कपिलवस्तुमा तोडियो एमाले–जसपा गठबन्धन – Nepal Press

कपिलवस्तुमा तोडियो एमाले–जसपा गठबन्धन

रुपन्देही । कपिलवस्तुमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गरेर यसअघि गरेको गठबन्धन तोडेका छन् ।

केन्द्र स्तरमा दुई पार्टी बीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए ।

आइतबार बिहान १० बजेसम्म सोही निर्णय अनुसार दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए । तर, एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका सहश्रराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको हो ।

अहिले यादव जसपाबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन् । उनी दिउँसो १२ बजेसम्म एमाले जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी तयारीमा थिए । सोही अनुसार छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगेका छन् ।

यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ । गठबन्धन अनुसार यस क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ ।

यादव कांग्रेसका उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिनिधिसभा १ को ‘ख’ मा एमालेले मधुसूदन चौधरीलाई उम्मेदवार बनाएको छ । उनी केही दिनअघि उम्मेदवार पाउने सर्तमा लोसपाबाट एमाले प्रवेश गरेका थिए । तर जसपासँगको केन्द्रमा भएको सहमतिअनुसार यो क्षेत्रमा यादवलाई दिन एमाले तयार भएको थियो ।

यसै गरी जसपाले क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ बाट अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ । यो क्षेत्र एमालेले पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *