ओलीलाई प्रचण्डको कटाक्ष: संविधानमा हस्ताक्षर गर्दा पनि गोरुगाढावाला प्रवृत्ति फेरिएन (भिडिओ) – Nepal Press

ओलीलाई प्रचण्डको कटाक्ष: संविधानमा हस्ताक्षर गर्दा पनि गोरुगाढावाला प्रवृत्ति फेरिएन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् ।

उनले भने, ‘मंसिर ४ को निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । यो दुई गठबन्धनको उद्देश्य के छ र किन प्रतिस्पर्धा गर्दैछन् भन्नेर गम्भीरतापूर्वक बुझ्नुपर्छ । जनतालाई सच्चा गठबन्धनको पक्षमा ल्याउनुपर्छ ।’

१२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरुसमेत रहेको उनको भनाइ छ ।

‘गणतन्त्र ल्याउनु र गोरुगाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरु पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरुगाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश संघीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरु त बद्लिए भन्ने लागेको थियो । तर, होइन रहेछ’, उनले भने ।

प्रचण्डले संविधान र लोकतन्त्रमाथि नै धोका दिएको आरोप लगाए । उनले भने, ‘संविधानमा हस्ताक्षर गरिसकेपछि प्रतिगमन, निरंकुशतामा अराजकतातिर जाने छैनन् होला भन्ने लागेको थियो । तर, त्यो सबै धोका र बेइमानी रहेछ । हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो ।’

एमालेले देशमा अराजकता ल्याएर सामन्तवादलाई स्थापित गराउन चाहेको उनले आरोप लगाए ।

उनले भने, ‘१२ बुँदे सहमति एमालेबाट माधव नेपाल, कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले गरेको हुँ । अहिले हामी एकै ठाउँमा छौं । त्यसैले यो सामान्य चुनाव होइन । हामी अहिले ठूलो राजनीतिक ब्याटल लड्दैछौं ।’


प्रतिक्रिया

One thought on “ओलीलाई प्रचण्डको कटाक्ष: संविधानमा हस्ताक्षर गर्दा पनि गोरुगाढावाला प्रवृत्ति फेरिएन (भिडिओ)

  1. विदेशीको दलालवाला प्रवृत्ति तिमीहरूमा सकिएको छैन । बरू झनझन बढदैछ । कसैले आधा देश लेउ प्रधानमन्त्री बनाई दिन्छु भन्यो भने दौडेर दिन जान्छौ तिमीहरू । तिमीहरूजस्ता भारतका एजेण्टले फुर्ति लाउने ? हामी जनताले नचिनेका हौ र तिमीहरू ठगबन्धनका ठगहरूलाई ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर