पेलेले खेलेको अन्तिम विश्वकपमा मुलरले गरेको त्यो १० गोल – Nepal Press
विश्वकप २०२२

पेलेले खेलेको अन्तिम विश्वकपमा मुलरले गरेको त्यो १० गोल

काठमाडौं । पेलेले लिभरपुलस्थित गुडिन्सन पार्कमा पोर्चुगलविरुद्ध खेलेपछि घोषणा नै गरेका थिए- अब म फेरि विश्वकप खेल्दिनँ । लगातार दुई विश्वकप जितेका पेले पहिलोपटक पहिलो चरणबाटै बाहिरिएका थिए । तर, उनको घोषणामा बढी आक्रोश र गुनासो थियो । सन् १९६६ को विश्वकपअन्तर्गत समूहगत चरणको त्यस अन्तिम खेलमा ब्राजिल र पेलेमाथि अन्याय भएको आम बुझाइ पनि थियो ।

जित्नैपर्ने दबाबमा ब्राजिल थियो । तर, पेलेमाथि पोर्चुगलका डिफेन्डर जोवा मोराइसले गरेको गम्भीर फललाई रेफ्रीले आँखा चिम्लिदिए । चोटग्रस्त बनेका पेले बाँकी समय गन्ती गर्दै मैदानमा रहे किनभने त्यो समयमा सब्स्टिच्युसनको व्यवस्था थिएन ।

पेलेमाथि त्यस प्रतियोगितामा भएको त्यो पहिलो फल थिएन । बुल्गेरियासँग भएको पहिलो खेलमा एक गोल र एक असिस्ट गरेका पेले दोस्रो खेलमा मैदान प्रवेश गर्न नसक्ने गरी घाइते भएका थिए । पहिलो खेल जिते पनि दोस्रो खेलमा हंगेरीसँग पराजय ब्यहोरेपछि पोर्चुगलविरुद्ध पेलेलाई उतार्नुपर्ने बाध्यता प्रशिक्षक भिसेन्ट फेओलालाई आइपरेको थियो । पेलेले भर्खरैमात्र लगातार तीन विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएकाले मैदानमा उनको उपस्थितिमात्र पनि पर्याप्त रहन सक्नेमा प्रशिक्षक ढुक्क थिए ।

उनले पोर्चुगलविरुद्ध गोलरक्षक र पूरा रक्षापंक्ति फेरे पनि ब्राजिलले पहिलो चरणबाटै बहिर्गमन टार्न सकेन । पेलेको घोषणाले उनी सन् १९७० को विश्वकप खेल्नेमा अन्योल सृजना गरेको थियो । त्यसो त त्यतिवेला पेलेका समकालीन ब्राजिलियन महान फुटबलहरु गारिन्चा, निल्टन सान्टोस, भाल्दिर परैरा, गिल्मारजस्ता खेलाडीले सन्न्यास लिइसकेका थिए ।

विश्व फुटबलमा ब्राजिलको दबदबा सुरु गर्ने पुस्ताका अन्तिम प्रभावशाली सदस्यका रुपमा पेले बाँकी थिए । तर, पेलेको ओझ धेरै खेलाडीको योगभन्दा माथि थियो । उनी विश्व फुटबलका अभूतपूर्व खेलाडी थिए । विश्व फुटबलको नजर उनीबाट हटेको थिएन बरु चासो बढ्दो थियो ।

विश्वकपको एक वर्षअघि पेलेलाई ब्राजिल फुटबलले खेल्ने प्रस्ताव राख्यो । सुरुमा उनले मानेका थिएनन् । तर, पछि उनले नकार्न सकेनन् । उनले त्यतिवेला ६ वटा छनोट खेलमा ६ गोल गरेर ब्राजिलले मेक्सिको विश्वकप यात्रा तय गरेको थियो । उनी विश्वकपका लागि ब्राजिलको टोलीमा समावेश भए । ब्राजिलका लागि १३ वर्ष लामो सिनियर अन्तर्राष्ट्रिय फुटबल करियरमा पेलेको त्यो चौथो विश्वकप सहभागिता थियो ।

ब्राजिल फुटबलमा नयाँ स्टारका रुपमा जैरजिन्होले प्रभाव बढाउँदै थिए । अन्ततः मेक्सिको विश्वकपमा ब्राजिलले एक खेल नहारी उपाधि जित्यो । ब्राजिलले क्वार्टरफाइनलमा पेरु र सेमिफाइनलमा उरुग्वेलाई हराउँदा जैरजिन्होले गोल गरेका थिए । फाइनलमा पेले र जैरजिन्होसहितको गोलमा ब्राजिलले इटालीलाई ४-१ ले हराएर तेस्रोपटक विश्वकप जित्यो । त्यसअघि कुनै पनि टोलीले यति धेरैपटक उपाधि जित्न सकेका थिएनन् ।

यो गौरवशाली सफलताका साक्षी थिए पेले । सन् १९७१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका पेलेको विश्वकपमा भने गोल मेसिनको छवि देखिएन । उनले ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्षमै विश्वकप खेलेका थिए, सन् १९५८ मा । त्यसको चार वर्षअघि स्वीट्जरल्यान्डमा भएको विश्वकपमा हंगेरीका सान्दोर कक्सिसले ११ गोल गरेका थिए । विश्वकपको एकै संस्करणमा कुनै खेलाडीले दोहोरो अंकमा गोल संख्या पुर्‍याएको यो पहिलोपटक थियो ।

सन् १९४८ मा सिनियर राष्ट्रिय टोलीबाट डेव्यु गरेका कक्सिसको त्यो पहिलो विश्वकप सहभागिता थियो । त्यतिवेला हंगेरी फाइनल पुग्यो । क्वार्टरफाइनल र सेमिफाइनलमा दुई-दुई गोल गरेका कक्सिसले त्यसपछि भने गोल गर्न सकेनन् । फाइनलमा हंगेरीलाई ३-२ गोलले हराएर पश्चिम जर्मनी पहिलोपटक विश्व च्याम्पियन बन्यो । सन् १९५६ पछि हंगेरीबाट नखेलेका कक्सिसले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ६८ खेलमा ७५ गोल गर्ने लोभलाग्दो रेकर्ड बनाएका थिए ।

पेलेको आगमनले विश्व फुटबलमा ब्राजिलको दबदबा सुरु भयो । सन् १९५८ मा पेलेले खेलेको पहिलो विश्वकपमा ब्राजिल फाइनल पुग्यो । घरेलु टोलीलाई उपाधि भिडन्तमा ब्राजिलले ५-२ गोलले हराउँदा भाभा र पेलेले २-२ र जागालोले एक गोल गरेका थिए । तर, त्यस विश्वकपमा सर्वाधिक गोल गर्ने फ्रान्सका जस्ट फोन्टाइन थिए । उनले १३ गोल गरेका थिए ।

पेले र तत्कालीन पश्चिम जर्मनीका हेल्मुत रानको समान ६-६ गोल थियो । सेमिफाइनलमा फ्रान्सलाई ५-२ गोलले हराएर ब्राजिलले फाइनल यात्रा तय गरेको थियो । त्यस खेलमा पेलेले ह्याट्रिक गरेका थिए । फोन्टाइनले एक गोल गरे पनि टोलीको फराकिलो हार टार्न सकेका थिएनन् । तेस्रो स्थानका लागि भएको खेलमा फोन्टाइनले तत्कालीन पश्चिम जर्मनीविरुद्ध चार गोल गरेका थिए ।

फोन्टाइन उक्त विश्वकपका सर्वोत्कृष्ट स्ट्राइकर भएर गोल्डेन बुट जित्न सफल भए । सर्वोत्कृष्ट खेलाडीका रुपमा गारिन्चाले गोल्डेन बल प्राप्त गरेका थिए । फोन्टाइनको दुर्भाग्य भन्नुपर्छ, उक्त विश्वकप उनको पहिलो र अन्तिम सहभागिता बन्यो ।

उनले सन् १९६० सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए भने त्यसको दुई वर्षपछि आयोजित विश्वकपमा फ्रान्स छनोट नै भएन । ७ वर्ष सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेका फोन्टाइनले फ्रान्सबाट कुनै उपाधि जित्न नसके पनि २१ खेलमा ३० गोल गरेका थिए ।

सन् १९६२ मा चिलीमा आयोजना भएको विश्वकप संस्करणमा ब्राजिलले उपाधि रक्षा गरे पनि गोल्डेन बल घरेलु खेलाडी लियोनल सान्चेज र गोल्डेन बुट गारिन्चाले पाएका थिए । प्रतियोगितामा गारिन्चा र सान्चेजसहित ६ खेलाडीले सर्वाधिक समान ४-४ गोल गरेका थिए ।

ब्राजिलले सेमिफाइनलमा चिलीलाई हराउँदा गारिन्चा र भाभाले २-२ गोल गरेका थिए । फाइनलमा चेकोस्लोभाकियामाथि प्राप्त जीतमा जिटो, भाभा र अमारिल्डोले गोल गरेका थिए । त्यस प्रतियोगितामा पेलेले एक गोलमात्र गरेका थिए ।

सन् १९७० को विश्वकपमा ब्राजिल, पश्चिम जर्मनी, इटालीजस्ता टोली दावेदार थिए । तीन वर्षअघि मात्र सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका पश्चिम जर्मनीका गर्ड मुलरको क्रेज युरोपभर बढ्दो थियो । उनी घरेलु लिगमा बेजोड प्रदर्शन गरिरहेका थिए । चार वर्षअघि मात्र फाइनल पुगेर इङल्याण्डसँग उपाधि भिडन्तमा २-१ गोलले पराजित भएको पश्चिम जर्मनी यसपटक बलियो आत्मविश्वाससहित मेक्सिको पुगेको थियो ।

सन् १९५४ मा पहिलोपटक विश्व च्याम्पियन बनेको पश्चिम जर्मनी तेस्रोपटक फाइनल पुग्न तयारजस्तै देखिन्थ्यो । सेमिफाइनलसम्म पुग्यो पनि । तर, इटालीसँग नमीठो हार व्यहोर्‍यो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा इटालीले ३ र पश्चिम जर्मनीले २ गोल गरेको थियो ।

जर्मनीको दुइटै गोल मुलरले गरेका थिए । तर, मुलर १० गोल गर्दै गोल्डेन बुट जित्न सफल भए । सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड पनि उनलाई दिइयो । पेलेले ४ गोल गरेका थिए ।

विश्वकपका सर्वाधिक गोलकर्ताका रुपमा मुलरको छवि विगतका कोक्सिस र फोन्टाइनको भन्दा अलग थियो । उनी विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा पेलेलाई टक्कर दिन सक्ने क्षमताका थिए । मुलर सन् १९७१र७२ को सिजन जर्मनीको घरेलु लिग बुन्डेस लिगामा ४० गोल गर्न सफल भए । बुन्डेस लिगामा उनले बनाएको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडिन ४९ वर्ष लाग्यो ।

सन् १९७२ मा पश्चिम जर्मनीले युरोकप जित्दा मुलरकै प्रदर्शन निर्णायक थियो । उनले फाइनलमा दुईसहित सर्वाधिक ४ गोल गरेका थिए । पश्चिम जर्मनी युरोपियन च्याम्पियन बनेको त्यो पहिलो अवसर थियो । मुलरकै निर्णायक गोलमा पश्चिम जर्मनीले सन् १९७४ को विश्वकप जितेको थियो । फाइनलमा नेदरल्यान्ड्सलाई २-१ गोलले पराजित गर्दा मुलरले ४३ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

उक्त विश्वकपमा मुलरले ४ गोल गरेका थिए । सोही विश्वकपपछि सन्न्यास लिएका मुलरको जर्मनीको सिनियर राष्ट्रिय टोलीबाट सर्वाधिक ६८ गोल गर्ने कीर्तिमान तोडिन ४० वर्ष लागेको थियो । मिरोस्लाभ क्लोसले सन् २०१४ मा मुलरको उक्त कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । विश्वकप फुटबलमा मुलरपछि अर्को खेलाडी जन्मिएको छैन । जसले एकै संस्करणमा दोहोरो अंकमा गोल संख्या पुर्‍यायोस् ।

मुलरले अहिले युरोपियन च्याम्पियन्स लिगका रुपमा खेलिने त्यतिवेलाको युरोपियन कप लगातार तीन सिजन जितेका थिए । मुलरले समग्रमा जर्मनी सिनियर राष्ट्रिय टोलीबाट ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । जर्मनीका लागि करिब एक दशकमात्र खेले पनि उनी हरेक प्रतियोगितामा चम्किए ।

मुलरपछि विश्व फुटबलमा महान खेलाडीको उपमा पाइरहेका म्याराडोनादेखि लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसम्मले विश्वकपमा गोल मेसिनको छवि बनाउन सकेका छैनन् । बरु मुलरले बनाएका विश्व कीर्तिमानहरु तोडिन वर्षौं लागिरहेको छ । विश्वकपमा उनले गरेको सर्वाधिक १४ गोलको कीर्तिमान तोडिन ३२ वर्ष लागेको थियो । सन् २००६ मा ब्राजिलका रोनाल्डोले मुलरको उक्त कीर्तिमान तोडेका थिए ।

बुन्डेस लिगामा उनले बनाएको सर्वाधिक गोलकर्ताको कीर्तिमान अझै तोडिएको छैन । एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा मुलरले बनाएको विश्व कीर्तिमान तोडिन ४० वर्ष लागेको थियो । सन् १९७२ मा ८५ गोल गरेर मुलरले बनाएको कीर्तिमान मेस्सीले सन् २०१२ मा तोडेका थिए । सन् १९८२ मा खेलाडी जीवनबाट सन्न्यास लिएपछि मदिराको लतमा फसेका मुलरलाई पछि पुनःस्थापना केन्द्रमा राखिएको थियो ।

सन् १९९२ बायर्न म्युनिखको दोस्रो टोलीको प्रशिक्षक बनेका मुलरले उक्त जिम्मेवारी सन् २०१४ सम्म सम्हालेका थिए । स्वास्थ्यका कारण जिम्मेवारी अगाडि बढाउन नसकेका मुलरलाई त्यसको एक वर्षपछि अल्जाइमर भएको चिकित्सकले बताएका थिए । गत वर्ष ७५ वर्षको उमेरमा उनको निधन भएको थियो । उपाधि जितेको र गोल गरेको संख्याको हिसाबले मुलरलाई पनि पेले, म्याराडोना, मेस्सी र क्रिस्टियानो रोनाल्डोकै लाइनमा राख्निनुपर्ने बहस पनि चल्ने गरेको छ ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा तीनपटक विश्वकप जितेका पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् । एकपटक विश्व च्याम्पियन म्याराडोनाले ९१ खेलमा ३४ गोल गरेका छन् । हालसम्म विश्व च्याम्पियन बन्न नसकेका रोनाल्डोले १९१ खेलमा ११७ गोल र मेस्सीले १६४ खेलमा ९० गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *