो गल्ती नसच्चाएसम्म गणनामा समहभागी पनि नहुने र त्यो पार्टीलाई मान्य पनि नहुने बताएका छन् ।

यस्तो छ एमालेको धारणा:
ओमसतिया वडा नं. ६ (ख), केरवानी (क), तिलोत्तमा वडा नं. ९ गौतमबुद्ध शिशु सदन आ.वि., (क) देवदह वडा नं. ६, युगज्योति (ख), तिलोत्तमा वडा नं. ८ ज्योति मावि (घ), ओमसतिया वडा नं. १ ठुटीपिपल मावि (ख), देवदह वडा नं. ३ केरवानी मावि (ख), देवदह वडा नं. १० सिता मावि (क), देवदह वडा नं. १२ सिक्टहन (ख) समेतका जम्मा ९ वटा बाकसको मतपेटिका जाँच गरेको मुचुल्कामा मतदाता संख्या जम्मा ५,७४६ उल्लेख भएकोमा मतगणना फारममा ५७३ मत संख्या थपी ६,३१९ उल्लेख गरेको देखिएको छ । साथैं विवरण उल्लेख गर्दा केरमेट गरिएको, एक÷एक सयको मुठ्ठा गणना गर्ने प्रक्रिया विपरीत एकै पटक १९१ चढाइको, आधिकारिक गणकको अंक, अक्षर र मसी फरक रहेको, मतगणना फारमका सम्पूर्ण विवरण नभरिएको, दलहरुले पाएको वास्तविक मत संख्यालाई केरमेट गरी थप गरी सच्चाइएको पाइएको छ ।

मतगणनाका क्रममा गरिएका यस्ता गम्भीर लापरवाहीको विषयमा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुसँग कुरा राख्दा आधिकारिक कर्मचारीले नै असामन्य व्यवहार प्रदर्शन गरेको, मुचुल्का फारम रुजु गरी सही गर्छु भन्दा रुजु गर्न दिन इन्कार गरिएकाले नियोजित रुपमा मतपरिणम फरक पार्ने काम भएको स्वत पुष्टी हुने देखिन्छ ।

माथि उल्लेख गरिएको दृष्टान्तबाट निर्वाचन क्षेत्रभित्रका अन्य मतदान केन्द्रको मतगणनामा पनि यस्तै प्रकृतिको गम्भीर र नियोजित लापरवाही हुन सक्ने हामीहरुको आशंका छ । यसर्थ प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणना कार्य निर्वाचन सम्बन्धी ऐन, नियम, निर्देशिका विपरीत गरेकाले त्यसलाई सच्चाई सम्पूर्ण रुपमा पुनः मतगणना गर्न हाम्रो पार्टी नेकपा एमाले माग गर्दछ ।

हामीले मतगणनाको सन्दर्भमा देखिएको यस प्रकारको नियोजित र चरम लापरवाहीको विषयमा पार्टीको तर्फबाट निर्वाचन अधिकृतको कार्यालयमा मिति २०७९ मंसिर ११ गते लिखित रुपमा प्रमाण सहित निवेदन पेश गरेको समेत जानकारी गराउन चाहान्छौं । जनताले दिएको अभिमतको सही ढंगले गणना हुनुपर्छ भन्ने हामीहरुको स्पष्ट मान्यता छ । कुनै पनि बाहानमा जनताको अभिमतलाई अन्यथा गराउने अधिकार कसैलाई छैन । मतगणना नियमसंगत हुनुपर्छ भन्ने प्रति हाम्रो पार्टी दृढ छ ।

पत्रकार सम्मेलनमा का सचिव एवं सो क्षेत्रबाट निर्वाचित सांसद छविलाल विश्वकर्माले मतगणनामा धाँधली भएको प्रमाण भेटिएकाले पुनः गणना हुनुपर्ने माग गरे । उनले रुपन्देहीमा मात्र नभई अन्यत्र पनि समानुपातिक मत गणनामा धांधली भएको बताए ।

निर्वाचन अधिकृतको कार्यालयका प्रमुख श्याम श्रेष्ठले पुन मतगणनाको निवेदन अनुसार निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्र लेखेर पठाउन लागेको र केन्द्रबाट आउने निर्देशन अनुसार आफूहरु अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर