दलसम्बन्धी विधेयक फिर्ताप्रति कांग्रेसको आपत्ति (भिडिओ) – Nepal Press

दलसम्बन्धी विधेयक फिर्ताप्रति कांग्रेसको आपत्ति (भिडिओ)

सहमहामन्त्री पाण्डेको आशंका- यो सफा नियतले गरिएको होइन

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन विधेयक फिर्ता लिएकोप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसको नाराबाजीका बीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पेश गरेको विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले पारित गरेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री बन्द्री पाण्डेले विधेयक फिर्ता लिने निर्णयप्रति आशंका व्यक्त गरे ।

उनले भने, ‘दलहरु फुटाउन सहज हुनेगरी विधेयक फिर्ता गरिएको छ । नयाँ आएका दलहरू हामी राजनीतिक स्थिरता चाहन्छौं, हामी सुशासन चाहन्छौं भन्ने कुराबाट रास्वपा च्यूत भएको छ । यो कुरा उहाँहरूको आशय र नियत के हो ? यो सफा नियतले भएको छैन ।’

यस्तै अर्का सांसद रामहरि खतिवडाले पनि अध्यादेश ल्याएर पार्टी फुटाउने खेलमा सत्तापक्ष लागेको आरोप लगाए ।

उनले भने, ‘नयाँ पार्टी भनेर आएको रास्वपाका सभापतिले पार्टी फुटाउने विधेयक संसदमा प्रस्तुत गनुभयो त्यो आपत्तिजनक छ । अब उहाँहरू अध्यादेश ल्याएर पार्टी फुटाउने खेलमा लाग्दै हुनुहुन्छ ।
सरकारले प्रतिनिधिसभामा विचाराधीन विधेयक फिर्ता लिएसँगै अब राजनीतिक दलसम्बन्धी नयाँ विधेयक ल्याउने वा संसद अन्त्य भएका बेला अध्यादेश जारी गर्ने बाटो खुलेको छ ।’

एमाले विभाजनका लागि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न पाउने अध्यादेश ल्याएको थियो । एमाले विभाजनको उद्देश्य सकिएपछि तत्कालीन सरकारले राष्ट्रपतिबाट सो विधेयक फिर्ता गरेपछि राजनीतिक दलसम्बन्धी कानूनको दल विभाजनवाला दफा अहिले निष्क्रिय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर