गठबन्धनको राजनीति अन्त्य गर्न मेरो उम्मेदवारी : नेता जोशी – Nepal Press

गठबन्धनको राजनीति अन्त्य गर्न मेरो उम्मेदवारी : नेता जोशी

पोखरा । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध आज उम्मेदवारी दर्ता गराएका हुन् ।

अघिल्लो पटक पनि उम्मेदवारी दर्ता गराएका उनको उम्मेदवारी पछि खारेज भएको थियो । तर अहिले भने आफ्नो उम्मेदवारी खारेज हुने आधार नरहेको जोशी बताउँछन् ।

उनको उम्मेदवारी किन ? यसो भन्छन् जोशी

गठबन्धनको राजनीतिलाई अन्त्य गरेर आफ्नो इच्छा अनुसार मत दिन पाउने प्रणालीलाई कायम राख्न म उठ्न लागेको हुँ ।

अहिले सीमित व्यक्तिका लागि गठबन्धनको राजनीति बढेकाले यसलाई समाप्त गर्न र प्रजातन्त्र पुनर्स्थापित गर्न उम्मेदवारी दिएको हुँ ।

म अहिले २० वर्षदेखि पार्टी र सरकारको कुनै जिम्मेवारीमा छैन । त्यसअघि म सांसद, मन्त्री भएँ । मैले सुरु गरेका योजना पनि २० औँ वर्षसम्म उही अवस्थामा छन् । पछि चुनिएका नेतृत्वले तनहुँमा देखिने गरी काम गर्न सकेन । मैले कमसेकम आगामी पाँच वर्षमा झेल्नुपर्ने समस्याहरू समाधान गरेर यहाँका जनताका अपेक्षा पूरा गर्न चाहन्छु ।

नेपाली कांग्रेसमा विकृति विसंगति चरम उत्कर्षमा पुगेको छ । राष्ट्रिय राजनीतिमा कांग्रेसको कुनै भूमिका रहेन, खास गरी तनहुँबाट ।

अहिले नेताहरू कस्ता भए भने टिकट लिन आफूभन्दा माथिल्ला नेताको चाकडी गर्ने । त्यो प्रवृत्तिले तनहुँ जस्तो धेरै जनताले प्रजातान्त्रिक आन्दोलनमा ज्यान दिएका मान्छेको जिल्लाका लागि दयनीय हो ।

तनहुँको प्रभावशाली भूमिका कायम गर्न म सांसद भएँ भने काम गर्छु । सांसद हुँदा मेरो भूमिका प्रभावशाली थियो । अहिले नेपाली कांग्रेसको सरकार छ, मन्त्री छन् । तनहुँका थुप्रै मान्छे पार्टीमा छन् । तर बजेटमा तनहुँ पछि परेको छ, तनहुँ निकम्मा जस्तै बन्यो ।

म काठमाडौं बस्दा, दमौली आउँदा धेरै जनताले आफूहरू अभिभावक विहीन भएको सानोतिनो काममा पनि कसैले वास्ता नगरेको गुनासो गरेकाले म सबैलाई सहयोग गर्न उम्मेदवारी दिएको हुँ ।

मैले जित्ने आधार भनेको जनताको माया हो । नजित्ने त मैले कल्पना नै गर्न सक्दिनँ । जहाँ गए पनि मलाई भोट नहाल्ने भन्ने मान्छे कोही पनि छैनन्, सर्भे गर्नुहोस् । म स्वतन्त्र उम्मेदवार भएको हुँ । यसले गर्दा नेकपा एमाले, राप्रपा, माओवादी, नेपाली कांग्रेसकै साथीहरूलाई भेदभाव गरेको छैन, सबै दलका साथीहरूलाई सहयोग गर्न पनि आग्रह गरेको छु ।

अघिल्लो पटक मेरो उम्मेदवारी खारेज भए पनि अहिले खारेज हुने आधार छैन । कानुनी राज्यमा छौँ, अब पनि मेरो उम्मेदवारी अघिल्लो पटकझैँ खारेज हुन सक्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *