हामीले चुनाव अवज्ञा गरेका हौं, विप्लवले चाहिँ भाग लिन नपाएको झोंक फेरेका हुन् : धर्मेन्द्र बास्तोला (भिडिओ) – Nepal Press
नेपाल टक

हामीले चुनाव अवज्ञा गरेका हौं, विप्लवले चाहिँ भाग लिन नपाएको झोंक फेरेका हुन् : धर्मेन्द्र बास्तोला (भिडिओ)

'प्रचण्ड संसद छोडेर सडकमा आउनुभयो भने पार्टी एकता हुन्छ'

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ गते आउन केही दिनमात्रै बाँकी छ । निर्वाचनमा आयोगमा दल दर्ता गरेर विभिन्न दल र तिनका उम्मेदवार चुनावी मैदानमा छन् । तर, कतिपय दल तथा समूहले भने निर्वाचन बहिस्कार तथा अवज्ञा गर्दै आएका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतले यस पटकको निर्वाचनलाई पनि बहिस्कार तथा अवज्ञा गरेका छन् ।

तीमध्ये यस निर्वाचनलाई अवज्ञा गर्ने घोषणा गरेको नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोलासँग  गरिएको कुराकानी नेपाल टकमा ।

 

– नेकपा (बहुमत) पनि कुनै पार्टीको नाम हुन्छ र ?

नेकपा हुँदा १२औं केन्द्रीय समितिको बैठकमा विप्लवले संसदवादपरस्त प्रस्ताव लिएर जानुभयो । जसमा विप्लवको विरुद्धमा र हाम्रो पक्षमा अत्यधिक बहुमत बनेको थियो । विप्लवले क्रान्तिकारी धारलाई छोडेर सुधारवादी धारतिरबाट गएको हुनाले पार्टी पुनर्गठन गरेर विप्लवलाई निष्काशन गरेर हामीले बहुमत राखेको हो ।

– निर्वाचनमा सहभागी हुने नहुने भन्ने विषयमा मात्रै पार्टी फुटेको हो कि अरु पनि कारण थिए ?

अरु कुनै पनि कारण होइन । विप्लवले संसदीय निर्वाचनलाई उपयोग गर्नुपर्छ भन्नुभयो । अहिले २१औं शताब्दीमा उदार पूँजीवादी व्यवस्था चलिरहेकाले नेपालमा मात्र होइन, विश्वका अत्यधिक देशमा संसदीय निर्वाचन उपयोग गर्नु भनेको आत्मसर्मपण हुन्छ भनेर हामीले भन्यौं । विप्लवले जसरी पनि निर्वाचनलाई उपयोग गर्नुपर्छ भनेर भन्नुभयो । हामीले सैद्धान्तिक गल्ती हुन्छ भनेर भन्यौं । त्यसपछि दुई वटा लाइन भयो । हामी माओवादी लाइनमा भयौं र विप्लव संसदवादी लाइनमा उभिनुभयो । त्यसैले पार्टी विभाजित भयो ।

विचार, राजनीति र दर्शनबारे जनतालाई जानकारी गराउने भनेर अवज्ञा गर्ने भनेको हो । जनतालाई निर्वाचनमा नजान अनुरोधमात्र गर्ने हो । जाने नजाने भनेको त उहाँहरुकै हातमा हुन्छ नि !

– संख्यात्मक हिसाबले विप्लवसँग बहुमत छ । तर, पार्टीको नाम बहुमत चाहिं तपाईंको किन नि ?

बैठकपछि के भयो भयो भन्ने कुरा त्यति महत्वपूर्ण हुँदैन । विचारमा के भयो, भोटिङमा के भयो भन्ने कुरा नै प्रमुख हो । पछि त कोही किनिन्छन्, कोही बेचिन्छन् । यसका पछाडि विभिन्न कारण होलान् । विचारका हिसाबले हामी नै बहुमत भएकाले बहुमत राखिएको हो ।

– अहिले विप्लवले पनि बहिस्कार गर्ने, तपाईंहरुले पनि बहिस्कार जस्तै नभए पनि अवज्ञा गर्ने भनेपछि कुरा त उस्ताउस्तै भएन र ?

त्यस्तो होइन । निर्वाचनको बहिस्कार बुर्जुवा पार्टीले पनि गर्छन् । त्यसका विभिन्न कारण हुन्छन् । त्यसको एउटा कारण विप्लव पनि हो । कम्युनिष्ट पार्टीको मान्यतालाई स्थापित गर्नभन्दा पनि संसदीय निर्वाचनमा सहभागी हुन नपाएका कारणले विप्लवले बहिस्कार गर्नुभएको हो । मित्र शक्तिसँग छलफल भइरहेका वेला वारेन्ट जारी भएको भनेरमात्र बहिस्कार गरेको हो । संसदवादले रोकिएका कारण उहाँहरु नगएकोमात्र हो । उहाँहरुको बहिस्कार फरक हो । दोस्रो कुरा निर्वाचनमा जानु पनि गैरक्रान्तिकारी होइन र अहिलेको दुनियाँमा निर्वाचनमा जानु सही होइन । उहाँले बहिस्कार गरे पनि उहाँहरु संसदवादी दल नै हो ।

– कस्तो हुन्छ नेकपा (बहुमत) को निर्वाचन अवज्ञा ?

हुन त बहिस्कार र अवज्ञा उस्ताउस्तै हो । बहिस्कारमा हुन पनि नदिने र बहिस्कार गर्ने नीति पनि हुन्छ । तर, जसरी पनि निर्वाचन त हुन्छ नै । त्यो गर्दा शक्तिको प्रयोग गर्ने भन्ने पनि हुन्छ । बहिस्कारमा निर्वाचन हुन पनि सक्छ नहुन पनि सक्छ । २०४८ को निर्वाचन उपयोगपछि जनयुद्धकालमा पनि त निर्वाचन भए नि ! कतिपय दलले बहिस्कार पनि गरेका थिए । माओवादी त जनयुद्धमा गएर नै बहिस्कार गरिरहेको थियो ।

त्यसैले पार्टीले जे भन्यो त्यही हुनपर्छ । तबमात्र विश्वास पनि कायम हुन्छ । हामीले बहिस्कार भनेर शक्तिको प्रयोग गरेर निर्वाचनलाई बिथोल्नेभन्दा पनि हामी जनतासँग जोडिएर अवज्ञाको बाटोमा गएका हौं । विचार, राजनीति र दर्शनबारे जनतालाई जानकारी गराउने भनेर अवज्ञा गर्ने भनेको हो । जनतालाई निर्वाचनमा नजान अनुरोधमात्र गर्ने हो । जाने नजाने भनेको त उहाँहरुकै हातमा हुन्छ नि !

– तपाईंहरु निर्वाचनमा सहभागी नहुँदा पनि केही फरक परेको छ र ?

त्यसले पक्कै फरक पार्छ । निर्वाचन बहिस्कार वा अवज्ञाले जनतालाई देशको राजनीतिक स्थितिबारेमा जानकारी र अवगत गराउँछ । हुन त निर्वाचन हुन्छ, सरकार बन्छ र देश पनि चलिरहन्छ । तर, नागरिकको दिमागमा प्रश्न खडा हुने, जनताले बोल्ने र विकल्पका रुपमा सोच्ने शक्ति निर्माण बहिस्कार तथा अवज्ञाबाट हुन्छ । त्यो भनेको हामीले गर्ने हो ।

संसदबाट संविधान बन्नै सक्दैन नि ! बुर्जुवा संसद भनौं वा प्रतिनिधिसभाबाट बन्दैन । बुर्जुवा प्रतिनिधिसभाबाट संविधान परिवर्तन वा प्रणाली परिवर्तन हुनै सक्दैन ।

– दल दर्ता पनि नगर्ने र अरुले समूह भन्दा पनि मन पोल्ने किन नि ?

यो त बुर्जुवाको होच्याउने प्रवृत्ति हो । हाम्रो समूह होइन पार्टी नै हो । पार्टी हुन नीति हुन्छ, कार्यदिशा हुन्छ, विचार हुन्छ । एउटा राज्य सञ्चालन गर्ने खाका हुन्छ । समूह भनेको त लुटपाट गर्ने हो ।

– तपाईंहरुले पनि त समूहको जसरी नै लुटपाट गरिरहनुभएकै छ नि होइन र ?

त्यो पहिलेको कुरा हो र सामान्य हो । त्योभन्दा धेरै सत्तामा भएका पार्टीले लुटपाट गरिरहेका छन् । वैधानिक रुपमा नै सरकारमा बसेर राज्यसत्ता सञ्चालन गरेर लुटिरहेका छन् नि !

– उनीहरुको वैधानिक लुटपाट अनि तपाईंहरुको अवैधानिक लुटपाट हो त ?

होइन, हाम्रो अवैधानिक भनेको होइन कि उनीहरुले वैधानिक गरेका हुन्छन् भनेको हो । पार्टी हो । हामीसँग पूर्ण रुपमा सबै कार्यक्रम छ । यो पार्टी हो समूह भनेको भन्ने कुरा गलत हो ।

– नेकपा (बहुमत) भइसकेपछि पार्टीको संरचना के कस्तो निर्माण भयो अहिलेसम्म ?

कम्युनिट पार्टीभित्र हुने सबै संरचना बनेको छ हाम्रो पार्टीमा । महाधिवेशन आयोजक समिति बनेको छ । सबै संरचना छ । हामीले पार्टी एकताको प्रक्रिया पनि अघि बढाएका छौं । सदस्य संख्याको हिसाबले संरचनाका हिसाबले तलमाथि परिरहन्छ । पार्टीको पूर्ण संरचना छ ।

– अहिले आफ्नो पक्षमा जनमत नभएका कारण निर्वाचनमा नजान खोजेको हो कि, सधंैबहिस्कार वा अवज्ञा गरिरहने हो ?

दुइटै कुरा सही होइन । अहिलेको संसदीय निर्वाचनबाट जनताले आफ्नो प्रतिनिधि छान्न सक्दैनन् । राज्य प्रणाली बदलिनुपर्छ भन्ने हो । नेता निर्वाचनबाट नै चुनिने हो । तर, जबसम्म जनताको हातमा देशको शासन व्यवस्था हुँदैन त्यसपछि सबै व्यवस्था बदल्नुपर्ने हुन्छ । त्यसका लागि संघर्ष पनि जरुरी हुन्छ । त्यही भनेको हो हामीले ।

हरेक संघर्ष सत्ता सञ्चालनकै लागि हुने हो । तर, यही व्यवस्थामा होइन । नयाँ व्यवस्थामा जाने हो ।

– यी निर्वाचनमा सहभागी हुने जनता नै तपाईंहरुका जनता हुन् कि छुट्टै छन् कतै ?

सबै जनता हुन् । मतदान गर्ने र नगर्ने पनि जनता हुन् ।

– जनता निर्वाचनमा सहभागी भइरहेका छन् नि ?

अहिले कानूनी मान्यतालाई मान्न्नुपर्ने बाध्यता हो । अत्यधिक जनता मतदानमा सहभागी हुँदैनन् । थोरैले मतदान गरे पनि धेरैले मतदान गरे भनेर प्रचारप्रसार गरिन्छ । त्यो त भइरहन्छ । सत्ता र शक्तिले गर्ने नै त्यही हो । यो व्यवस्थाका अगाडि थुप्रै प्रश्न छन् । यसलाई विस्थापित गर्न एउटा प्रश्न गर्नुपर्छ । त्यो सचेत मान्छेले मात्र गर्ने हो । सबै मान्छेले कुरा बुझेको पनि हुँदैन । एकै पटक परिणाम देख्नेमात्रै हो ।

– तपाईंले भनेको समाजवादी व्यवस्थामा निर्वाचन नै नहुने हो र ?

समाजवादी व्यवस्थामा संसदीय प्रणाली जस्तो अभ्यास नै हुँदैन । संसदीय निर्वाचनमा निर्वाचित हुने भनेको चोरी र डकैती गर्न तथा लुट्न हो । यो नेपालमा मात्र होइन, संसारभर नै यस्तै हुन्छ । नेपाल गरिब देश भएकाले यस्ता गतिविधि चाँडै देखापर्छन् । अरु ठूला देशमा विस्तारै र कम देखिन्छ । समाजवादी व्यवस्थामा समाजवादी प्रणालीको अभ्यास हुन्छ ।

– कस्तो निर्वाचन हुन्छ ?

निर्वाचन हुन्छ । जनताका प्रतिनिधि चुनिने निर्वाचन हुन्छ । उनीहरु निर्वाचित भएर जनताका लागि काम गर्छन् ।

– संसदीय व्यवस्थामा पनि जनताकै प्रतिनिधि नै निर्वाचित हुने होइन र ?

होइन, संसदीय प्रणालीमा दलाल पूँजीपति वर्गका प्रतिनिधि निर्वाचित हुन्छन् । त्यसो भएको हुनाले संसदीय प्रणालीमा हुने निर्वाचनले दलाल पूँजीपति नै निर्वाचित गर्छ । हुन त आफ्नै घर वरिपरिका प्रतिनिधि नै निर्वाचित हुन्छन् । तर, चुनिसकेपछि जनताको प्रतिनिधि हुँदैनन् । दलाल पूँजीपति वर्गका जनप्रतिनिधि हुन्छन् । समाजवादी व्यवस्थामा त्यस्ता प्रतिनिधि हुँदैनन् । समाजवाद स्थापना भएपछि पूँजीपति नै रहँदैनन् ।

प्रचण्ड पनि त १० वर्षे आन्दोलनमा लाग्नुभयो र नेतृत्व पनि गर्नुभयो । उहाँँ पनि संसदीय व्यवस्थामा नै विलय हुनुभयो ।

– यो समाजवादी व्यवस्था के तपाईंहरुले चिन्ता गरेरमात्रै आउने हो ?

विचारको कुरा केही व्यक्तिबाट नै सुरु हुन्छ । समाजवादको सही विश्लेषण कार्ल मार्क्सले नै गरेका हुन् । पछि लेनिनले पनि गर्नुभयो । त्यसपछि माओले गर्नुभयो । त्यसपछि मार्क्सवाद, लेलिनवाद र माओवाद भएको हो । नेपालको इतिहासमा समाजवादको कुरा सुरुमा पुष्पलालले गर्नुभएको हो ।

हुन त नेपालमा कम्युनिष्ट भन्ने दलकै सरकार पनि चल्यो । अहिले भइरहेका निर्वाचनमा पनि मतदान गर्नेमध्ये ७० प्रतिशत समाजवादको पक्षमा रहेका जनता नै हुन् । सुरु गर्ने थोरै जनाले मात्र हो । क्रान्ति गर्दा परिवर्तन गर्दा आम जनताले गर्नुपर्छ ।

– तपाईंले यो संविधान पनि मान्नुभएको छैन हैन ?

हो, यो संविधानलाई बदल्नुपर्छ भन्ने हाम्रो भनाइ छ । अहिलेको संविधान खारेज गर्नुपर्छ ।

– संविधान खारेज गर्न निर्वाचन बहिस्कार गरेर, अवज्ञा गरेर हुने हो र ?

संसदबाट संविधान बन्नै सक्दैन नि ! बुर्जुवा संसद भनौं वा प्रतिनिधिसभाबाट बन्दैन । बुर्जुवा प्रतिनिधिसभाबाट संविधान परिवर्तन वा प्रणाली परिवर्तन हुनै सक्दैन ।

– यो संविधान निर्माणमा तपाईंहरु पनि सहभागी हुनुभएको होइन र ?

त्यो होइन भन्दा पनि हुन्छ । संविधानसभाको निर्वाचन भयो । संविधान बनाउन नसकेरै संविधानसभा विघटन हुन पुग्यो । पछि प्रधानन्यायाधीशको नेतृत्वमा भएको निर्वाचन अर्थात कर्मचारी संयन्त्रबाट संविधानसभाको निर्वाचन गराएकाले त्यो संविधानसभा होइन र भनिँदैन पनि ।

– राजनीतिक दलले नसकेपछि कर्मचारी संयन्त्रले निर्वाचन गराएको होइन र ?

बाध्यकारी अवस्थामा नै यस्तो हुन्छ । संविधानसभा विघटन भयो । हुन त संविधानसभाबाट भएको भन्छन् । यर्थाथमा संविधानसभाबाट संविधान जारी भएको होइन ।

– त्यसो भए के सडकबाटै संविधान बनाउनुपर्छ भन्ने हो ?

हो, सडकबाटै बनाउने हो । २०३६ सालमा सडकबाटै संविधान बनेको हो । हुन त त्यतिवेला राजा वीरेन्द्रले संविधान बनाएका हुन् । तर पनि सडकको ताकतमा संविधान बनेको हो । त्यो लामो समय टिक्न सकेन । पछि २०४७ सालमा अर्को संविधान बन्यो । त्यो पनि जनताको ताकतबाट बनेको हो । र पनि टिक्न सकेन । त्यसपछि २०६४ सालमा संविधानसभाको निर्वाचन भए पनि विघटन भएपछि दलाल पूँजीपति वर्गबाट संविधान बनेको हुनाले त्यो संविधानसभाबाट भएको होइन ।

संसदीय व्यवस्था अर्थात पूँजीवादी व्यवस्था अहिले चितामा सुतेको लास जस्तै भएको छ । बाहिर रहेको व्यक्तिले त्यो चितामा आगो नलगाएसम्म जल्नेवाला छैन ।

– उमेरले पनि ६० पुग्न थालिसक्नुभयो होला । क्रान्ति-क्रान्ति भन्ने, लुटपाट गर्ने र अन्तिममा आएर संसदीय व्यवस्थामै पलायन भएका उदाहरुण धेरै छन् । तपाईंहरुको बाटो के हो ?

त्यस्तो होइन । त्यो कुरा धेरै अवसरवादीले सोच्ने कुरा भयो । मान्छेको जीवन त छोटै हुने भयो । बढी बाँचे पनि १०० वर्ष बाँच्ने हो । तर, राज्य प्रणाली त जीवनभर नै चलिरहन्छ । हामीले अवसरवादी तरिकाले सोच्दैनांै ।

– अब त बुढो भइयो, यसो मन्त्री, सांसद हुन पाए हुन्थ्यो जस्तो लाग्दैन ?

त्यस्तो सोच्ने मान्छे संसदीय व्यवस्थामा छिरेकै छन् । हामीले त्यसरी सोचेका छैनौं । निर्वाचन प्रणालीमा नजाने र सरकारमा नजाने भन्ने पनि होइन । हरेक संघर्ष सत्ता सञ्चालनकै लागि हुने हो । तर, यही व्यवस्थामा होइन । नयाँ व्यवस्थामा जाने हो ।

– २०७० सालको निर्वाचनमा पम्फा भुसाल, रामबहादुर थापा, देव गुरुङले मत पेटिका फुटाएकै हुन् । अहिले त संसदीय व्यवस्थामा नै रमाइरहेका छन् नि ?

हो, त्यसैकारणाले यस्तो प्रकारको अवसरवाद धेरैमा हुन्छ भनेको नि ! उहाँहरुले मुद्दा उठाउदाँसम्म ठीक थियो । उहाँहरु गए पनि जनताको समस्या त समाधान भएन नि ! प्रचण्ड पनि त १० वर्षे आन्दोलनमा लाग्नुभयो र नेतृत्व पनि गर्नुभयो । उहाँँ पनि संसदीय व्यवस्थामा नै विलय हुनुभयो । तर, जनताका मुद्दा त ज्यूँका त्यूँ नै छन् ।

– जनताबाट परीक्षण नभएर जनताका समस्या समाधान हुन्छ र ?

त्यस्तो होइन । जुन पूँजीवादी व्यवस्थाले देशको समस्या सृजना गरिरहेको छ, त्यो समस्या दलाल पूँजीवादी व्यवस्थाले नै समाधान कुनै पनि हालमा गर्न सक्दैन । जस्तैः कुनै व्यक्ति बिरामी भयो भने आफैंले उपचार गर्न सक्दैन । सामान्य उपचार त गर्न सक्ला । तर, एकदमै गाह्रो भएको अवस्थामा उपचार गर्न चिकित्सक नै चाहिन्छ । त्यसैले अहिलेको व्यवस्थाको समस्या यही व्यवस्थामा रमाउनेले गर्न सक्दैनन् । संसदीय व्यवस्था अर्थात पूँजीवादी व्यवस्था अहिले चितामा सुतेको लास जस्तै भएको छ । बाहिर रहेको व्यक्तिले त्यो चितामा आगो नलगाएसम्म जल्नेवाला छैन ।

– के त्यो चितामा आगो लगाउने तपाईंहरु नै हो ?

हो, हामी नै हौं । यो व्यवस्थाको कुनै पनि जीवन छैन । यसलाई जलाएर खरानी पारेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने हो । त्यो भनेको सडक नै हो । सडकले नै यो व्यवस्था ल्याउँछ ।

– कहिलेसम्म त्यो व्यवस्थाका लागि लडिरहने हो ?

कहिलेसम्म भन्ने कुरा त संघर्ष गर्दै जाँदा जहिलेसम्म ताकत पुग्छ तहिलेसम्म रहन्छ ।

विप्लवजीको एउटा बुझाइ छ र हाम्रो फरक बुझाइ छ । समाज कसरी निर्माण गर्ने भन्नेमा फरक बुझाइ छ ।

– संसदीय व्यवस्थाभन्दा बाहिर रहेका अधिकांश दलको कुरा एउटै छ । तर पनि किन फरक–फरक दल बनाएर लडिरहनुभएको हो ?

बहिस्कारको अर्थ हुन्छ । अर्थअनुसार काम हुनुपर्छ भन्ने हो । त्यसो गर्दा अहिले हामीले अवज्ञा भनेर जनतासँग जोडिन खोजेको हो । मेरो विचारमा ३० देखि ३५ वटा दलले संसदीय निर्वाचन बहिस्कार गरेका छन् ।

– त्यसो भए किन छुट्टाछुट्टै नेतृत्वको लडाइँ ?

नेतृत्वको कुरा होइन । यहाँ लाइनको कुरा हो । सबै दलको नाम सुनिएको छैन । विप्लवसँग भएका ३ दलले अहिलेको निर्वाचन बहिस्कार गरेका छन् । हामीसँग रहेका ४ दलले अवज्ञा गरेका छन् । अन्य दलमा पनि कतिपयले बहिस्कार र कतिपयले अवज्ञा गरेका छन् ।

– विप्लवभन्दा तपाईंहरु के फरक छ ?

यसलाई स्पष्ट पार्न लामो कुरा गर्नुपर्छ । छोटोमा भन्दा लाइन फरक भयो, कार्यदिशा फरक भयो । के गर्ने, कसरी जाने भन्ने कुरा फरक भयो । विप्लवजीको एउटा बुझाइ छ र हाम्रो फरक बुझाइ छ । समाज कसरी निर्माण गर्ने भन्नेमा फरक बुझाइ छ ।

– विचार त व्यक्तिपिच्छे नै फरक हुन्छ होइन र ?

व्यक्तिपिच्छे विचार फरक भए पनि सबैका विचारलाई माझेर एउटा बनाउने हो र बन्छ ।

– मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीसँग सहकार्यमात्रै हो कि एकता प्रक्रिया नै अघि बढिसक्यो ?

नेपालमा कम्युनिष्टको फुट्ने प्रक्रियाको अन्त्य भएर अब एकताको बाटोमा अघि बढ्नुपर्छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)सँग पार्टी एकता संयोजन समिति पनि बनाएका छौं । अरु पार्टीसँग पनि छलफल चलिरहेको छ । बृहत कम्युनिष्ट एकताको बाटोमा हामी अघि बढिरहेका छौं ।

– विप्लवसँग पनि एकता हुन्छ त्यसो भए ?

त्यो पनि हुनसक्छ । यदि विप्लवले आफ्ना गलत प्रकारका सोचाइ र दृष्टिकोण सच्याएर गैरमार्क्सवादी प्रकारको दृष्टिकोण सच्याएर मार्क्सवादी दृष्टिकोणमा आउनुभयो भने एकता हुनसक्छ । त्यो पनि असम्भव छैन ।

– विप्लवका नेतासँग कत्तिको भेटभाट हुन्छ पार्टी फरक भइसकेपछि ?

अहिले त भेटघाट भएको छैन । हामीले कोसिस गर्‍यौं । एउटा कार्यक्रममा हामी सँगै पनि भयौं र वक्तव्य पनि सँगै निकाल्यौं । तर, उहाँहरु टाढिन खोज्नुभयो र भाग्नुभयो ।

– प्रचण्ड पनि कति बाहिर बसिरहनुहुन्छ आउनुहोस भन्नुहुन्छ । एकताको सम्भावना के छ ?

त्यो सम्भावना पनि छ । जस्तो अस्ति प्रचण्डले २ वटा कुरा पोइन्ट गर्न लायक गर्नुभयो । एउटा कार्यक्रममा उहाँले संसदमा हामीलाई परास्त गरियो । सरकारमा पनि परास्त गरियो । अब सडकमा कसैले गर्न सक्दैन भन्नुभयो । अब जनता सडकमा निस्कनुपर्छ, हामी पनि निस्कन्छौं भन्नुभयो । यो सही कुरा गर्नुभयो ।

दोस्रो, हाम्रो पार्टीको कार्यदिशा र कार्यनीतिसँग मिल्ने गरी उहाँले पनि दस्तावेज निकाल्नुभयो । त्यसैले त्यो सम्भावनाको बाटो पनि देखिएको छ ।

– प्रचण्डको दस्तावेज तपाईंको कि तपाईंको जस्तो दस्तावेज प्रचण्डको हो ?

हाम्रो जस्तो प्रचण्डजीले ल्याउनुभयो । यसले पार्टीलाई एक ठाउँमा आउने सम्भावना पनि देखाएको छ । संसदीय व्यवस्थाबाट जनताको सत्ता प्राप्त गर्न सकिँदैन भन्ने प्रचण्डले पनि बुझिसक्नुभएको छ र भोगिसक्नुभएको छ । संसद र सरकारमा पराजित भएकाले यदि संसद छोडेर सडकमा आउनुभयो भने प्रचण्डजी सँग पनि एकता हुन्छ ।

– प्रचण्ड सडकमै आउनुपर्ने हो र ?

हो, त्यसका लागि प्रचण्ड सडकमा आउनै पर्‍यो । उहाँले संसदमा असफल भइसकें भनिसक्नुभएको छ । त्यही कुरा केपी ओलीको हकमा पनि लागू हुन्छ । त्यही कुरा माधव नेपालको हकमा पनि लागू हुन्छ । यति मात्र होइन शेरबहादुर देउवाको हकमा पनि त्यो कुरा लागू हुन्छ । उहाँहरु सबैलाई त्यस्तो लाग्यो भने सम्भावना सबैसँग उस्तै हो ।

– प्रचण्डबाहेकका दल पनि सडकमा आयो भने सबै दलसँग नै एकता हुन्छ र ?

भोलि नेपालमा समाजवाद स्थापना भयो भने सबै पार्टीसँग एकता भइ नै हाल्छ नि ! अहिलेको व्यवस्था सबै विघटन हुन्छ समाजवादमा । पार्टी त हुन्छन् । तर, अहिलेको जस्तै लुटेरा पार्टी हुँदैनन् । जनताका पार्टी हुन्छन् ।

– वैद्यसँग कहिलेसम्ममा पार्टी एकता हुन्छ ?

त्यो सकेसम्म चाँडै हुन्छ ।

– बैद्य सँगसँगै अरु कुन दलसँग एकता हुने तयारी छ ?

अरु दलसँग पनि छलफल भइरहेको छ । जो आउँछ, उनीहरुसँग हुने भयो । अहिले नेपालमा ३ प्रकारका पार्टी छन् । एउटा, हामीलगायतका पार्टी । दोस्रो, संसदीय व्यवस्थामा ढुलमुल भएका पार्टी र तेस्रो संसदीय व्यवस्थामा विलय हुन खोजिरहेका पार्टी । ३ प्रकारका पार्टीमध्ये पहिलो र दोस्रो खालका पार्टीसँग एकता हुनसक्छ ।

संसदीय व्यवस्थाबाट जनताको सत्ता प्राप्त गर्न सकिँदैन भन्ने प्रचण्डले पनि बुझिसक्नुभएको छ र भोगिसक्नुभएको छ । संसद र सरकारमा पराजित भएकाले यदि संसद छोडेर सडकमा आउनुभयो भने प्रचण्डजी सँग पनि एकता हुन्छ ।

– अहिले भएकामध्ये कुन दल वा कुन नेता अलिकति ठीक छ भन्ने लाग्छ ?

त्यस्तो हुँदैन । जहिलेसम्म त्यो पार्टीको नीति र दल तथा व्यक्तित्व रहन्छ, यो ऊ ठीक बेठिक भन्ने हुँदैन । जस्तैः केपी ओली नेतृत्वको पार्टीले यति धेरै पैसा लुट्यो कि सरकारमा हुँदा त्यो कुरै छोडौं । गर्न त एउटा व्यक्तिले गर्‍यो । तर, सिंगो पार्टीको नीतिभित्र पर्‍यो नि ! संसदीय व्यवस्थामा भएका यो ठीक, यो बेठिक भन्ने हुँदैन । त्यो नीतिलाई खारेज गरेर संघर्ष गर्‍यो भने फरक आउने कुरा हुन्छ ।

– निर्वाचन अवज्ञा गरे पनि आन्तरिक रुपमा कतिपयलाई पराजित गर्न र कतिपयलाई जिताउन भूमिका निर्वाह गर्ने गरिएको सुनिन्छ । के साँचो हो ?

हाम्रो पार्टीबाट त्यस्तो हुँदैन । राजनीतिक हिसाबले राजनीतिक प्रणालीलाई सोचेर गर्ने कुरा त हुन्छ । जस्तैः २०७० सालको निर्वाचन हामीले बहिस्कार गरेका थियौं । त्यतिवेला सबैमा के भ्रम थियो भने कुनै पनि दल वा एउटै विचार भएका दलले बहुमत वा दुईतिहाइ ल्यायो भने राजनीतिमा स्थिरता आउँछ भन्ने एउटा खालको भ्रम थियो । हामीलाई फेरि जे जस्तो भए पनि केही हुँदैन यो संसदीय व्यवस्थाबाट भन्ने थाहा नै थियो । तर पनि जनताका लागि परीक्षण हुन पनि वाम गठबन्धनले सकेसम्म बहुमत वा दुईतिहाइ ल्याइदियोस् भन्ने लागेको हो हामीले बहिस्कार गरे पनि । संसदमा बहुमत पुग्यो भने संविधान संशोधन गर्न सकिन्छ भन्ने भ्रम पनि जनतामा थियो ।

आखिर कम्युनिष्ट पार्टीको पक्षमा बहुमत आयो । कम्युनिष्ट भनिएका ठूला पार्टीले एकता गरे पनि । तर, केहि पनि हुनसकेन । जे हामीले भनेका थियौं र जे हाम्रो निष्कर्ष थियो, त्यही नै जनताका सामु छर्लङ्ग भयो । अहिले ती सबै राजनीतिक दल नांगिसकेका छन् । अझै पनि हाम्रो अपिल के हो भने आफ्नो उम्मेदवारी सबैले फिर्ता गरुन् । स्वाधीन संयुक्त सरकार बनाऔं, निर्वाचनभन्दा अघि । संविधानमा परिवर्तन गरेपछि आर्थिक आधारलाई रुपान्तरण गरियो भने र जनताको हितमा सरकारको प्रणाली फेर्ने सहमति भयो भने हामी निर्वाचनमा जान तयार हुन्छौं ।

– नेकपामै हुँदा सरकारले लगाएको प्रतिबन्धका बेला पक्राउ परेका नेता कार्यकर्ता अझै हिरासत र कारागारामा छन् । यसमा के भइरहेको छ ?

हाम्रो सरकारसँग कुराकानी भइरहेको छ । नेता कार्यकर्तालाई सरकारसँग भएको सहमतिअनुसार पहिले नै छोडिसक्नुपर्ने थियो । सहमति भएको २ वर्ष भइसक्यो । तर, अझै छोडिएको छैन । सहमतिअनुसार छोड्नुपर्छ सरकारले भन्ने हाम्रो निष्कर्ष हो ।

– सरकारले त कतिपय मुद्दा फिर्ता लिन नसकिने खालका छन् भनेर वक्तव्य दिइसकेको छ नि ?

कानूनी हिसाबले त सरकारको त्यस्तो धारणा होला । तर, राजनीतिक हिसाबले हेर्दा सबै मुद्दा खारेज हुनुपर्छ भन्ने हाम्रो माग र धारणा हो । हामीले सरकारसँग छलफल गरिरहेका छौं, छोड्छौं पनि भन्नुभएको छ, छोड्नुभएको छैन । जे भनियो त्यो गर्नुपर्छ भन्ने हो ।

– अन्तिममा केहि भन्न चाहनुहुन्छ कि ?

हाम्रो भनाइ जनताका बीचमा पुर्‍याउन सहयोग गर्नुभएकोमा धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर