दोलखाका आधा दर्जनबढी बुथ कब्जा भएको पुष्टि, प्रमाणसहितको प्रतिवेदन आयोगसमक्ष पेश – Nepal Press

दोलखाका आधा दर्जनबढी बुथ कब्जा भएको पुष्टि, प्रमाणसहितको प्रतिवेदन आयोगसमक्ष पेश

काठमाडौं । दोलखामा मंसिर ४ गते भएको निर्वाचनका क्रममा आधा दर्जनभन्दा बढी बुथ कब्जा गरेर मतदान गरिएको र धेरै मतदान केन्द्र अशान्त बनाइएको प्रतिवेदन निर्वाचन आयोगमा पेश भएको छ ।

मतदानको दिन वैत्यश्वरको गैरिमुदी र नाम्दु,तामाकोशीका जफे र मालु,गौरीशंकरको जुँगु तथा मेलुङ्को भेड्पु तथा कालिन्चोक र शैलुङका गरी आधा दर्जन बुथ नियन्त्रणमा लिइएको पाइएको छ । ती सबै बुथमा सत्ता गठबन्धनका कार्यकर्ताले कब्जा गरेका थिए ।

कतिपय बुथमा कर्मचारी र प्रहरीमाथि समेत कुटपिट गरेको पाइएको छ । मतदानका लागि सहयोग गर्न खटिएका कर्मचारीदेखि प्रहरीले समेत बुथ कब्ज भएको बयान आयोगसमक्ष दिएका छन् । प्रमुख जिल्ला अधिकारी नै बुथ कब्जको सहयोगी बनेको अनुसन्धानका क्रममा देखिएको आयोग स्रोतले जनाएको छ ।

आयोगको टोलीले स्थलगत अध्ययन तथा सबै पक्षसँगको बयानपछि प्रतिवेदन तयार पारेको हो । चुनावका बेला सधैं अशान्त हुने दोलखामा यसपटक सत्ता गठबन्धनले लगभग सबै स्थानीय तहका कुनै न कुनै बुथमा अन्य दलका प्रतिनिधि लखेटेर एकलौटी गरेको पाइएको छ ।

जिरी नगरपालिकाको ठूलोपातालमा फर्जी मत खसाइएको पाइएको छ । कतिपय मतदान केन्द्रमा अर्को पक्षले बुथ कब्जा रोक्न प्रयास गर्दा मतपेटिकाहरु फुटेको,प्रदेश संघ र समानुपातिक तथा प्रत्यक्षका मतपत्ररु मिसिएको र मतपत्र मतपेटिकाबाट पोखिएको फोटो तथा भिडिओहरु समेत संकलन गरिएको आयोग स्रोतले जनाएको छ ।

बुथ कब्जाका फोटो तथा भिडिओहरु पनि आयोगले संकलन गरेको छ भने मुठाका मुठा मतपत्र नियन्त्रणमा लिएर निर्वाचन अधिकृतको हस्ताक्षर समेत दलका कार्यकर्ताले गर्दै छाप लगाएको पाइएको छ ।

दोलखाका ती मतदान केन्द्रको मतलाई गन्न दिने हो भने चुनावको गरिमा नै समाप्त हुने भन्दै पुनः मतदानको मिति तोकी भयरहित ढंगले मतदाताले मतदान गर्ने अवस्था निर्माण गरिनुपर्ने सुझाव सरोकारवालाहरुले आयोगलाई दिएका छन् ।

आयोगले संकलन गरेको एउटा भिडिओमा बैत्यश्वर गाउँपालिका वडा नम्बर ६ को नाम्दु बुथमा मतपत्रको बिटो नै लुटेर गठबन्धनका कार्यकर्ताले एक अर्काबीच जयनेपालको अभिवादन साटासाट गर्दै छाप लगाइएको देखिन्छ । जुनमा छाप लगाउने व्यक्ति सोही गाउँका राकेश तामाङ रहेको बताइएको छ ।

त्यस्तै जुगु बुथमा जहाँ गठबन्धनका उम्मेदवार गंगा कार्की छन्,त्यहाँ एकजना बृद्धले आफ्नो मतपत्र गठबन्धनका कार्यकर्ताले खोसेर छाप लगाउन खोजेपछि च्यातेको दृष्य समेत भेटिएको छ । गठबन्धनका प्रदेश सभाका उम्मेदवार कुन्दन काफ्लेले ४ वटा गाडीमा हतियारसहितका युवा लिएर जफेको जामुने,स्वास्थ्य चौकी,झुले,मालु लगायतका बुथमा गएर विपक्षी कार्यकर्ता लखेटेर एकलौटी मतदान गरेको पाइएको छ ।

दोलखाको गैरीमुदी,जुगु,झुले,जफे लगायतका मतदान केन्द्रमा कुनै पनि चुनावमा मतदाताले निर्भयसाथ मतदान गर्न नपाएको समेत पाइएको आयोग स्रोतले जनाएको छ । आयोगले दोलखाको सन्दर्भमा आजभोलि मै निर्णय गर्ने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *