डा. युवराज सङ्ग्रौलाको टिप्पणी- रेशम चौधरीलाई बलिको बाख्रो बनाए, टिकापुरका अपराधी बाहिरै छन् – Nepal Press

डा. युवराज सङ्ग्रौलाको टिप्पणी- रेशम चौधरीलाई बलिको बाख्रो बनाए, टिकापुरका अपराधी बाहिरै छन्

काठमाडौं । कानूनविद् डा. युवराज सङ्ग्रौलाले लामो समयदेखि कारागारमा रहेका थारु नेता रेशम चौधरीको बचाउमा उत्रिएका छन् ।

चौधरीलाई विभिन्न प्रपञ्च गरेर बलीको बाख्रो बनाइएको उनको टिप्पणी छ ।

चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले चुनावमा सुखद नतिजा ल्याएसँगै डा. सङ्ग्रौलाले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘अनेक जाल प्रपञ्च गरेर रेशम चौधरीलाई बलीको बाख्रो बनाए । मैले सबै कागज हेरेँ । उनले लेखेका सबै आत्मकथा हेरेँ । फिल्डमा भएका प्रहरी र कर्मचारीसँग कुरा गरेँ । उनका गुरु बुढा मानिस आएर मसँग रोए । अन्याय र परिपन्चको कथा सुनाए । मैले रेशम चौधरी सँग भेटेर दुई घण्टा इन्टेरोगेसनको शैलीमा कुरा गरेँ ।’

घटनाका दिन रेशम घटनास्थलभन्दा २० किलोमिटर टाढा रहेको डा। सङ्ग्रौलाको दाबी छ । घटनापछि रेशमको होटल फुटाइएको र रेडियो कार्यालय तोडिएको उनले बताएका छन् ।

डा. सङ्ग्रौलाले रेशमका बुवा र श्रीमतीले चुनाव जितेकोमा बधाई दिएका छन् । रेशमलाई जेलमा कुहाउन र उनको प्रतिभा मार्न घिनलाग्दा खेल रचिएको सङ्ग्रौलाले बताएका छन् ।

‘टिकापुरमा हिंसा मच्चाएर नेपालको सामाजिक सद्भाव बिगार्ने एनजीओ अझै प्रतिवेदन लेख्दैछन् । थारु र पहाडबाट झरेका मानिसको द्वन्द्व उठाएर बालकको हत्या गर्ने र निहत्था प्रहरी मार्न सीमापारिबाट अपराधी ल्याउने खुल्लै छन् ।’

उनले रेशमलाई सद्भाव र देशभक्तिका लागि समर्पित भएको भन्दै धन्यवाद दिएका छन् ।
नयाँ संविधान जारी हुनुअघि भएको थारु आन्दोलनका क्रममा टिकापुरमा भड्केको हिंसामा एक बालकसहित ८ जनाको ज्यान गएको थियो ।

उक्त घटनाको प्रमुख योजनाकारका रूपमा जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर