रामेछापमा गठबन्धनका तीनै उम्मेदवारविरुद्ध बागी कायमै, कांग्रेसका तीन नेता मैदानमै – Nepal Press

रामेछापमा गठबन्धनका तीनै उम्मेदवारविरुद्ध बागी कायमै, कांग्रेसका तीन नेता मैदानमै

तीनै सीटमा नेकपा एसका उम्मेदवार कायमै, प्रतिनिधिसभामा माओवादी नेताको पनि बागी फिर्ता भएन

रामेछाप । सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध रामेछापमा दोहोरो बागी खडा भएका छन् । एकातिर गठबन्धनमा सीट नपाएको नेकपा एसले प्रतिनिधि सभा र प्रदेशसभामा अलग उम्मेदवारी दिएको छ भने कांग्रेस र माओवादीबाटै पनि बागी उम्मेदवार कायम भएका छन् ।

उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा प्रदेशतर्फ बागी उम्मेदवारी दिएका माओवादी नेताहरु क्षेत्र नम्बर १ का रविन्द्र पौडेल र २ का डिल्लीमान तामाङले मात्र फिर्ता लिएका छन् ।उनीहरु माओवादीकै तारानारायण श्रेष्ठ र युवराज चौलागाईविरुद्ध उठेका थिए ।

निर्वाचन कार्यालयका अनुसार अन्य उम्मेदवारहरुको फिर्ता भएको छैन । गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार कांग्रेस जिल्ला सभापति पुर्णवहादुर तामाङ ९कान्छाराम०विरुद्ध नेपाली कांग्रेसका नेता चन्द्रवहादुर राउतको बागी उम्मेदवारी कायमै रहेको छ ।

लिखु तामाकोशी गाउँपालिकामा २०७४ सालमा कांग्रेसबाट अध्यक्ष उम्मेदवार बनेका नेता राउतले आफ्नो उम्मेदवारी फिर्ता लिन अश्वीकार गरेका छन् । उनी लिखु तामाकोशी वडा नम्बर २ सैपूका हुन् ।

त्यस्तै कांग्रेसका अर्का नेता नेविसंघ र तरुण दलको जिल्ला अध्यक्ष भइसकेका केदार खड्का नेपाली कांग्रेस ९विपी०मा गएर कान्छारामविरुद्ध उम्मेदवार उठेका छन् । उनी उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरका हुन् ।

त्यस्तै कांग्रेस नेतृ महिला संघकी पूर्व अध्यक्ष जमुना कार्कीले प्रदेश सभा क्षेत्र नम्बर १ तर्फ बागी उम्मेदवारी दिएकी छन् । माओवादी उम्मेदवार तारानारायण श्रेष्ठविरुद्ध कार्कीको उम्मेदवारी कायमै रहेको छ । पार्टीभित्र कान्छारामजस्ता अराजनीतिक मान्छेहरुको दबदबा बढेपछि राजनीतिक मान्छेमाथि अन्याय भएको भन्दै उनीहरुले विद्रोह गरेको बताएका छन् ।

उता प्रतिनिधिसभातर्फ माओवादीका प्रदेश कमिटी सदस्य रामकुमार तामाङको बागी उम्मेदवारी पनि कायमै रहेको छ । उनी सुनापति गाउँपालिका बेथान डहुका हुन् ।

रामेछापमा एमालेबाट प्रतिनिधिसभामा जिल्ला इन्चार्ज बागमतीका पूर्व अर्थमन्त्री कैलाश ढुंगेल उम्मेदवार छन् । प्रदेशमा १ बाट पूर्वमन्त्री शान्ति प्रसाद पौडेल र २ बाट युवा नेता तथा सामाजिक कार्यकर्ता मिलन घिसिङ उम्मेदवार छन् ।

नेकपा एसबाट प्रतिनिधिसभामा पूर्व सांसद देवशंकर पौडेल र प्रदेशमा १ बाट मन्थली नगरपालिकाका पूर्व मेयर रमेश बस्नेत र २ बाट अधिवक्ता झम्क कडेल उम्मेदवार छन् । अन्तिममा पार्टीले उनीहरुको नामांकन फिर्ताका लागि पत्र पठाए पनि समय सकिएपछि पुगेकाले उम्मेदवारी कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *